धादिङ महोत्सव सम्पन्न

2421 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,- जिल्लाको मौलिक परम्परा, कला संस्कृतिको संरक्षण तथा सम्र्वद्धन, घरेलु उत्पादनलाई बजारिकरण गर्ने उद्देश्यका साथ सञ्चालित धादिङ महोत्सव २०७४ सम्पन्न भएको छ ।
धादिङ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको महोत्सव राजनीतिक सहमति जुट्न नसकेपछि स्थगित भए सँगै साना तथा मझौला व्यवसायी महासंघ नेपाल, जिल्ला कार्यसमिति धादिङले महोत्सवको आयोजना गरेको थियो ।उद्योग वाणिज्य संघ भित्रको आन्तरिक समस्याका कारण अन्तिम समयमा आएर महोत्सव स्थगित गरिएपछि साना तथा मझौला व्यवसायी महासंघ जिल्ला शाखा धादिङले धादिङ महोत्सव गर्ने घोषणा गरेको थियो । उद्योग वाणिज्य संघले स्थगित गरेपछि नयाँ संस्थाले महोत्सवको आयोजना गरेपछि संघका पदाधिकारीहरुकै पहलमा वाम गठवन्धनका जिल्ला नेता,संघीय तथा प्रदेश सभाका साँसद, स्थानीय तहका जनप्रतिनिधि र सिंगो पार्टी पंक्तिले महोत्सव बहिष्कार गरेका थिए । पुस २६ गते देखि ८ माघ सम्म आयोजना गर्ने भनिएको प्रादेशिक औद्योगिक व्यापार मेला तथा छैटौं धादिङ महोत्सव अन्तिम समयमा आएर स्थगित गरिएको थियो ।

साना तथा मझौला व्यावसायी महासंघ नेपाल धादिङ शाखाको आयोजनामा फागुन १६ देखि धादिङबेसी रायटारमा सञ्चालित महोत्सव फागुन २७ गते सम्पन्न भएको हो । “सम्वृद्ध धादिङको कामना, एक घर एक व्यावसायी हाम्रो चाहना” भन्ने मुल नारा सहित सम्पन्न भएको महोत्सव करिव ५० हजारले  अवलोकन गरेकाछन् ।
महोत्सव मुल समारोह समिति संयोजक रामलाल श्रेष्ठका अनुसार महोत्सव सफलताका साथ सम्पन्न भएको र विगतका महोत्सव भन्दा पृथक रहेको पनि दावी गर्नुभयो । महोत्सवमा नेपालसहित ११ देशको साँस्कृतिक कार्यक्रम एकै दिन एउटै मञ्चबाट प्रस्तुत गरिएको, धादिङ जिल्लामै पहिलो पटक सदरमुकाममा हात्ती सफारी गराएर हात्ती चढ्ने धेरैको रहर पुरा गरिदिएको श्रेष्ठले वताउनु भयो । महोत्सव अवधिभर राष्ट्रियस्तरका ख्याती प्राप्त विभिन्न कलाकारहरुले गीत ,नृत्य तथा प्रहसन प्रस्तुत प्रस्तुत गरेका थिए ।