खाद्यअधिकार संरक्षणका बिषयमा जिल्ला स्तरीय छलफल

778 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,( धादिङन्युज) । खाद्यअधिकार संरक्षणका लागि दवावमुलक एवम जनचेतनामुलक अभियान संचालन गर्दै आईरहेको खाद्यअधिकार जिल्ला संजाल धादिङले एक बर्षको अवधिमा सम्पन्न गरेको कार्यक्रमको बार्षिक समिक्षा गरेको छ ।
सञ्जालको स्थापना भएपछि जिल्लामा हुंदै आईरहेका पैरवी तथा दवावमुलक कार्यक्रमहरुका वारेमा सरोकारवालाहरुलाई जानकारी दिने उद्धेश्यले आयोजना गरिएको कार्यक्रममा संजालका संयोजक गोकर्ण रुपाखेतीले संस्थाको बार्षिक कार्यक्रमहरुको जानकारी गराउनु भएको थियो ।
संजालले खानपाउने अधिकारका लागि पैरबी गर्नुका साथै विभिन्न कारणले खाद्यअधिकार गुमाएका समुदाय तथा वर्गको लागि सरोकारवाला निकायसंग समन्वय गर्दै आईरहेको छ । यसैगरी प्राकृतिक श्रोत माथिको दूरुपयोग नियन्त्रणका लागि अभियान चलाउंदै आईरहेको संयोजक रुपाखेतीले कार्यक्रममा जानकारी गराउनुभयो ।
विभिन्न सरकारी निकाय ,गैर सरकारी संघ संस्था तथा राजनैतिक दल निकटका किसान संगठन,किसान समुहको संयुक्त प्रयासमा २०६४ मा संजालको  स्थापना भएको थियो । संजालले साझा मुद्धा लिएर अघि बढेकै कारण सिमान्तकृत चेपाङ ,कुमाल समुदायको समस्या पहिचान भई उनिहरुको समस्या समाधानका लागि पहल भईरहेको कार्यक्रममा जानकारी गराईएको थियो ।