‘रातो नम्बर’ को हल्ला फैलाउनेलाई खोज्दै प्रहरी-मोडल प्राश्ना पाण्डे नियन्त्रणमा

1433 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 rato-number-graphic_q0nrlcuatcकाठमाडौं , पुस २०, २०७३-मोबाइलमा रातो नम्बरबाट आएको फोन उठाउँदा मृत्यु भएको हल्ला सुन्नुभएको छ? हजुर, यो हल्ला अहिले सोसल मिडियामा भाइरल बनेको छ। चियापसल देखि कार्यालयसम्म, कक्षाकोठादेखि मानिसहरुको जमघट हुने अन्य ठाउँमा ‘रातो नम्बर’ को चर्चा छ।

यो हल्ला हो तर हल्ला यति चर्चामा रह्‍यो कि मामला अब प्रहरीकहाँ पुगेको छ।

मोबाइलको स्क्रिनमा रातो नम्बर देखिएमा त्यसले स्वास्थ्यमा गम्भीर असर पर्ने भनी फेसबुक, ट्‍विटर लगायत सोसल मिडियामा दुश्प्रचार गर्नेहरु प्रहरीको अनुसन्धानमा तानिएका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले हल्ला फैलाउनेहरुमाथि अनुसन्धान सुरु गरेको छ। फेसबुकमा रातो नम्बरबाट फोन आएको भन्दै पोस्ट गर्ने मोडल प्राश्ना पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिई छानबिन सुरु गरेको ब्यूरोका प्रहरी उपरीक्षक मिरा चौधरीले जानकारी दिइन्।

‘हामीले उनलाई पनि सोधपुछ गरिरहेका छौं’, उनले भनिन्, ‘प्राविधिक विश्लेषण गर्नुपर्ने भएको कारण अहिले हामी अनुसन्धान कै क्रममा छौं। गलत हल्ला कसरी फैलियो भन्ने पनि अनुसन्धान गरिरहेका छौं।’

अनलाइनमा रातो नम्बरबाट दुर्घटना भएको र मानिसको मृत्यु भएको हल्ला फैलिएपछि नेपाल दूरसञ्चार प्राधिकरणसँग सहकार्य गर्दै अनुसन्धान गरिरहेको पनि उनले जानकारी दिइन्।

प्राधिकरणले पनि रातो नम्बरको हल्ला पूर्ण रुपमा गलत भएकोले भ्रममा नपर्न आग्रह गरेको छ। प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले अन्तर्राष्ट्रिय बजारमा पनि रातो नम्बर प्रयोगमा नआएको जानकारी दिँदै भ्रममा नपर्न आग्रह गरे।

‘सामाजिक संजालहरुमा आएका कुरा सबै भ्रम हुन्, सामाजिक संजालमा भएका नम्बरहरु कुनै पनि सेवा प्रदायकसँग मिल्दैन’, उनले भने– ‘अहिलेसम्म रातो नम्बरबाट फोन आएको र दुर्घटना भएको कुनै पनि जानकारी आएको छैन।’

प्रहरी र प्राधिकरण दुबैले हल्ला कसरी फैलियो र कोबाट फैलायो भन्नेमा अनुसन्धान गरिरहेको छ। प्रहरी र दूरसञ्चार प्राधिकरणले भ्रमको पछि नलाग्न सर्वसाधारणलाई आग्रह गरेका छन् थाहा खबर डट कममा खबर छ ।