धादिङका स्थानीय तहमा कार्यरत उपसचिव र शाखा अधिकृतको सरुवा

1611 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

images (1)संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहमा कर्मचारीहरुलाई कामकाजका लागि कर्मचारी सरुवा गरेको छ । मन्त्रलयको ४ असोजमा भएको बैठकले स्थानीय विकास मन्त्रालयमा कार्यरत् नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्रांङ्कित द्वितीय श्रेणी (उपसचिव) , तथा राजपत्रांकित तृतीय श्रेणी (अधिकृत) पदका कर्मचारीहरुलाई कामकाजका लागि खटाइएको हो ।

कामकाजका लागि खटाइएको कर्मचारीहरुको विवरण अनुसार मन्त्रालयले धादिङ जिल्लाको विभिन्न स्थानीय तहमा कार्यरत   कर्मचारीहरुलाई सरुवा गरेको छ । सरुवा विवरण अनुसार  जिल्लाको नीलकण्ठ नगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्रवहादुर अर्याल जिल्लाकै धुनिवेसी नगरपालिकाको कार्यकारी अधिकृतमा सरुवा हुनु भएको छ । नीलकण्ठ नगरपालिकाका मेयर भिम ढुंगानाले जिल्ला समन्वय समितिको कार्यालय कव्जा गरेर नगरपालिकाको कार्यालय राख्ने प्रस्ताव अघि सार्दै जिल्ला समन्वय समितिको मुल गेटमा नगरपालिकाको कार्यालय राख्ने काम गरेपछि अर्यालले सो कार्य प्रति असहमति जनाउनु भएको थियो ।  सरुवा भएका कर्मचारीहरुमा रुवीभ्याली गाउँपालिकाका कार्यकारी अधिकृत प्रेमप्रसाद पोखरेल कपिलबस्तुको शुद्धोद्धन गाउँपालिकाको कार्यकारी अधिकृतमा सरुवा हुनु भएको छ भने नुवाकोटको तारकेश्वर गाउँपालिकाका कार्यकारी अधिकृत लक्ष्मीप्रसाद अधिकारी जिल्ला समन्वय समितिको योजना अधिकृतमा सरुवा हुनु भएको छ ।
यता जिल्ला समन्वय समितिका शाखा अधिकृत गुरुप्रसाद ढकाल नुवाकोटको किस्पाङ गाउँपालिकाको कार्यकारी अधिकृतमा सरुवा भएर जानु भएको छ । त्यसै गरी तनहुंको देवघाट गाउँपालिकाका कार्यकारी अधिकृत नारायणप्रसाद चौलागाई धादिङको रुवीभ्याली गाउँपालिकाको कार्यकारी अधिकृतमा सरुवा हुनु भएको छ । यता संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका शाखा अधिकृत गणेश अधिकारी गंगा जमुना गाउँपालिकाको कार्यकारी अधिकृतमा सरुवा भएर आउनु भएको छ भने शिखर नगरपालिका डोटीका निमित्त कार्यकारी अधिकृत शेखर आचार्य त्रिपुरासुन्दरी गाउँपालिकाकोकार्यकारी अधिकृतमा सरुवा हुनु भएको छ । त्यसै गरी धुनिवेसी नगरपालिकाका कार्यकारी अधिकृत जानुका सुवेदी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा सरुवा हुनु भएको छ ।

निर्वाचन आचारसंहिता लागु भईसकेको अवस्थामा सरकारले विहीबार ४ सय ३५ उपसचिव र शाखा अधिकृतको सरुवा गरेको छ । तीमध्ये अधिकांश कार्यकारी अधिकृत छन् भने कतिपय योजना तथा प्रशासकीय अधिकृत छन् । कतिपय भने स्थानीय तहबाट संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा सरुवा गरिएको छ ।

विहीबार घटस्थापनाको दिन विदा भए पनि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सरुवा गरेको हो । मंसिरमा हुने प्रदेश र संघीय निर्वाचनको आचारसंहिता लागु भए पनि ‘व्याक डेट’ राखेर गरिएको निर्णयमा मिति ४ गते (बुधबार) को राखिएको छ । मन्त्रालयले सरुवाको सूची भने विदाको दिन ५ गते (बिहीबार) आफ्नो वेभसाईटमा राखेको छ ।

मन्त्रालयले भने निर्वाचन आयोगको सहमतिमा सरुवा गरिएको दाबी गरेको छ । स्थानीय तहमा कर्मचारीको कमी रहेका कारण बाध्य भएर खटाउनु परेको मन्त्रालयको दाबी छ । तर अहिले सरुवा गरिएका अधिकांश कर्मचारी एउटाबाट अर्को स्थानीय तहमा सरुवा भएका छन् ।