धादिङमा वाम र लोकतान्त्रिक गठबन्धनबीच प्रतिस्पर्धा-के भन्छन उम्मेदवारहरु ?

1357 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

????????????????????????????????????

नेपाली जनताको लामो संघर्षपछि जनप्रतिनिधिमार्फत संविधान निर्माण कार्य सम्पन्न भएको छ । संविधान जारी भएपछि केही कानुन निर्माण भई कार्यान्वयन भएको छ । संविधान कार्यान्वयनका क्रममा स्थानीय तहको निर्वाचन सम्पन्न भएलगत्तै प्रतिनिधिसभा र पहिलो पटक प्रदेशसभाको निर्वाचन मंसिर १० र २१ गते हुँदै छ ।

संविधान पूर्ण कार्यान्वयनको नारा दिएको निर्वाचनमा राजनीति दलहरू वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनमा विभाजित भएका छन् । राजनीति ध्रुवीकरण हुँदा आमजनताले देशले निकास पाउने र मुलुक आर्थिक समृद्धितर्फ लम्कने अपेक्षा गरेका छन् । धादिङ जिल्लामा २ प्रतिनिधिसभा र ४ प्रदेशसभा सदस्यका लागि मंसिर १० गते निर्वाचन हुँदैछ ।

जिल्लामा निर्वाचन क्षेत्र नं. १ मा १ लाख १८ हजार १ सय ५० र निर्वाचन क्षेत्र नं. २ मा १ लाख १५ हजार ३ सय ५५ मतदाता गरी कुल २ लाख ३३ हजार ५ सय ५ मतदाता रहेका छन् । सबै उम्मेदवारले निर्वाचनमा आफूले नै जित्ने दाबी गरेका छन् । निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धन र नेपाली कांग्रेससहित अन्य केही साना दलको लोकतान्त्रिक गठबन्धनका उम्मेदवारबीच चर्को प्रतिस्पर्धा हुँदै छ । यस सन्दर्भमा धादिङका प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूसँग कारोबार दैनिकका धादिङ समाचारदाता राजेन्द्र बस्नेतले गरेको कुराकानीको सार ः

पुनर्निर्माण पहिलो प्राथमिकता
944726646b38139055357eede7ba3dc2भूमिप्रसाद त्रिपाठी
नेकपा एमालेका उम्मेदवार
धादिङ निर्वाचन क्षेत्र नं. १

भूकम्पपीडित जनता अहिले पनि टहरामै बसेका छन् । उनीहरूलाई सुरक्षित स्थानमा भूकम्पप्रतिरोधी आवास निर्माणमा सार्ने कामलाई पहिलो प्राथमिकता राखेको छु । अझ पनि केही परिवारको लाभग्राहीमा नाम छुटेको छ । छुटेका ती परिवारलाई पनि लाभग्राही सूचीकृत गरी पुनर्निर्माण महाअभियानमा समाहित गरिनेछ । सबै परिवारलाई स्वच्छ खानेपानी र पूर्ण सरसफाइयुक्त क्षेत्र बनाउने काम कार्यकालभित्र गर्नेछु ।

जनजीविकासँग जोडिएका आधारभूत आवश्यकताहरू खाद्य, आवास, शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली र सडक सर्वसाधारणको पहुँचसम्म पु¥याउनेछु । संविधानले व्यवस्था गरेका मौलिक हकहरू कानुन बनाएर न्यायमा सर्वसाधारणको पहुँचसम्म पु¥याउने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गरिनेछ । बिहान–बेलुकाको खाद्यान्न परिपूर्ति मात्र नभई गरिबीको रेखामुनि रहेका मानिसलाई सहज जीवनयापन गर्न सक्ने गरी कृषिको व्यवसायीकरण, स्वरोजगार सिर्जना, घरेलु उद्योगको प्रवद्र्धन गर्ने किसिमका योजना तर्जुमा तथा कार्यान्वयन गर्नेछु । निर्वाचन क्षेत्रस्तरीय सरकारी अस्पताल बनाउनेछु । प्रत्येक वडास्तरमा स्वास्थ्य केन्द्र बनाउनेछु ।

