आज इसाई धर्मका संस्थापक येशु ख्रिष्टको जन्मदिन ‘क्रिसमस डे’

1121 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

xmas-1_1293431439काठमाडौं  १०-पुस, ।इसाई धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सव डिसेम्बर २५ का दिन आज क्रिसमस मनाइरहेका छन् ।

नेपाल तथा विश्वभरीका गिर्जाघरमा क्रिसमस पर्वका रुपमा विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । दुई हजार १६ वर्षअघि जेरुसेलमको बेथलेहममा येशुको जन्म भएको थियो । कुमारी मारियमको कोखबाट येशुको जन्म भएको हो । मारियमको विवाह युसुफसँग गर्न लाग्दा स्वर्गदूतले भविष्यवाणी गरी येशुले जन्म लिन लागेको जानकारी गराएका थिए ।

आम मानिसलाई अन्याय, अत्याचार र विभेदबाट मुक्ति दिलाउनका लागि येशु आफै क्रसमा चढेको विश्वास गरिन्छ । येशुलाई जिजस क्राइष्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।

नेपालमा ४०० वर्षअघिदेखि क्रिसमस मनाउन थालिएको राष्ट्रिय ख्रीष्टियन महासङ्घका अध्यक्ष सिवी गहतराजले जानकारी दिए । ‘अहिले नेपालमा आठ हजार ५०० गिर्जाघर र ३० लाखभन्दा बढी क्रिश्चियन धर्मावलम्बी रहेका छन् । विसं २०६४ अघि चर्चमा मात्र सीमित हुने गरेको क्रिसमस अहिले सार्वजनिक स्थलमा पनि मनाइन थालेको अध्यक्ष गहतराजले बताए ।

यो पर्व मनाउन सरकारले विसं २०६४ पछि डिसेम्बर २५ का दिन सार्वजनिक बिदा दिँदैआएको छ । क्रिसमसको अवसर पारेर महासङ्घले आइतबार दिउँसो राष्ट्रिय नाचघरमा महोत्सव कार्यक्रम राखेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीको महान् पर्व क्रिसमसका उपलक्ष्यमा नेपालीबिच बान्धुत्व, प्रेम र एकताको भावना बढाई शान्त, समुन्नत नेपाल बनाउन सबैमा प्रेरणा प्राप्त होस् भन्ने कामना गरेकी छन् ।

यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्रिसमसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइप्रति सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् टिभि अन्नपूर्ण डट कममा खबर छ ।