धादिङमा पर्यटनको अपार सम्भावना

1911 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

मानछिरिङ तामाङ
मुलुककै झन्डै मध्य क्षेत्रमा रहेको धादिङ जिल्लामा पर्यटनको अपार सम्भावना रहेको औंल्याइएको छ । प्राकृतिक सौन्दर्य, विभिन्न जातजातिको भाषा, धर्म, रहनसहन, संस्कृतिले यो जिल्ला उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्ने सरोकारवालाको विश्लेषण छ ।

क्षेत्रगत हिसाबले तीन भागमा विभाजन गरिएको यस जिल्लाको तीनै क्षेत्र पर्यटकीय दृष्टिले उत्तिकै महत्वपूर्ण रहेको छ । उत्तरी क्षेत्रमा हिम शृङखलादेखि धार्मिक कुण्ड, दुर्लभ जंगली जनावर र जडीबुटीले धनी मानिन्छ भने सांस्कृतिक सम्पदा र प्राकृतिक सौन्दर्यले धनी मानिन्छ । दृश्यावलोकन, साहसिक खेल र गुफाहरुका लागि प्रसिद्ध छ ।

जिल्लाको पर्यटन क्षेत्रको बारेमा अध्ययन, अवलोकन गर्ने हो भने नेपालकै एक नमुना जिल्लाका रुपमा धादिङलाई पाउन सकिन्छ । चीनको सिमानादेखि भारतको चुरेपहाडसम्म फैलिएको एकमात्र जिल्लाको परिचय पाएको हिमालदेखि संस्कृति अवलोकन र नदीनालामा खेलिने साहसिक खेलसम्मको अवसर छ । समग्रमा हाम्रो प्रचलित भाषामा भन्ने हो भने नुनदेखि सुन र कीरादेखि हीरासम्म पाइने जिल्लाका रुपमा धादिङलाई लिन सकिने सरोकारवालाको भनाइ छ ।

रसुवा, नुवाकोट र गोरखा जिल्लाको बीचमा रहेको धादिङ जिल्लालाई हाल रुबी भ्याली पदमार्गको रुपमा नामकरण गरी पर्यटन प्रवद्र्धनको कार्य भइरहेको छ । उत्तरी क्षेत्रमा पर्ने गणेश हिमाल, पाल्दोर पिकजस्ता प्रसिद्ध हिमशृंखलाहरु यो क्षेत्रमा पर्दछन् । जस्ता खानी, बहुमूल्य धातुहरु रुबी, क्रिस्टल, क्वार्च, निलम, पन्ना, टोपाजआदि यही क्षेत्रमा पाइन्छन् । यार्सा गुम्बा, जटामसी, निरमसी, पाँचऔले, तीतेपाते, विष, कुट्की, शिलाजितजस्ता दुर्लभ बहुमूल्य जडीबुटी, सात प्रजातिका लालीगुराँसलगायत यस क्षेत्रमा पाइन्छन् । त्यस्तै विश्वमा नै दुर्लभ मानिएका रतुवा, मृग, झारल, घोरल, थार, बाघ, भालु, हिऊँ चितुवा, पान्डा, चिल, डाँफे, मुनाल, कालिज, लाटोकोसेरो, ढुकुर तथा बनकुखुराजस्ता दुर्लभ पशुपन्छी पनि यस जिल्लामा अवलोकन गर्न पाइन्छ । नेपालकै उत्कृष्ट मानिएको तातोपानी मूल धादिङको उत्तरी भेगमा तीन ठाउँमा पाइन्छ ।

तिप्लिङ गाविसको लिङजो, सेर्तुङ गाविसको चालिस र झार्लाङ गाविसमा तातोपानी रहेको छ । पर्यटकीय तथा धार्मिक दृष्टिले महत्वपूर्ण मानिने कालो कुण्ड, सेतो कुण्ड र गणेश कुण्ड सोही क्षेत्रमा अवस्थित छ । तामाङ, गुरुङ, विश्वकर्मा र नेवार जातिको संयुक्त बसोवास रहेको यो स्थान सांस्कृतिक हिसाबले समेत धनी छ ।  यी जातिहरुमा परम्परागत संस्कृति अहिले पनि जीवित छन् । तामाङ जातिको म्हेन्दोमाया, साईखोले, मानेनाच, पारुनाच तथा लामानाच, गुरुङ जातीको रोधी, घाटु र मारुनीनाच अहिले पनि उत्तिकै चल्तीमा छन् । त्यसैगरी विश्वकर्माको मालाश्री र नेवार जातिको लाखे नाच यस क्षेत्रमा विशेष पर्व र अवसरहरुमा अवलोकन गर्न पाइन्छ ।

उत्तरी भेगको उत्कृष्ट भ्युप्वाइन्टको रुपमा पाङसाङ पास, सिङला पास, तिनसुरे, दोब्रा डाँडा, तिम्ला डाँडा र माङ्ने भञ्ज्याङलाई लिइन्छ । जहाँबाट गणेश हिमाल, लाङटाङ हिमाल, मनास्लु हिमाल, अन्नपूर्ण तथा विश्वको सर्वोच्च शिखर सगरमाथाको रेन्जसमेत देख्न सकिन्छ । यी पासहरुलाई धार्मिक दृष्टिले पनि महत्वपूर्ण मानिन्छ । अलि तल झरेपछि गंगाजमुना झरना, नेत्रताल, नेपालको दोस्रो ठूलो टारको रुपमा चिनिने सल्यानटार, त्रिपुरा सुन्दरीको मन्दिर तथा कटुन्जे डाँडाको भ्यूप्वाइन्ट पनि पर्यटकीय दृष्टिले महत्वपूर्ण भएको स्थानीय समुदायको भनाइ छ ।