निम्नवर्गीय किसान तथा चेपाङ समुदाय जो विकासको मूलप्रवाहबाहिर रहेका छन्, उनीहरूलाई विकासको मूलप्रवाहमा ल्याउन सहभागितामूलक योजना तर्जुमा गरी कार्यान्वयन गर्नेछु । धादिङ निर्वाचन क्षेत्र नं. १ पृथ्वीराजमार्ग आसपास पर्ने भएकाले यहाँका किसान तरकारी तथा फलफूल खेती गर्दै आएका छन् । अझ व्यवसायीकरण गर्न आधुनिक कृषि औजार, मल, बीउ र नगद अनुदान दिएर कृषिको औद्योगीकरण गर्नु र सबै परिवारको आर्थिक समृद्धि गर्नु मेरो मुख्य भूमिका हुनेछ ।

धादिङको खाद्य, तरकारी तथा फलफूल अग्र्यानिक उत्पादन गरी काठमाडौं, पोखरालगायतका सहरमा बिक्री गर्न खानीखोला, धार्के, महादेवबेसी, सिम्ले, बैरेनी, आदमघाट, घाटबेसी, गजुरी, मलेखु, रिचोकटार, सलाङघाट, बेनीघाट, चरौदी तथा मझिमटारमा संकलन केन्द्र र उत्पादन बढी गर्ने स्थानमा शीतभण्डारसमेत निर्माण गर्ने व्यवस्था मिलाउनेछु । पृथ्वीराजमार्ग भएर अहिले पनि आन्तरिक तथा बाह्य पर्यटक आवतजावत गर्छन् ।

उनीहरूलाई महाभारत लेक, तोप्लाङ, वैकुण्ठ कान्द्राङ गढी हुँदै जागिमारासम्मको पदयात्रा, छत्रे देउराली, गुप्तेश्वर हुँदै सिद्धालेकसम्म पनि पदमार्ग निर्माण गर्ने र ठाउँठाउँमा होमस्टे निर्माण तथा सञ्चालन गर्ने व्यवस्था मिलाउनेछु । निजी तथा व्यावसायिक गाडीमा सवार गर्ने पर्यटकका लागि पाँचतारे होटलस्तरका रेस्टुराँ तथा पार्क निर्माण गर्ने र मलेखुको माछा बजार प्रवद्र्धन गर्न स्थानीय स्तरमा पाछापालन व्यवसाय विस्तार गरिनेछ । होटल सञ्चालकलाई व्यवस्थापन तालिम अनिवार्य गरिनेछ ।

त्रिशूली नदी हाम्रो सम्पदा हो । त्यसको संरक्षण एवं प्रवद्र्धन गरेर आयआर्जन गर्न जलयात्रा गर्ने व्यवस्थाका लागि प्राकृतिक बाढीबाहेकको समय त्रिशूलीलाई प्राकृतिक रूपमा बग्न दिने व्यवस्था मिलाउने छु ।जमिनको वर्गीकरण गरी कृषि, वन, औद्योगिक, बजार क्षेत्र निर्धारण गर्ने काम प्राथमिकताका साथ अघि बढाउँछु, जसबाट उद्योगी–व्यवसायीलाई प्रत्यक्ष लाभ पुग्नेछ । राजमार्ग क्षेत्रमा सञ्चालनमा रहेका क्रसर तथा फिरफिरेलाई निश्चित स्थान तोकी आधुनिक प्रविधिको प्रयोग गरी वातावरणमैत्री बनाउन व्यवस्था मिलाउनेछु । राजमार्ग क्षेत्रमा सञ्चालित उद्योगहरू उचित तरिकाले व्यवस्थापन गर्ने कार्ययोजना बनाउनेछु ।

