बैकिङ पहुँच नभएका धादिङका ६ वटै स्थानीय तहमा खुल्ने भो बैंक

3005 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

बैंकिङ पहुँच नपुगेका धादिङको ६ वटा स्थानीय तहमा  आगामी असार मसान्त भित्र अनिवार्य रुपमा बैकंको शाखा स्थापना गरी संचालनमा आउने भएको छ ।प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा वाणिज्य बैकको शाखा खोल्नु पर्ने सरकारी निर्णय अनुसार नेपाल राष्ट्रबैंकले समयसीमा नै तोकेर वाणिज्य बैंकहरुलाई स्थानीय तहमा शाखा बिस्तार गर्न निर्देशन दिएको हो ।

तोकिएको समयभित्र शाखा बिस्तार नगर्ने वाणिज्य बैंकलाई कडा कारबाही हुने भन्दै नेपाल राष्ट्रबैंक बैंक तथा बित्तीय संस्था नियमन विभागले सर्कुलर जारी गरेको हो ।

चैत १४ गते बुधबारको मितिमा वाणिज्य बैंकहरुका लागि जारी गरिएको सर्कुलरअनुसार आगामी बैशाखभित्र २४३ स्थानीय तहमा तोकिएका वाणिज्य बैंकहरुले बैंक शाखा स्थापना गरी संचालनमा ल्याइसक्नुुपर्नेछ । जस अनुसार धादिङको सिद्धलेकमा कुमारी बैक, ज्वालामुखी र त्रिपुरासुन्दरीमा मेघा बैक संचालनमा आईसक्नु पर्नेछ ।

त्यसपछि ११६ स्थानीय तहमा तोकिएका वाणिज्य बैंकहरुले ०७५ असार मसान्तसम्म शाखा संचालनमा ल्याइसक्न निर्देशन दिइएको छ । यस चरणमा गंगाजमुनामा नेपाल एसबिआई बैक, खनियबास र रुवीभ्यालीमा बैक अफ काठमाण्डुको शाखा स्थापनाभई संचालनमा आईसक्नु पर्नेछ ।

केही बैंकहरुले आफू पुग्ने ठाउँको प्रतिबद्धता जनाएको भएपनि केहीले चाहिँ पूर्वाधार अभावको समस्या देखाउँदै ती ठाउँमा जानबाट पछि हट्न खोजिरहेका छन् ।

धादिङको १३ स्थानीय तह मध्ये नीलकण्ठ र धुनिवेसी नगरपालिकाको साथै थांक्रे,गल्छी, गजुरी,वेनिघाट रोराङ गाउँपालिकामा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक,कृषि विकास बैंकका साथै नीजी क्षेत्रका वाणिज्य बैंकहरु सानिमा, माच्छापुछ«े, ग्लोवल आईएमई,प्रभु,हिमालयन, एभरेष्ट,एनआईसि एसिया,एनवि, एनएमवि,सेञ्चुरी लगायतका बैकका शाखाहरु संचालनमा रहेका छन । सदरमुकाम धादिङबेसी पछि सबैभन्दा धेरै बैकहरु गल्छी गाउँपालिकामा खुलेका छन । यस गाउँपालिकामा अहिले सम्म वाणिज्य तर्फ ग्लोवल आईएमई, एनवि, एनएमबी,बैक अफ काठमाण्डु सञ्चालनमा आईसकेको छ भने विकास बैक तर्फ मुक्तिनाथ विकास बैक सञ्चालनमा रहेको छ ।