त्रिशुली सङ्ल्याउन धादिङपछि नुवाकोटका फिरफिरे बन्द

554 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

नुवाकोट,११ चैत  नुवाकोट प्रशासनले त्रिशुली नदी धमिल्याउने फिरफिरे तथा क्रसर बन्द गरेको छ।

६० प्रतिशत माटो मिसिएको बालुवा धुने क्रममा फिरफिरेबाट निस्केको लेदोसहितको पानी सिधै नदीमा मिसाउँदा हिउँदमा पनि बर्खाजस्तै त्रिशुली धमिलो बग्थ्यो।

मापदण्डविपरित चलेका पाँच वटा क्रसरसहित ६० वटा फिरफिरे उद्योगगत शुक्रबारदेखि बन्द गरिएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिए।

‘मापदण्डविपरित चलेका क्रसर र फिरफिरे उद्योग बन्द गरेका छौं’ प्रजिअ यादवले  भने, ‘स्थानीय तहले मापदण्ड बनाएर लागू गरेपछि मात्रै फिरेफिरे खुल्छन्।’

घरेलु तथा साना उद्योग विकास समितिले पत्राचार गरेपछि क्रसर र फिरफिरे बन्द गरिएको हो।

बेलकोटगढी नगरपालिका क्षेत्रको कोल्पुटारदेखि नुवाकोट–रसुवा सीमा क्षेत्र बेत्रावतीसम्म तथा सामरीखोला, लिखुखोला र तादीखोला किनारमा अवैध चलेका उद्योग बन्द गरेको उनले बताए।

स्थानीय तहले कानून बनाएर लागू गरेपछि बन्द उद्योग खुल्ने नुवाकोटका प्रहरी प्रमुख एसपी वसन्त कुँवरले जानकारी दिए।

‘कानून बेगर मनलाग्दी तवरले फिरफिरे, क्रसर चलाउन पाइँदैन। हामी मापदण्डअनुसार मात्रै उद्योग चलाउन दिने पक्षमा छौं’ कुँवरले भने, ‘मापदण्ड मिचेर उद्योग चलाउने, लेदो माटोसहितको पानी सिधै खोलामा मिसाउने? त्रिशुली नदी प्रदुषण हुनबाट रोक्न अवैैध उद्योग बन्द गरियो।’

नुवाकोटमा भएका कुनै पनि बालुवा खानी दर्ता छैन। क्रसर र फिरफिरे उद्योगले बालुवाको मुख्य स्रोत धादिङलाई देखाउने गर्छन्।

नदी किनार क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दा, स्थानीय तहहरु र प्रशासन मिलेर अवैध रुपमा सञ्चालित उद्योगहरुलाई कानूनी दायरामा ल्याउनुपर्नेमा उनले जोड दिए।

‘स्थानीय तह जिम्मेवार हुनुपर्छ, नागरिकहरु सचेत हुनुपर्छ, नदी प्रदुषण गर्नेलाई छाड्दैनौं’ कुँवरले भने, ‘विधि, प्रक्रिया, मापदण्ड सबै पूरा गरेका उद्योगहरु चल्न दिन्छौं।’

फागुन अन्तिम साता धादिङका क्रसर तथा फिरफिरे उद्योगमा बिजुली काटिएको थियो। बिजुली नभएपछि क्रसर र फिरफिरे बन्द भए।

क्रसर र फिरफिरे बन्द भएपछि बाह्र वर्षपछि त्रिशुली नदी सङ्लो बग्न थालेको छ। धमिलो माटो थिग्याउने ट्याङ्की बनाएपछि मात्रै बन्द रहेका फिरफिरे उद्योग खोल्न दिने पक्षमा जिल्ला समन्वय समिति, स्थानीय तह र प्रशासन छ।

भूकम्पपछिको पुनर्निर्माणलाई ध्यान दिँदै नदीजन्य पदार्थको अभावलाई पूर्ति गर्न बन्द रहेका उद्योगहरु खोल्न माग भइरहेको छ। नदीदेखि एक सय मिटरभित्र क्रसर र फिरफिरे उद्योगहरु संचालन गर्न नदिने गरी नयाँ मापदण्ड तोकिएको छ। लेदो माटो मिसिएको पानी थिग्याउने ट्याङकी बनाएका उद्योग मात्रै चल्न दिने धादिङ प्रशासनले जनाएको छ।