गल्छी–त्रिशूली सडक दैनिक आठ घण्टा बन्द

1251 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

01गल्छी–त्रिशूली–मैलुङ सडक योजनाको कामलाई तीव्रता दिनका लागि शनिवारदेखि गल्छी–त्रिशूली सडकखण्डको गल्छीदेखि पीपलटारसम्मको खण्डमा दैनिक आठ घण्टा सडक बन्द हुने भएको छ ।

गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाले सडक स्तरोन्नतिको कामलाई तीव्रता दिँदैछ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा शनिवार बसेको सरोकारवालाहरुको बैठकले उक्त सडक तीन महीनाका लागि आंशिक बन्द गरी निर्माण अघि बढाउने निर्णय गरेको हो । योजनाको निर्माण अपेक्षित रुपमा अघि बढ्न नसकेको र अहिले अप्ठ्यारा भीर काट्ने कामको शुरुआत हुन लागेकाले सडक बन्द गरिएको योजना प्रमुख देवकोटाले बताए ।

धादिङको गल्छीदेखि रसुवाको स्याफ्रुबेँसीसम्म ८२ किमी सडकमध्ये ४६ किमी क्षेत्रमा स्तरोन्नतिको काम भइरहेको छ । रू.नौ अर्ब लगानी रहेको योजनाअन्तर्गत सडकको दायाँबायाँ पर्खाल लगाउने र सडक विस्तारको काम भइरहेको छ । उत्तर–दक्षिण(चीन र भारत) जोड्ने छोटो नाकाका रुपमा रहेको यो सडक विस्तारलाई अझै प्रभावकारी रुपमा अघि बढाउन पुस १ गतेदेखि फागुन मसान्तसम्म बिहान ६ देखि ९ बजेसम्म र बिहान ११ देखि अपराह्न ४ बजेसम्म पीपलटारदेखि गल्छीसम्म बाटो पूर्णरुपमा बन्द हुने बताइएको छ ।

यो योजना विसं २०७३ वैशाख २५ मा २७ महीनाभित्र काम सम्पन्न गर्ने गरी शुरु भए पनि जग्गा अधिग्रहण, बिजुलीका खम्बा र वन क्षेत्रका कारण निर्माणमा ढिलाइ भइरहेको छ ।

2 3 4