सामुदायिक रेडियो प्रसारक संघ (एकोराव)को अध्यक्षमा सुवाष खतिवडा विजयी

1259 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 acorab-1-544x500काठमाडौं, २३ पुस । सामुदायिक रेडियो प्रसारक संघ (एकोराव)को अध्यक्षमा धादिङका सुवाष खतिवडा विजयी हुनुभएको छ । धादिङ जिल्लाको पहिलो सामुदायिक रेडियो स्टेशन रेडियो धादिङ १०६ मेघाहर्जको संस्थापक सचिव एवम वर्तमान संञ्चालक समितिका उपाध्यक्ष समेत रहनु भएका खतिवडाले एकोरावको दुई कार्यकाल कोषाध्यक्ष भएर काम गरिसक्नु भएको छ ।

अध्यक्ष पदका प्रत्याशि गोरखाका किशोरजंग थापालाई पराजित गर्दै खतिवडा अध्यक्ष पदमा निर्वाचित हुनु भएको हो । खतिवाडले  थापालाई १० मतले पराजित गरेका हुन् ।

शनिबार बिहान सम्पन्न मत गणनाअनुसार अध्यक्षमा निर्वाचित खतिवडाले १ सय ४२ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी थापाले १ सय ३२ मत पाए ।खतिवडा एमाले निकट हुन भने थापा कांग्रेस निकटका हुन ।सत्ता साझेदारी दलको गठबन्धनलाई कायम राख्दै एकोरावको निर्वाचनमा पनि माओवादी केन्द्र र काँग्रेस निकटका रेडियोकर्मीहरु बिच गठवन्धन भएको थियो । खतिवडाका पक्षमा भने नयाँ शक्ति नेपाल र अन्य साना दल निकटको समर्थन रहेको थियो ।

वरिष्ठ उपाध्यक्षमा कांग्रेस निकट अर्जुन गिरी विजयी भएका छन् । जनजाति उपाध्यक्षमा एमाले निकट अर्जुन राईले जित हासिल गरेका छन् ।

महिला उपाध्यक्षमा कांग्रेस निकट शशिकला दाहाल, मधेसी उपाध्यक्ष निमेष कर्ण विजयी भएका छन् । कर्ण मधेसी दलहरू निकट मानिन्छन् ।

महासविचमा माओवादी केन्द्र निकट गोविन्द देवकोटा विजयी भएका छन् । सचिवमा भने एमाले निकट बन्दना दनुवार विजयी भएकी छन् । कोषाध्यक्षमा विजयी भएका लक्ष्मण खड्का माओवादी केन्द्र निकटका हुन् ।

मतगणनास्थलमा रहेका प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतका अनुसार पदाधिकारीमा अध्यक्षसहित एमालेले तीन, कांग्रेस दुई युनियन, माओवादी केन्द्र दुई र एक मधेस निकट दलले जित हासिल गरेका छन् ।

प्रदेश सदस्यहरूमा अधिकांश सदस्यमा एमाले निकट उम्मेदवार विजयी भएका छन् । एक नम्बर प्रदेशमा एमाले निकट बच्चु नारायण श्रेष्ठ, २ मा एमाले निकट अशोक दत्त, ३ मा एमाले निकट कृष्णहरि घिमिरे, ४ मा एमाले निकट शान्ति गुरुङ, ५ मा कांग्रेस निकट केपी घिमिरे, ६ मा एमाले निकट रमेश गौतम र ७ मा कांग्रेस निकट दीर्घराज उपाध्याय विजयी भएका छन् ।