राष्ट्रिय गौरवको आयोजना धादिङ समृद्धिको ढोका हो । आयोजना निर्माणका लागि मुआब्जा निर्धारण भएका हकमा दुई वर्षभित्र मुआब्जा वितरण र मुआब्जा निर्धारण हुन बाँकी क्षेत्रको मुआब्जा ६ महिनाभित्र निर्धारण गरिनेछ । धादिङ र गोरखाका जनता प्रत्येकले सेयर हाल्न पाउने व्यवस्थाका लागि पहल गर्नेछु । आयोजनाबाट विस्थापितहरूको बसोबासका लागि आयोजनाको चक्रपथभित्र व्यवस्था मिलाउने र एकीकृत बस्ती विकास कार्यक्रम बनाउनेछु ।

चीन र भारत जोड्ने मध्यक्षेत्रको छोटो बाटो रसुवागढी गल्छी–मलेखु ठोरी सडक निर्माण कार्य सुरु गर्ने र चीनको केरुङ–पोखरा–लुम्बिनी रेल्वे निर्माण कार्यमा रणनीतिक सहयोग पु¥याउनेछु । देशको वर्तमान आवश्यकताले कम्युनिस्ट पार्टीहरूबीच जुन गठबन्धन भएको छ, यो कांग्रेसहरूले भनेजस्तो अप्राकृतिक होइन । कम्युनिस्टहरू एक ठाउँमा हुँदा कांगे्रस कमजोर हुने भएकाले अपवित्र गठबन्धन भनेका हुन् । कम्युनिस्ट गठबन्धन संविधान कार्यान्वयन, देश र जनताको समृद्धिका लागि हो । देश र जनताको समृद्धिमा सहयोग गर्न प्रतिनिधिसभा सदस्यमा मैले उम्मेदवारी दिएको आममतदातासमक्ष अपिल गर्छु ।

संविधान कार्यान्वयनमार्फत आर्थिक समृद्धि


विश्वप्रसाद अर्याल
नेपाली कांग्रेसका उम्मेदवार
धादिङ निर्वाचन क्षेत्र नं. १

जनताको लामो संघर्षपछि जनताका प्रतिनिधिहरूले निर्माण गरेको लोकतान्त्रिक संविधान कार्यान्वयन गरी देश र जनताको आर्थिक समृद्धिमा सहयोग प¥याउनेछु । वामपन्थी दलहरूले चुनाव लक्षित गठबन्धन गरी देशमा अधिनायकवाद निम्त्याउन खोजेका छन् । वाम गठबन्धन गरी चुनाव जितेर संविधान संशोधन गरी कम्युनिस्ट अधिनायकवाद लाद्ने र लोकतान्त्रिक शक्तिलाई पाखा लगाउन खोजेकाले वाम अधिनायकवाद रोक्न प्रतिनिधिसभा सदस्यमा मैले उम्मेदवारी दिएको हुुँ ।

धादिङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ राजमार्गमा पर्ने भएकाले र काठमाडौंनजिक रहेकाले औद्योगीकरणको असाध्यै सम्भावना छ । औद्योगीकरणका केही नमुना बनिसकेका छन् । तिनीहरूलाई व्यवस्थापन र विस्तार गर्नु आवश्यक छ । त्यसको ठोस योजना बनाएर औद्योगिक क्षेत्र विस्तार गर्न सकिन्छ र गर्नु आवश्यक छ । पेट्रोलपम्प, ग्यास भण्डार, सिमेन्ट उद्योग, इँटाभट्टाहरू सञ्चालनमा छन् । स्वदेशी पुँजीले मात्र हामीले चाहेजति विकास सम्भव छैन । त्यसका लागि वैदेशिक लगानी भिœयाउन आवश्यक छ । त्यो लगानी भिœयाउन व्यवसायी र लोकतान्त्रिक सरकारले मात्र सक्छ ।

यस क्षेत्रका अधिकांश किसान व्यावसायिक कृषिमा लागेकाले कृषिलाई अर्को औद्योगिक क्षेत्रका रूपमा विकास गर्न सकिन्छ । कृषिको औद्योगिक विकासका लागि आधुनिकीकरण तथा औजारीकरण गरी किसानको जीवनस्तर उकास्ने योजना छ । २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले अधिकांशलाई घरवारविहीन बनाएको छ । घरबारविहीनलाई घरभित्र राख्ने योजना छ । १ वर्षभित्र सबै भूकम्पपीडितलाई घरमा बसाउन विशेष योजना बनाएर कार्यान्वयनमा उत्रनेछु । शिक्षा, स्वास्थ्य तथा रोगजारी सबै जनताको पहुँचमा पु¥याउन निरन्तर लागिरहनेछु ।

