नुवाकोटका चार दर्जन बालुवा प्रशोधन उद्योग बन्द गर्न निर्देशन

1156 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

नुवाकोट- धादिङ जिल्लामा सञ्चालित क्रसर र बालुवा धुने फिरफिरे गैर कानूनी ढंगबाट सञ्चालन भएको भन्दै स्थानीय प्रशासनको अगुवाईमा ति उद्योगहरुमा जडान गरिएको को बिद्युत्त लाइन काटिएको दुई दिन पछि नुवाकोट जिल्लामा सञ्चालित फिरफिरेहरु वन्द गर्न उद्योग विकास शाखाले पत्र काटेको छ।

उद्योग विकास शाखाको आयोजनामा जिल्ला अनुगमन समितिको संयुक्त टोलीले गरेको अनुगमनमा बेलेकोटगढी नगरपालिकाभित्रका ४७ बालुवा प्रशोधन उद्योग (फिरफिरे) मापदण्ड विपरीत पाइएपछि  सबै बन्द गर्न  उद्योगीलाई पत्र दिइएको शाखाका निर्देशक विजय भट्टराईले जानकारी दिए।

अनुगमनको पहिलो दिन बेलकोटगढी नगरपालिका अन्तर्गत वडा नं. ५, ७ र ९ मा रहेका फिरेफिरेको अनुगमनमा सबै मापदण्डविपरीत पाइएकाले बन्द गराउन उद्योग शाखामार्फत कारबाही सुरु गरेको प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवले बताए। कच्चा सामाग्री धादिङ जिल्लाको खानी देखाएर यहाँ दर्ता भए पनि कुनै पनि उद्योगले त्यसको पालना नगरेको अनुगमनमा पाइएको छ।

जिल्लामा अवैध उत्खनन गरी खानी सञ्चालन गर्ने र बालुवा प्रशोधनपछिको पानी सिधै नदीमा मिसाउने उद्योग मापदण्ड पूरा नगरी सञ्चालन गर्न रोक लगाइएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले बताए।

यहाँ रहेका फिरफिरे उद्योग अवैधरुपमा सञ्चालनमा रहेको तथा त्रिशूली लगायतका नदीमा धमिल्याएर प्रदूषण गरेको गुनासोपछि जिल्ला अनुगमन टोलीले संयुक्तरुपमा स्थलगत अनुगमन सुरु गरेको हो।