धादिङमा डेंगुको सक्रमण बढ्दै-४१ जना बिरामीको पहिचान

939 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

dingu-720x510धादिङ । जिल्ला अस्पताल धादिङले डेंगु नियन्त्रणका लागि सदरमुकाम आसपासमा भएका पुराना टायर संकलन र लामखुट्टेले बासस्थान बनाउने स्थानहरु नष्ट गर्ने काम सुरू गरेको छ ।
यसै क्रममा अस्पतालले सयौं पुराना टायरहरु संकलन गरी त्यसलाई उचित ब्यवस्थापन गर्न सुरू गरेको छ भने धादिङका स्थानीयहरुलाई सो रोग सम्बन्धी सचेतना पनि दिन थालेको छ ।
जिल्लामा डेंगु रोगले महामारीको रुप नै लिए पछि जिल्ला स्वास्थ्य कार्यालय धादिङ र सदरमुकाममा रहेको नीलकण्ठ नगरपालिकाले सो कामको सुरूवात गरेका हुन् । टायरमा जमेको पानी, प्लाष्टिकका बोत्तलमा जमेको पानी र गमलाहरुमा जमेको सफा पानी एडिस जातको लमखुट्टेको सन्तान जन्माउने उपयुक्त स्थान भएकोले त्यस्ता स्थानलाई तत्काल नष्ट गर्नुपर्ने सुझाव चिकित्सकले दिएका छन् ।
यस वर्ष धादिङमा गर्मी अत्याधिक भइरहेकोले पनि लामखुट्टेको वृद्धि भइरहेको स्वास्थ्यकर्मीहरुको भनाइ छ ।
विशेष त सदरमुकाम धादिङबेसीको बीचबजार र जिल्ला अस्पताल क्षेत्रमा डेंगु गराउने लामखुट्टे अत्यधिक भेटिएको र त्यस क्षेत्रमा बिरामीको संख्या पनि धेरै भएका कारण सो क्षेत्रलाई विशेष निगरानीमा राखी स्वास्थ्यकर्मीको सहयोगमा स्थानीयले सरसफाइ गर्न थालेको रेडक्रसकर्मी नारायणकुमार श्रेष्ठले बताए । चिकित्सकहरुका अनुसार यस क्षेत्रमा ९० प्रतिशत घरहरुका पानी जमेका स्थानहरुमा डेंगु गराउने लामखुट्टेका लार्भाहरु फेला परेका थिए ।
यसैगरी त्यस्ता पानी जमेका स्थानहरुलाई तत्काल सरसफाई गरी फोहर जम्मा हुन नदिनसमेत जिल्लास्वास्थ्य कार्यालय धादिङले स्थानीयलाई आग्रह समेत गरेको छ । यसको बेलैमा नियन्त्रण नगर्ने हो भने थप संक्रमण फैलिने भन्दै सर्वसाधारण त्रसित हुन पुगेका छन् ।
जिल्ला अस्पतालमा अहिलेसम्म ४१ जना डेंगु संक्रमित बिरामीको पहिचान गरी थप उपचारका लागि काठमाडौं पठाइएको बताइएको छ । यसैगरी जिल्ला अस्पताल धादिङमा डेंगुको प्रारम्भिक परीक्षणका पर्याप्त कीट नभएका कारण पनि समस्या आएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।