विकासको महŒवपूर्ण पाटो ऊर्जा तथा विद्युत् हो । त्यसका लागि धादिङले प्राप्त गरेको अवसर बूढीगण्डकी जलाशययुक्त बूढीगण्डकी आयोजना निर्माण महŒवपूर्ण छ । आयोजनाबाट विस्थापितहरूलाई मुआब्जा वितरण र उचित बसोबासको व्यवस्था मिलाउन महŒवपूर्ण काम गर्नेछु । आयोजना निर्माणमा सशक्त दबाब सिर्जना गर्ने, बहस गर्ने, मुआब्जा वितरणमा महŒवपूर्ण भूमिका निर्वाह गर्न सक्षम छु । यी काम गरे छाड्छु । आयोजना निर्माणपछि धादिङ पर्यटनको मुख्य केन्द्र बन्ने भएकाले पूर्वाधार विकास गर्नुपर्ने हुन्छ ।

त्यसका लागि पदयात्राका लागि चौडा गरेटो, विश्रामस्थल, आवास गृह तथा होटलहरूको पूर्वाधार निर्माण गर्ने योजना बनाएको छु । काठमाडांै ओर्लेका १० प्रतिशत पर्यटक धादिङ भिœयाउने योजना अघि बढाउनेछु । लोकतान्त्रिक संविधान कार्यान्वयनमार्फत धादिङको आर्थिक समृद्धिका लागि प्रतिनिधि सभा सदस्यका लागि मेरो उम्मेदवारी भएको आम मतदातासमक्ष अपिल गर्छु ।

बस्ती–बस्तीमा सडक निर्माणको योजना


खेमप्रसाद लोहनी
नेकपा एमालेका उम्मेदवार
धादिङ निर्वाचन क्षेत्र नं. २

पुस्तौंदेखि क्रमिक रूपमा आ–आफ्नो चाहना र इच्छाअनुसारको आवास निर्माण गरी बस्दै धादिङवासीलाई २०७२ वैशाख १२ मा आएको विनाशकारी भूकम्पले आवासविहिन बनाइदियो । आवासविहीन नागरिकको आवाससम्बन्धी हक–अधिकार सुनिश्चित गर्न किसानमैत्री आवास निर्माण गर्ने काम पहिलो प्राथमिकतामा राखेको छु । छिटो–छरितो प्रक्रियाबाट लाभग्राहीलाई राज्यले दिने नगदसहितका अन्य सुविधा दिलाउनेछु ।

भूकम्पका कारण चिरा–चिरा भएका जमिन र पहिरोका कारण विस्थापितहरूको पुनर्वासका लागि उपयुक्त स्थानमा आवास निर्माण गर्न जग्गा व्यवस्था मिलाउनेछु । लाभग्राही सूचीमा नपरेकाहरूको सत्य–तथ्य जाँचबुझ गरी आवास पुनर्निमाण गर्नुपर्ने वा मर्मतसम्भार गरेर बस्न मिल्ने हो, सोको प्रबन्ध मिलाउनेछु ।

 लामो संघर्षपछि जनताका प्रतिनिधिहरूले निर्माण गरेको संविधान जारी भइसकेको छ । संविधानमा असन्तुष्ट पक्ष पनि छन् । संविधानमा भएका व्यवस्था र नागरिकका हक–अधिकारका बारेमा जनतालाई पूर्ण रूपमा जानकारी गराइएको छैन । जनता अझै पनि भ्रममा छन् । केही समूह संविधान पूर्ण भएन भनेर असन्तुष्टि पोखिरहेका छन् । समय गतिशील छ र नेपालको संविधान परिवर्तनशील छ ।

