नेपालद्वारा पपुवा न्यूगिनी ६ विकेटले पराजित

601 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

काठमाडौं, १ चैत । विश्वकप छनोटअन्तर्गत प्लेअफ खेलमा नेपालले पपुवा न्यूगिनीलाई छ विकेटले पराजित गर्दै एकदिवसीय मान्यता पाउने सम्भावनालाई बलियो बनाएको छ । जिम्बाबेको ओल्ड हराररियनन्सस्थित हरारे स्पोर्टस क्लबको मैदानमा आज भएको खेलमा पपुवान्यूगिनीले दिएको ११५ रनको चुनौतीलाई नेपालले २३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।

खराब सुरुवात गरेको नेपालका लागि दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले नेपालको पारी सम्हाले । अविजित दीपेन्द्रले सर्वाधिक ५० रनको योगदान दिए भने अरिफले २६ रन जोड्दै बाहिरिए । त्यस्तै सुरुवाती व्याट्सम्यानद्वय ज्ञानेन्द्र मल्ल एक रन जोड्दै बाहिरिए भने अनिल शाह नो रनमा समेटिए । तेस्रो नम्बरमा व्याटिङ गर्न आएका कप्तान पारस खड्काले भने २० रन जोडदै पेभिलियन फर्किए । रोहितकुमार पौडेलले अविजित तीन रन जोडे ।
त्यसअघि टस हारेर पहिले व्याटिङ गरेको पपुवा न्यूगिनीले २७ दशमलव २ ओभरमा सवै विकेट गुमाउँदै ११४ रनमा समेटियो । पपुवा न्यूगिनीका चार्लस अमिनीले सर्वाधिक १९ रन जोडे भने जासोन किलाले १५ रन जोडे । पपुवा न्यूगिनीलाई सस्तैमा समेट्ने क्रममा नेपालका सन्दिप लामिछाने र दिपेन्द्र सिंह ऐरीले समान चार÷चार विकेट लिए । सन्दीपले आफ्नो आठ ओभरमा २९ रन दिँदै ४ विकेट लिन सफल भएका थिए ।

त्यस्तै दीपेन्द्रले आफ्नो ४ ओभर २ बलमा १४ रन खर्चेर चार विकेट लिएका हुन् । त्यसैगरी नेपालको करण केसी र सोमपाल कामीले एक एक विकेट हात पारे । आजै भइरहेको अर्को खेलमा नेदरल्यान्ड्सले हङकङलाई पराजित गरेमा नेपालले एक दिवसीय मान्यता पाउने निश्चित हुनेछ । नेपाल, पपुवा न्युगिनी र हङकङमध्ये अग्रस्थानमा रहने टोलीले एक दिवसीय मान्यता प्राप्त गर्नेछ । नेदरल्यान्ड्सले भने यसअघि नै एक दिवसीय मान्यता प्राप्त गरिसकेको छ ।