त्यसैगरी सदरमुकाम धादिङबेसीनजिक रहेको सिद्धलेकलाई उत्कृष्ट भ्युप्वाइन्टको रुपमा चिनिन्छ । यहाँबाट धादिङ जिल्लाका ५० मध्ये ४९ गाविस देख्न सकिन्छ । उक्त ठाउँबाट गणेश हिमाल, मनास्लु हिमाल, लाङटाङ, अन्नपूर्ण लगायत पाल्दोरपिक हिमशृंखला पनि अवलोकन गर्न सकिन्छ । सिद्धलेकसँगै रहेको शिवलिंग आन्तरिक तथा बाह्य दुवैखालका पर्यटकका लागि आकर्षणको धार्मिक केन्द्र बन्न सक्ने कार्यपत्रमा औंल्याइएको छ । श्रीबन नेचरक्याम्प रहेको क्षेत्र पनि पर्यटनमैत्री बन्दै गएको छ ।

सलाङ तथा नलाङमा बसोबास गर्ने मगर जाती, दार्खा गाविसमा रहेको मगर जातीको राउते गाउँ, खाल्डे गाविसको गुरुङ गाउँलाई होमस्टे कार्यक्रममार्फत प्रवद्र्धन गर्न सकिने सम्भावना सरोकारवालाले औंल्याएका छन् । त्यसैगरी तामाङ, गुरुङ, नेवार तथा ब्राह्मण जातिको मिश्रित बसोबास रहेको कटुन्जे गाउँमा होमस्टे कार्यक्रम सञ्चालन गर्न सकिने बताइएको छ । त्यस्तै तामाङ जातिको बाक्लो बस्ती रहेको र तामाङ जातिको पौराणिक इतिहास बोकेको सेम्जोङ गाउँमा पनि होमस्टे सञ्चालन गर्न सकिने सम्भावना छ । धादिङ जिल्लाकै उत्कृष्ट भ्यूप्वाइन्टको रुपमा मानिने यो डाँंडामा रहेको गुफालाई प्रचारप्रसारमा ल्याउन सके पर्यटन प्रवद्र्धनमा अझ बल पुग्ने देखिन्छ । यो डाँडालाई स्थानीयले डाँडैडाँडाको रानी अर्थात क्विन अफ द हिल भन्ने गर्दछन्  ।

जिल्लामा पृथ्वीराजमार्ग अन्तर्गत रहेको त्रिशूली नदी र यसआसपासमा रहेका भू–भाग पर्यटकको पहिलो रोजाइको गन्तव्य बनिसकेका छन् । साहसिक खेलको रुपमा चिनिने ¥याफ्टिङ, कायाकिङ, क्यानोनिङ तथा बिच भलिबलका लागि त्रिशूली नदी लोकप्रिय छ । पिछडिएका समुदायका रुपमा परिचय बनाए पनि चेपाङ, गन्धर्व तथा माझीको संस्कृति र उनीहरुको जीवनशैली संरक्षण र सम्वद्र्धन गर्न सके ती आफैंमा लोभलाग्दो पर्यटकीय प्याकेजका रुपमा बजारमा पर्यटन प्रबद्र्धन हुने सम्भावना छ । मलेखुलाई फिसिङ पर्यटनका रुपमा विकास गर्न सके पर्यटन प्रवद्र्धनमा अर्को कोसेढुङ्गा स्थापित हुने सरोकारवालाको भनाइ छ ।


पर्यटकीय सम्भावनाका क्षेत्र
यस क्षेत्रलाई ७ देखि १८ दिनसम्मको रुबी भ्याली पदमार्गको रुपमा विकास गर्न सकिन्छ । संरक्षित क्षेत्रका रुपमा घोषणा गर्न गर्नुपर्ने पर्यटन व्यवसायीहरु बताउँछन् । सेर्तुङ गाविसको चालिस गाउँ, दार्खा गाविसको राउँते गाउँ, कटुञ्जे गाविसको कटुञ्जे, सेम्जोङ गाउँ, सलाङ गाविसको मगर गाउँलाई नमुना घरबासको रुपमा विकास गर्न सकिने सम्भावना देखिन्छ । हाल मात्र नामकरण गरिएको नेत्र ताललाई अन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यको रुपमा विकास गर्न सकिनेछ ।

गणेश हिमाललाई आरोहणको निम्ति खुला गरी पर्यटन प्रवद्र्धन गर्न सकिने उक्तिकै प्रबल सम्भावना देखिन्छ । धार्मिक क्षेत्रहरु कालोदह, सेतोदह, गणेशकुण्ड, गंगाजमुना झर्ना, त्रिपुरा सुन्दरीको मन्दिर, सिद्धलेक, सिद्धगुफा तथा शिवलिंगलाई प्रवद्र्धन गरी धार्मिक पर्यटन प्रवद्र्धन गर्न सकिनेछ ।

-नेपाली बुलेटिन डट कमबाट