आइएसद्वारा १९ सर्वसाधारणको हत्या

824 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

14-isis-militants-killed-in-philippines-1424946369-3847
फिलिपिन्स । फिलिपपिन्सको दक्षिणी सहरमा इस्लामिक स्टेट्स (आइएस) आतंककारी समूहले सडक अवरुद्ध गरी सुरक्षाकर्मीसँग सुरु गरेको सशस्त्र भिडन्तको कारण १९ सर्वसाधाराणको मृत्यु भएको सैनिक स्रोतले शुक्रबार जानकारी दिएको छ । सो सहरमा करिब एक हप्तादेखि आइएस आतंककारी र सुरक्षाबलबीच जारी भिडन्तको कारण सो इलाकामा ८५ जनाको ज्यान गइसकेको छ । गत मंगलबार राष्ट्रपति रोड्रिगो डुटेर्टेले मिन्दानाओ क्षेत्र र मरावी नगरमा सङ्कटकालको घोषणा गर्दै त्यहाँ तुरुन्तै सैनिक कानुन लागू गरेको घोषणा गर्नुभए पनि आइएस आतंककारीले द्वन्द्व जारी नै राखेका छन् । अधिकारीका अनुसार प्रायःमुसलमान समूदायको बाहुल्यता भएको करिब दुई लाख जनसंख्या रहेको मरावी सहरमा आतंककारीले १९ सर्वसाधारणको हत्या गरेका छन् । हत्या भएका ती व्यक्तिमा तीन महिला र एक बालकको रहेका र उनीहरूको शव एक विश्वविद्यालय नजिकै रहेको बताइएको छ ।
एएफपीका एक फोटो पत्रकारका अनुसार मरावी सहरको बाहिरी इलाकामा रहेको एक सडकमा आइतबार आठ वटा शव छरिएर रहेका थिए । ती शव चामल कारखाना र मेडिकल कलेजमा कार्यरत व्यक्ति भएको स्थानीय वासिन्दाले जानकारी दिएका छन् । गत हप्तादेखि जारी यस भिन्डतमा १३ सैनिक, दुई प्रहरी, ५१ जना आतंककारी र १९ जना सर्वसाधारणको मृत्यु भएको छ । दक्षिणी फिलिपिन्सको लानाओ डेला सुर प्रान्तमा पर्ने मिन्दानाओ क्षेत्र र मरावी नगरमा अतिवादी इस्लामी सशस्त्र समूहले गत हप्तादेखि सरकारविरुद्ध भीषण युद्ध सुरु गरेका थिए । राष्ट्रपति रोड्रिगो डुटेर्टे, केही मन्त्रीगण तथा उच्च पदस्थ अधिकारी रुसको औपचारिक भ्रमणमा गएको मौका पारी अतिवादी इस्लामी सशस्त्र समूहले अकस्मात् आक्रमण गरी मरावी नगरमा कब्जा जमाएका थिए । आफ्नो समूहलाई विश्वको कुख्यात आतङ्ककारी सङ्गठन इस्लामिक स्टेट्सको समर्थन र सहयोग रहेको भनी दाबी गर्ने फिलिपिन्सको सशस्त्र समूहः ‘माउत’ ले देशमा राष्ट्रप्रमुख तथा अन्य विशिष्ट अधिकारी नभएको मौका छोपी इस्लामी बहूल क्षेत्र मरावी नगरमा गत मंगलबार एक्कासि आक्रमण गरी त्यहाँको नगर सभागृह (सिटी हिल), एक अस्पताल र स्थानीय कारागार कब्जामा लिएका थिए ।

आतंककारी आक्रमण र सुरक्षाकर्मी एवं अन्य धन, जनको व्यापक क्षति र देशवासीको अपहरणको खबर थाहा पाउनासाथ रुसको भ्रमण छोट्याई राष्ट्रपति डुटेर्टे तत्कालै स्वदेश फर्केका थिए । उनले स्वदेश फर्किरहेको विमानबाटै संकटकालको घोषणा गर्दै त्यहाँ तुरुन्तै सैनिक कानुन लागू गरेको घोषणा गरेका थिए ।राष्ट्रपति डुटेर्टेले हाल ६० दिनसम्म दक्षिणी मिन्दानाओको सबै क्षेत्र भरी सैनिक कानुन लागु गरिएको र स्थिति पूर्ण नियन्त्रणमा नआएमा वा आवश्यक परेमा संबिधान प्रदत्त राष्ट्रपतीय अधिकार प्रयोग गरी एक वर्षसम्म पनि सैनिक कानुन लागू गर्न सकिने जनाएका थिए ।एजेन्सी