धादिङमा सासूबुहारी र आमाछोरी नै उम्मेदवार

767 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

canidate-local-election-590a9254ae8b88.34761096

धादिङ : स्थानीय तहको निर्वाचनअन्तर्गत धादिङको नीलकण्ठ नगरपालिका वडा नंम्बर ७ बाट सासूबुहारी नै फरकफरक पार्टीबाट उम्मेद्धार बनेका छन् । एउटै घरका सासूबुहारी भए पनि उनीहरूले दुई फरक राजनीतिक पार्टीबाट दलित महिला सदस्यमा उम्मेदवारी दिएका हुन् । सासू चिनिमाया परियारले नेकपा एमालेको तर्फबाट नीलकण्ठ नगरपालिका वडा नं ७ बाट दलित महिला सदस्यमा उम्मेदवारी दिनुभएको छ भने उहाँकी बुहारी कल्पे परियारले नेकपा माओवादी केन्द्रबाट सोही वडामा दलित महिला सदस्यमा उम्मेदवारी दिनुभएको छ ।

६८ वर्षकी चिनिमायाले पहिलेदेखि नै आफूले एमालेलाई भोट हालेकाले छोराबुहारी जता लागे पनि एमालेका तर्फबाट उम्मेदवार बनेको बताउनुभयो । त्यस्तै चिनिमायाकी बुहारी कल्पेले पनि श्रीमान् नेकपा माओवादी केन्द्रको राजनीति गर्ने भएकाले आफूले माओवादी केन्द्रबाट उम्मेदवारी दिएको बताउनुभयो । चिनिमायाले भन्नुभयो, ‘बुहारी बिहे गरेर यो गाउँमा आएकी नयाँ मान्छे भएकीले नयाँ पार्टीमा लागेकी होलिन्, छोराले सोधेको त थियो तर तिमीहरू आफ्नो सुर गर भनिदएँ ।’

देशका ठूला राजनीतिक दलहरू एकआपसमा मिल्न नसकिरहेको बेला उहाँहरू दुवैजनाले सल्लाह गरेरै फरकफरक पार्टीबाट उठ्नुभएको हो । चिनिमायाका छोरा एवं कल्पनाका श्रीमान् गोविन्द परियारले भन्नुभयो, ‘जनयुद्ध कालदेखि म माओवादी राजनीति गर्थें, आमाले सूर्यमा भोट हाल्दै आउनुभएको रहेछ । आमाको स्वतन्त्रताको कुरा भएकाले हामीले आमाको अधिकार हनन गर्न चाहेनौँ । सल्लाह गरेरै आमालाई मन लागेको पार्टीबाट उठ्नोस् भनेका हौँ ।’

सासू चिनिमाया परियारले नेकपा एमालेको तर्फबाट नीलकण्ठ नगरपालिका वडा नं ७ बाट दलित महिला सदस्यमा उम्मेदवारी दिनुभएको छ भने उहाँकी बुहारी कल्पे परियारले नेकपा माओवादी केन्द्रबाट सोही वडामा दलित महिला सदस्यमा उम्मेदवारी दिनुभएको छ ।

गोविन्द नेकपा माओवादी केन्द्र धादिङको जिल्ला कमिटी सदस्य हुनुहुन्छ । सासूबुहारी नै फरकफरक पार्टीबाट उठेपछि गाउँले र छरछिमेकीले सधैं घर झगडा हुन्छ होला है भनेर जिज्ञासा राख्ने गरेको गोविन्दले बताउनुभयो । ‘सासूबुहारी फरकफरक पार्टीबाट उठेको भए पनि अरूले शंका गरेजस्तो हाम्रो परिवारमा बेमेल छैन’, गोविन्दले भन्नुभयो, ‘राज्यले दिएको सुविधा हो, सासूबुहारी जतासुकैबाट उठे पनि परिवार मिले भइगो नि ।’

सिद्धलेक गाउँपालिकामा पनि आमाछोरी फरकफरक पार्टीबाट उम्मेदवार बनेका छन् । सिद्धलेक गाउँपालिकाको वडा नं १ मा सरिना सिलवाल भट्टराईले नेपाली कांग्रेबाट महिला सदस्यमा उम्मेदवारी दिनुभएको छ भने सोही गाउँपालिकाको उपप्रमुखमा राप्रपाबाट सरिनाकी आमा ज्ञानुमाया सिलवालले उम्मेदवारी दिनुभएको छ ।

त्यस्तै नीलकण्ठ नगरपालिकाको वडा नं ७ मा नेपाली कांग्रेसबाट गौतमहरि अधिकारीले वडा अध्यक्षमा उम्मेदवारी दिनुभएको छ भने उहाँकै दाजु शिवहरि अधिकारीले नीलकण्ठ नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिनुभएको छ अन्नपूर्ण पोष्टमा खबर छ ।