वैदेशिक रोजगारमा गएकालाई राहत-ज्यान गुमाउनेका परिवारलाई २७ लाख

730 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं, – वैदेशिक रोजगारीमा ज्यान गुमाउने परिवारको लागि दिइने रकम सरकारले वृद्धि गरेको छ ।

म्यादी जीवन बिमामार्फत दिइने रकम र कल्याणकारी कोषमार्फत दिइने रकम सरकारले बढाएको हो । १५ माघदेखि कार्यान्वयन हुने गरी सरकारले ल्याएको नयाँ व्यवस्था अनुसार वैदेशिक रोजगारीमा जाने कामदारले २० लाख रुपैयाँसम्म जीवन बिमा पाउने भएका छन् ।

मंगलबार परराष्ट्र मन्त्री र श्रम तथा रोजगार मन्त्रीलाई साथमा राखेर प्रधानमन्त्री पुष्पकमल दाहालले बिमा वृद्धिको घोषणा गरेका हुन् । नेपालबाट वैदेशिक रोजगारीमा जानेको संख्या वृद्धि भएसँगै जोखिमसमेत बढेको अवस्था जीवन बिमालगायतका सुविधा बढाइएको हो’ पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले भने । कामदारको स्वास्थ्य बिमातर्फ सुरक्षा तथा सुविधालाई विस्तार गरी जीवन बिमा, आयको नोक्सानीलगायत सुविधाहरूका अतिरिक्त मिर्गौला फेल, क्यान्सरजस्ता विभिन्न १५ प्रकारका घातक रोग वापत थप ५ लाख बिमांक बराबरको बिमा हुने व्यवस्था सरकारले गरेको छ ।

यो व्यवस्था पछि कामदारले सम्बन्धित बिमा कम्पनीबाट २० लाखसम्म बिमा रकम पाउन सक्नेछन् । जसअनुसार जीवन बिमावापत १० लाख, बिमितको आयको नोक्सानीवापत २ लाख, किरिया खर्च वापत १ लाख, औषधि उपचार खर्चवापत १ लाखसम्म, शव ल्याउने खर्चवापत १ लाख, घातक रोगवापत ५ लाख रकम प्राप्त हुनेछ । यसअघि १५ लाख रुपैयाँसम्मको जीवन बिमाको व्यवस्था गरिएको थियो ।

नयाँ सुविधा अनुसार ३ महिनाभित्र मानसिक रोगलाईसमेत घातक रोगको सूचीभित्र समावेश गरी क्षतिपूर्ति दिलाउने प्रतिवद्धता प्रधानमन्त्रीले जनाए । यसका लागि गृहकार्य गर्न प्रधानमन्त्रीले बिमा समितिलाई निर्देशन दिएका छन् । त्यस्तै वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गरेको रकमवापत वैदेशिक रोजगारीमा जाँदा मृत्यु हुनेका परिवारलाई दिइने रकम पनि बढाउने तयारी सरकारले गरेको छ ।

अहिले दिइँदै आएको रकममा थप ४ लाख वृद्धि गरी ७ लाख पु¥याउन लागिएको प्रधानमन्त्रीले बताए । यसका लागि वैदेशिक रोजगार नियमावली २०६४ संशोधनको प्रक्रियामा रहेको प्रधानमन्त्रीले जानकारी दिए । नियमावली संशोधनसँगै रोजगारीको क्रममा जीवन गुमाउने वा दुर्घटनामा परी उपचार गर्न नेपाली कामदारलाई दिइने आर्थिक सहायतामा ७ लाख पुग्दा वैदेशिक रोजगारीमा जानेका परिवारले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएमा २७ लाख रुपैयाँ पाउने भएका छन् ।

त्यस्तै घातक रोग लागेको तर मृत्यु नभएको, शारीरिकरूपले मृत्युसरह मानिने अवस्था प्रमाणित भएमा किरिया खर्च र शव ल्याउने खर्चबाहेक बिमाबाट १३ लाखसम्म, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट ३ लाख र घातक रोगवापत ५ लाख गरी कूल १८ लाखसम्म दिने व्यवस्थासमेत सरकारले गरेको छ । भारत जानेले पनि उपयोग गर्न पाउने सरकारले कामको खोजीमा भारत जाने नेपाली कामदारलाई पनि म्यादी जीवन बिमा गराउने भएको छ । जस अनुसार तेस्रो मुलुकमा जाने कामदार सरह भारत जाने कामदारलाई पनि घातक रोगवापत ५ लाख रुपैयाँ उपलब्ध गराउनेछ ।

आगामी १ फागुनदेखि कार्यान्वयनमा ल्याउन लागिएको यो कार्यक्रमको लागि भारत जाने नेपाली कामदारलेसमेत वैदेशिक रोजगारीको अनुमति लिनुपर्ने व्यवस्था सरकारले गर्न लागेको छ । सरकारले गरेको व्यवस्था अनुसार भारत जाने नागरिकलाई १४ लाख राहत क्षतिपूर्तिको व्यवस्था हुनेछ । जसअनुसार घातक रोगवापत ५ लाख, जीवन बिमावापत ७ लाख ५० हजार र बोर्डबाट अधिकतम १ लाख ५० हजार रुपैयाँ प्रदान हुने छ । भारत काम गर्न जाने नागरिकले सम्बन्धित जिल्ला प्रशाशन कार्यालय वा सीमा जिल्लाको जिल्ला प्रशासन कार्यालयबाट काम गर्न जाने अनुमति पत्र अनिवार्य रूपमा बनाउनु पर्नेछ ।