गाँजाखेती फाँडेर तरकारी खेतीमा रमाउँदै

748 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

tarkariमकवानपुर । केही वर्षअघिसम्म गाँजाखेतीमा लागेका मकवानपरका केही गाउँका बासिन्दा अहिले अदुवा र तरकारी खेतीमा रमाउन थालेका छन् ।


जिल्लाको नामाटार, कालिकाटार, भार्ता, गोगने, राकसिराङ, खेराङ, काकडा, सरीखेतलगायतका स्थान गाँजाखेतीका लागि बदनाम थियो । तर अहिले उल्लेख्य मात्रामा गाँजाखेती घट्दै गएको छ । गाउँलेमा आएको चेतना र प्रशासनले गरेको कडाइका कारण गाँजाखेतीमा कमी आएको हो ।

विसं २०५५ पछि मकवानपुरमा गाँजाखेतीले तीव्रता पाउन थालेको हो । सशस्त्र युद्धका कारण सुरक्षा निकाय गाउँ जान नपाएको मौका छोपी गाउँलेले गाँजाखेती गर्न थाले । गाँजाको अलावा अफिमखेती समेत हुन्थ्यो । पछिल्लो पाँच वर्षदेखि प्रहरी प्रशासनले गाँजा फँडानी अभियानलाई तीव्रता दिएपछि अहिले न्यून हुँदै गएको छ । गत वर्ष मात्रै प्रहरीले जिल्लामा दुई सय बिघा जमिनमा गाँजा फँडानी ग¥यो ।

स्थानीयवासी वीरबहादुर सिङ्तानले पहिलेपहिले भारतीयले जग्गा भाडामै लिएर गाँजाखेती गर्ने गरेको बताउनुभयो । नामाटारमा गत वर्ष गाँजा फँडानी गर्दा प्रहरी उपरीक्षक धिरजप्रताप सिंहको नेतृत्वमा रहेको लागुऔषध नियन्त्रण ब्यूरोको प्रहरी टोलीमाथि पहाड माथिबाट ढुङ्गामुढा हुन थालेपछि प्रहरीले गोली चलाउनुपरेको थियो ।

ब्यूरोका प्रमुख, प्रहरी नायब महानिरीक्षक जयबहादुर चन्दले भन्नुभयोे–“पहिलेपहिले त यहाँ फँडानी गर्न आएको प्रहरी टोलीलाई गाउँलेले पानीसम्म खान दिँदैनथे । पसलमा गयो केही सामान किन्न दिँदैनथे ।” उहाँले अहिले परिस्थिति फेरिएको छ भन्दै गाउँलेले आफँै गाँजाखेतीविरुद्ध अभियान सञ्चालन गरिरहेका छन् भन्नुभयो ।

ब्यूरोको प्रहरी टोलीले स्थानीयवासीसँगको सहकार्यमा केही दिनअघि गाँजाखेतीविरुद्ध नामटारमा बृहत् कार्यक्रम नै आयोजना ग¥यो । एकातर्फ प्रशासनको कडाइ अर्कोतर्फ गाँजाको विकल्पमा अदुवा खेतीबाट गाँजामा भन्दा राम्रो कमाई हुन थालेपछि स्थानीयवासीको आकर्षण अदुवाखेतीतर्फ हुन लागेको कालिका उच्चमावि, नामटारका सहायक प्रधानाध्यापक रामप्रसाद कालाखेतीले जानकारी दिनुभयो ।

एक गाउँलेले भने–“हामीले १० कट्ठामा गाँजाखेती गर्दा रु पाँच लाख सम्मको आम्दानी हुन्थ्यो, सोही जग्गामा अहिले अदुवाखेती गर्दा रु १० लाखसम्म कमाइयो । गत वर्ष अदुवाको मूल्य एक किलोको रु एक सय ५० सम्म पुगेकाले सो बराबरको रकम कमाएका गाउँले यो वर्ष घटेर किलोको रु २५ मात्रै हुँदा निराश भएका छन् ।

मकवानपुरमा अदुवाखेतीसँगै आलु, मूला, लगायतको खेतीको राम्रो उब्जनी हुन्छ । अदुवाको मूल्य घटेको तथा गाउँको बाटो र यातायातको समस्या हुँदा आफूहरुले उत्पादन गरेको तरकारीले उचित मूल्य नपाएको स्थानीयवासी बताउँछन् ।