संविधानले गरेको व्यवस्थाअनुसार बनाउन बाँकी रहेका ऐन–कानुन, नीति–नियम बनाउन जनपक्षीय भूमिका निर्वाह गर्नेछु । विकासको ढाँचा २०५१ सालमै प्रस्तुत भइसकेको छ । सोहीअनुरूप आफ्नो निर्वाचन क्षेत्रभित्रका सबै वडामा बाह्रै महिना सहज रूपमा गाडी गुड्ने सडक निर्माण गर्नेछु । बस्ती–बस्तीमा सडक निर्माण तथा स्तरोन्नति गर्ने काम प्राथमिकताका साथ अघि बढाउनेछु । धादिङबेसी–तिप्लिङ–सोमदाङ सडक निर्माणकार्य पूरा गरी कालोपत्रे गर्ने र धादिङ–मूलपानी–लापा सडक निर्माण गर्ने तथा कालोपत्रे गर्ने योजना छ ।

अधिकांश मानिसको जीविकोपार्जनको माध्यम कृषि नै हो । निर्वाहमुखी कृषि पेसालाई समयसापेक्ष यान्त्रिकीकरण, आधुनिकीकरणमार्फत व्यवसायीकरण र बजारीकरण गरिनेछ । किसानहरूलाई सहुलियत ब्याजदरमा सहज रूपमा कृषि ऋण दिने व्यवस्था मिलाउनेछु । काठमाडौं, पोखरा, नारायणघाट, बुटवललगायत देशका ठूला सहरमा तरकारी बिक्री गर्ने व्यवस्था मिलाउनेछु । धादिङ हिमाली जिल्ला भएकाले पनि पर्यटक आकर्षणभित्र पर्छ । काठमाडौंबाट बाहिरिने आन्तरिक तथा बाह्य पर्यटकलाई रुभी भ्यालीसम्म पु¥याउन पदयात्रा निर्माण गर्ने योजना छ । होमस्टे (घरवास) निर्माण तथा सञ्चालन गरी स्थानीय कला–संस्कृतिको प्रवद्र्धनमार्फत स्वरोजगार सिर्जना गर्नेछु ।

 राष्ट्रिय गौरवको बूढीगण्डकी आयोजना निर्माणको काम सम्पन्न गर्न महŒवपूर्ण भूमिका निर्वाह गर्नेछु । आयोजना डुबान र प्रभावितको घरजग्गाको उचित मुआब्जा एक वर्षभित्र दिलाउन पहल गर्नेछु । आयोजना क्षेत्रभित्र चक्रपथ निर्माण, आवास क्षेत्र निर्धारण, जग्गा ढुवान क्षेत्रका मानिसलाई सरल मूल्यमा उपलब्ध गराउनु मेरो मुख्य भूमिका हुनेछ । आयोजना निर्माणले धादिङको आर्थिक समृद्धिको ढोका खोल्नेछ । हजारौं पर्यटकको मुख्य गन्तव्य बन्नेछ । स्थानीयले होटल व्यावसाय गरी रोजगारी सिर्जना गर्नेछन् ।

पछिल्लो पटक राजनीतिक ध्रुवीकरणले देशलाई समृद्धितर्फ उन्मुख गराएको छ । देशमा अब धेरै दल तथा राजनीति समूह हुनेछैनन् । एक दल सत्ता पक्ष र अर्को दल प्रतिपक्ष मात्र हुनेछ । त्यसको अभ्यास उम्मेदवारी दर्ताकै क्रममा देखिएको छ । एमाले र माओवादी केन्द्रले पार्टी एकतासम्मको तयारी गरी चुनावी गठबन्धन गरेपछि कांग्रेस अत्तालिएर लोकतान्त्रिक गठबन्धन नाम दिई चुनावी गठबन्धन गरेको छ ।

त्यो गठबन्धन कहिले कहाँ पुगेर समाप्त हुन्छ, थाहा छैन । तर, नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित साना कम्युनिस्ट पार्टीहरू एकीकृत हुने पक्का छन् । शून्य भ्रष्टाचार, न्यायोचित वितरणमार्फत सुशासन र समृद्धिका लागि प्रतिनिधिसभा सदस्यका लागि मेरो उम्मेदवारी भएको आम मतदातासमक्ष अपिल गर्छु ।

