उत्तरी धादिङमा विशेष सुरक्षा

766 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

sena-helicopter-10052017080117-1000x0नागढुंगादेखि मुग्लिनसम्मको सडक अति संवेदनशील- उत्तरी क्षेत्रमा हवाई गस्ती गर्न प्रस्ताव- मतपेटिका सुरक्षित गर्न हेलिकप्टर प्रयोग गर्ने तयारी

वैशाख २७, २०७४- तीन दिनअघि थाक्रे गाउँपालिका २ मा एमालेका वडाध्यक्ष उम्मेदवारको हाइलक्स गाडी अज्ञात समूहले आगजनी गर्‍यो । धादिङ जिल्ला प्रशासनले नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहका कार्यकर्ताले आगजनी गरेको आशंका गरेको छ । निर्वाचनविरोधी गतिविधिमा संलग्न आशंकामा प्रहरीले महादेवस्थानबाट पर्चा, पम्प्लेट र चन्दा संकलन रसिदसहित विप्लवका १२ कार्यकर्तालाई पक्राउ गरेको छ ।

सोमबार पनि गजुरी गाउँपालिका ८ को किरानचोकमा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच हात हालाहाल भयो । दुवै पार्टीका दुई/दुई जना घाइते भए । उत्तरी क्षेत्रको लापा र झार्लाङमा पनि दलहरूका कार्यकर्ताबीच हानाहान नै भयो ।

भौगोलिक विकटता र सडक सञ्जालले नछुँदा धादिङको उत्तरी क्षेत्रमा प्रशासनले चाहेजस्तो सुरक्षा व्यवस्था गर्न सकेको छैन । त्यसैले प्रशासनले उत्तरी क्षेत्रमा हवाई गस्ती आवश्यक रहेको जानकारी गृह मन्त्रालयलाई गराएको छ ।

सशस्त्र प्रहरी, नेपाल प्रहरी, सेनाका जवान र म्यादी प्रहरी उत्तरी क्षेत्र उक्लिसकेका छन् । प्रजिअ उमेश ढकाल सीमित स्रोतसाधनका कारण चुनावी सुरक्षा योजना कार्यान्वयन जहिल्यै फितलो हुने गरेको सुनाउँछन् । ‘सुरक्षा अवस्था बलियो पार्ने त भनिन्छ तर सुरक्षा दिने जवानलाई ठाउँमा पुर्‍याउन गाडी हुँदैन,’ उनले भने, ‘अहिले पनि बल्लतल्ल उत्तरी क्षेत्रमा सुरक्षा निकाय परिचालन गरिएको छ ।’ खानपिनलगायत ‘लजिस्टिक’ व्यवस्थित नहुँदा संवेदनशील क्षेत्रमा आवश्यकजति फोर्स परिचालन गर्न नसकिएको उनको गुनासो छ ।

प्रशासनले चुनावका दृष्टिले नागढुंगादेखि मुग्लिनसम्मको राजमार्गलाई असुरक्षित जोन (क्षेत्र) का रूपमा लिएको छ । तिब्बतसँग जोडिएको रुबी भ्यालीलाई पनि त्यत्तिकै ‘रिस्क जोन’ मा हेरिएको छ ।

प्रजिअ ढकालले राजमार्गमा विप्लवका कार्यकर्ताको आउजाउ बाक्लिएकाले सुरक्षा मजबुत पारिएको बताए । ‘राजमार्गमा चन्दा संकलन, खानपिनका साथै स्रोत जुटाउन सहज भएकाले विप्लवका कार्यकर्ताको गतिविधि बढेको महसुस गरेका छौं,’ उनले भने, ‘चुनाव नसकिउन्जेल कुनै दुर्घटना नहोस्, जनताले निर्धक्क भोट दिने अवस्था कायम रहोस् भनेर हामी अलर्ट छौं ।’ राजमार्गसँग धादिङका धेरैवटा स्थानिय निकाय जोडिएकाले चुनाव नसकिन्जेल ती स्थानमा सुरक्षा व्यवस्था मजबुत पार्ने प्रशासनको प्रयास छ । तर, धेरै होटल र चौबीसै घण्टा सवारीसाधनको उपलब्धताका कारण संदिग्ध बाहिरिया व्यक्तिको आगमन हुनसक्ने देखिन्छ ।

राजमार्गसँग सीमा जोडिएका गोरखा, चितवन र मकवानपुरबाट विप्लवका कार्यकर्ताको आगमन हुन सक्ने भएकाले गौंडाहरूमा सुरक्षा सतर्कता अपनाइएको ढकालले जनाए । प्रशासनले नयाँ मान्छे देखिनेबित्तिकै केरकार गर्न सर्कुलर गर्नुका साथै मंगलबारदेखि जिल्लाभर मदिरा बेच्न प्रतिबन्ध लगाएको छ ।

