जिल्ला शिक्षा कार्यालयहरु तत्काल खारेज नगर्ने मन्त्रिपरिषदको निर्णय

954 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । जिल्ला शिक्षा कार्यालयहरु तत्काल खारेज नहुने भएका छन् । मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अर्को व्यवस्था नभएसम्मका लागि जिल्ला शिक्षा कार्यालयहरु खारेज नगर्ने निर्णय गरेको हो ।

कानूनतः चैत २८ देखि जिल्ला शिक्षा कार्यालयहरु खारेज हुने भएपनि मन्त्रिपरिषद्को निर्णय पछि अब यथावत रहने भएका छन् । आगामी चैत्र २८ गतेदेखि म्याद सकिन लागेको जिल्ला शिक्षा कार्यालयको म्याद जिल्ला शिक्षा समन्वय समिति नबनेसम्मका लागि असार मसान्त लागु हुने गरी थप गरिएको छ ।अन्य संरचना भने आगामी चैत्र २८ गतेबाट खारेज हुनेछ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले तत्काल जिल्ला शिक्षा कार्यालयहरु खारेज नगरिने बताउँदै आएका थिए । जिशिकाहरुलाई फरक नाम दिएर भएपनि संरचना राखिने उनको भनाइ थियो । नभन्दै शिक्षा मन्त्री पोखरेलकै प्रस्तावमा मन्त्रिपरिषदले अर्को व्यवस्था नहुँदा सम्म जिशिका खारेज नगर्ने निर्णय गरेको हो ।

जिशिकाबाट धेरै जिम्मेवारी स्थानीय तहमा पुगेपनि विद्यालय क्षेत्र विकास कार्यक्रम, परीक्षा, तथ्यांक, अनुगमनलगायतको काम तत्काल व्यवस्थित गर्न समस्या पर्ने देखिएको थियो ।

मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको चैत २३ देखि २५ गते हुने भारत भ्रमण स्वीकृत गरेको छ । बैठकले प्रधानमन्त्री ओलीसँगै ३ जना मन्त्रीहरु भारत भ्रमणमा जाने टुंगो लगाएको छ । प्रधानमन्त्रीसँग परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमातृकाप्रसाद यादव र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीरघुबीर महासेठ भ्रमणमा जाने छन् ।

यस्तै बैठकले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७४ र बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश, २०७४ लाई संसदमा टेबुल गर्ने समेत निर्णय गरेको छ ।