उत्तर कोरियाली नेता किमसँग अमेरिकी राष्ट्रपति ट्रम्पको भेट हुने

746 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

वाशिंगटन । दुई परस्पर विरोधीका रुपमा चिनिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उनबीच आगामी मे मा भेट हुने भएको छ ।

दक्षिण कोरियाली राष्ट्रिय सुरक्षा सल्लाहकारसँग विहिबार ह्वाइटहाउसमा भएको भेटवार्तामा अमेरिकी राष्ट्रपति ट्रम्प किमसँग भेट गर्न सहमत भएका हुन् ।

ह्वाइटहाउसका प्रेस सचिव सराह सान्डर्सले एक विज्ञप्ती जारी गर्दै राष्ट्रपति ट्रम्पले किमलाई भेट्न सहमति जनाएको उल्लेख गर्दै ठाउ र समय पछि तय हुने उल्लेख गरिएको छ ।

राष्ट्रपति ट्रम्पले पनि ट्वीट गर्दै किमले दक्षिण कोरियाका प्रतिनिधिसँग परमाणु हतियार नष्ट गर्ने र थप परमाणु परीक्षण नगर्ने बताएर राम्रो सुरुवात गरेको बताउदै किमलाई भेट्ने तयारी भएको जानकारी दिएका छन् ।

दक्षिण कोरियाली प्रतिनिधिसँग उत्तर कोरियाली नेताले पठाएको राष्ट्रपति ट्रम्पसँग भेट्ने प्रस्तावलाई ट्रम्पले स्वीकार गरेर कोरियाली प्रायद्वीपमा देखिएको तनाव कम हुने संकेत देखा परेको छ ।

उत्तर कोरियाले परमाणु हतियार नष्ट गर्ने दिशामा आफ्नो काम अगाडी बढाए अमेरिका उत्तर कोरियासँग वार्ता गर्न तयार रहेको संदेश ह्वाइटहाउसले दिएको छ ।

सिएनएनका अनुसार अमेरिकाले उत्तर कोरियामाथि बढाएको प्रेसरका कारण नै किम वार्ताका लागि तयार भएको अमेरिकाको बुझाइ रहेको उल्लेख गरेको छ ।