धादिङ प्रशासनले जिल्लाका १३ मध्ये सदरमुकामसमेत पर्ने नीलकण्ठ नगरपालिका र ज्वालामुखी गाउँपालिकालाई सुरक्षाका हिसाबले संवेदनशील सूचीमा राखेको छ भने काठमाडौंसँग सीमा जोडिएको राजमार्गको धुनीबेसी नगरसहित १० गाउँपालिकालाई अति संवेदनशील सूचीमा राखेको छ । हिमाली क्षेत्रमा पर्ने रुबी भ्यालीलाई पनि विशेष निगरानीमा राखिएको ढकालले बताए । विगतमा उत्तरी क्षेत्रमा पर्ने रुबी भ्यालीमा बुथ लुट्ने, कब्जा गर्ने र मनलाग्दी भोट हाल्ने प्रवृत्ति देखिएको थियो ।

विकट र सडक सञ्जाल नपुगेका स्थानमा पनि प्रशासनले बेलैमा सुरक्षाकर्मी तैनाथ गरिसकेको छ । सडक नपुगेका ठाउँमा पैदलै सुरक्षाकर्मी गएका छन् । १३ स्थानीय तह रहेको धादिङमा २ सय ५१ मतदान केन्द्र छन् । एउटा मतदान स्थलमा ५ नेपाल प्रहरीसहित ६ म्यादी गरी ११ सुरक्षाकर्मी तैनाथ गरिएको प्रजिअ ढकालले बताए । त्यसबाहेक नगरपालिकामा ८० र गाउँपालिकामा ६० जनाका दरले सुरक्षाकर्मी तैनाथ गरिएको छ । जिल्लाभरि ३ हजार ५ सय सुरक्षाकर्मी परिचालन गरिएको छ भने ६ सयको हाराहारीमा नेपाली सेना छन् । सेना बाहिरी घेरामा बस्नेछन् । त्यसबाहेक ७ सय मोबाइल टोलीसमेत परिचालन गरिएको छ । राष्ट्रिय अनुसन्धानका घुमुवा टोली पनि परिचालित छन् ।

सम्भावित घटनालाई मत्थर पार्न १३ स्थानीय निकायमा ९ जना अधिकृतलाई बल प्रयोगको अधिकारसहित खटाइसकिएको ढकालले बताए । असामान्य अवस्था आए उनीहरूलाई गोली हान्नेसमेत अधिकार दिइएको छ । विगतमा कुनै एउटा पार्टीको मात्र दबदबा भएको स्थानमा अहिले अर्को पार्टी जुर्मुराउन थालेपछि दलबीच झगडा हुने गरेको छ । सोमबार किरानचोकमा भएको घटना त्यस्तै प्रवृत्तिको थियो । एमालेको वर्चस्व रहेको क्षेत्रमा माओवादी प्रवेश गरेपछि हात हालाहालको स्थिति भएको हो । प्रजिअ ढकाल दलहरूले संयमता नअपनाइदिँदा अनाहकमा दुर्घटना निम्तिने गरेको तर्क गर्छन् ।

विगतमा पटकपटक अप्रिय घटना हुने गरेको रुबी भ्यालीका गाउँहरूमा हवाई गस्ती आवश्यक भएको भन्दै प्रशासनले गृह मन्त्रालयलाई जानकारीसमेत गराइसकेको छ । ती ठाउँहरूबाट हेलिकप्टरबाटै मतपेटिका तल झार्ने व्यवस्थाका लागि समेत पहल गरिरहेको ढकालले जानकारी दिए ।

निर्वाचन सामग्री पठाइयो 
जिल्ला निर्वाचन कार्यालयले मंगलबार सबै मतदान केन्द्रमा निर्वाचन सामग्री र कर्मचारी परिचालन गरेको छ । उत्तरी धादिङका रुबी भ्याली, गंगाजमुना र खनियावासका ४२ वटा मतदान केन्द्रका ७९ कर्मचारीसहित सेनाको हेलिकप्टरमार्फत मंगलबारै तीन खेपमा निर्वाचन सामग्री पुर्‍याइएको छ । जिल्लामा २ सय ५१ मतदान केन्द्र छन् । निर्वाचन कार्यालय प्रमुख ईश्वर सिम्खडाले मंगलबार बिहानै ६४ किसिमका निर्वाचन सामग्री पठाइएको जनाए । निर्वाचनका लागि जिल्लाभरि एक हजार ५ सय ६ जना कर्मचारी खटाइएको छ इकान्तिपुरमा खबर छ ।