रोजगारी सिर्जना तथा आर्थिक समृद्धि


दिलमान पाख्रिन
नेपाली कांग्रेसका उम्मेदवार
धादिङ निर्वाचन क्षेत्र नं. २

लामो संघर्षपछि जनताका प्रतिनिधिहरूबाट लेखिएको संविधान कार्यान्वयन मेरो पहिलो प्राथमिकतामा रहनेछ । संविधान कार्यान्वयन गर्ने क्रममा भौतिक पूर्वाधार नियमित कार्यक्रममा पर्छ । मेरो निर्वाचन क्षेत्रमा सुगम र दुर्गम दुवै पर्छ । सुगम र दुर्गम जोड्न मोटरबाटो आवश्यक हुन्छ । धादिङ तिप्लिङ सडक प्राथमिकताका साथ निर्माण गर्नुका साथै अन्य बस्तीस्तरमा समेत सडक विस्तार गर्नेछु । २०७२ सालको भूकम्पपछि खानेपानी समस्या देखिकाले समाधानका लागि योजना अघि सार्छु ।

हिमाली क्षेत्रमा पाइने जडीबुटी संकलन तथा प्रशोधन र प्रवद्र्धनमा विशेष कार्यक्रम ल्याउनेछु, जसका कारण हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायलाई रोजगारी तथा आर्थिक समृद्धिमा बल पुग्नेछ । रुवी भ्यालीमा पाइने रत्न पत्थर संकलन तथा प्रशोधन उद्योग सञ्चालनको व्यवस्था मिलाउनेछु । त्यसबाट राज्य र जनतालाई प्रत्यक्ष फाइदा पुग्नेछ ।

कृषि तथा पशुपालनलाई व्यावसायिक बनाउने जनचाहनाअनुसार कार्यक्रम ल्याएर युवाहरूलाई स्वदेशमै रोजगार बनाउन पहल गर्नेछु । उत्तरी भेगमा चौंरी, उत्तर–पश्चिममा भेडा र मध्य भागमा बाख्राको राम्रो सम्भावना छ । काठमाडांैको बजार नजिक रहेकाले बाख्रापालनलाई व्यावसायिक बनाउन सकिन्छ । स्थानीय स्तरमा रोजगारी सिर्जना हुन्छ ।

बूढीगण्डकी हाइड्रोपावर सुस्त गतिमा सुरु भएको छ । बूढीगण्डकी राष्ट्रिय गौरवको आयोजना हो । यो आयोजना निर्माण भए मात्र धादिङको समृद्धि हुन्छ । त्यस कारण आयोजना निर्माणमा मेरो सक्रियता रहनेछ । आयोजना क्षेत्रभित्रका डुबान तथा प्रभावित जग्गाधनीलाई उचित मुआब्जा र बसोबासका व्यवस्था मिलाउन सक्रिय रहन्छु ।

नेपाली कांगे्रस देशको पुरानो र प्रजातान्त्रिक शक्ति हो । यो शक्तिलाई पछि पार्न ६०/४० प्रतिशत भाग लगाएर एमाले र माओवादी केन्द्रले चुनावी गठबन्धन गरेका छन् । नेपाली कांगे्रसले पनि संविधानको कार्यान्वयन र देशको रक्षाका लागि लोकतान्त्रिक शक्तिहरूबीच चुनावी तालमेल गरेको हो । लोकतान्त्रिक गठबन्धनको छुट्टाछुट्टै घोषणपत्र छ । वाम गठबन्धनको संयुक्त घोषणापत्र छ ।

यसबाट कम्युनिस्ट अधिनायकवाद लाद्न खोजेको देखिन्छ । यो अधिनायकवाद प्रतिरक्षाका लागि प्रतिनिधिसभा सदस्यमा मेरो उम्मेदवारी भएको आममतदातासमक्ष अपिल गर्छु ।

-कारोवार डेलि डट कमबाट