शेयर बजारमा एकाएक चमक

1272 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

-दिपक सिम्खडा

नयाँ बर्ष ०७५ लागेपछि साता दिनको सेयर कारोबारमा लगानीकर्ताको सम्पत्ति एक खर्ब ८६ अर्बले बढेको छ । यसबीचमा नेप्से १५८ अंकले बढेर १४३८ अंकमा पुगेको छ भने समग्र बजार पूँजीकरण १६ खर्ब ८७ अर्ब रुपैयाँ पुगेको छ । पछिल्लो तीन दिन लगातार एक अर्ब बढीको कारोबार भएको छ .

अरुण काबेली पावर, एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था, राष्ट्रिय बीमा कम्पनी र राष्ट्रिय बीमा कम्पनीको प्रमोटर शेयरको मूल्य दश प्रतिशतले बढेको छ ।राधी हाइडोपावर डेभलपमेन्ट र न्यादी गुप्र पावर रहेको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । उच्च कारोबार गर्ने कम्पनीमा कुमारी बैंक अग्रपक्तिमा रहेको छ । नयाँ वर्षको सुरुवात अनि तेस्रो त्रैमासको समाप्तिसँगै पुँजी बजारले नयाँ मोड लिएको छ । लगातार बजार घट्दा आहात भएकाहरुलाई नयाँ वर्षको सुरुवातमै निकै ठूलो राहत मिलेको छ । बजारमा एकाएक बहार आउन थालेपछि नयाँ वर्षको पहिलो ६ दिनको कारोबारमै नेप्से सूचक कुल १६०.९४ अंकले माथि गएको छ । लामो समयपछि कारोबार रकम पनि अर्ब भन्दा माथि जान थालेको छ । सूचकसँगै कारोबार रकममा पनि व्यापकता आउँदा थप आशा गर्ने ठाउँ भेटिएको हो ।
यसअघि दैनिक औसत २५ देखि ३० करोड हाराहारीमा सेयर कारोबार हुने गरेकामा अहिले अर्बभन्दा माथि कारोबार हुन थालेको छ । नयाँ वर्ष पछिको ६ दिनमा कुल ५ अर्ब ३१ करोड ९२ लाख ६० हजार ७३६ रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको देखिन्छ । ६ दिनमा भएको यति धेरै कारोबारले यसअघि भनिंदै आएको तरलता हाहकारको अवस्थालाई पनि चुनौती दिएको छ।
२०७५ सालको पहिलो कारोबार दिन (वैशाख २ गते) देखि सेमी अनलाइन प्रणाली कार्यान्वयनमा आएको छ । यस्तै, पूर्ण अनलाइनको काम पनि सक्ने तयारी हुँदैछ । यसले क्रमशः बजार प्रविधिमैत्री बन्दैछ भन्ने संकेत गर्दछ । लगानीकर्तालाई यी पक्षले पनि केही सकारात्मक बनाएको हुन सक्छ ।
यसैगरी, अब विस्तारै विकास निर्माणका कामले गति लिने भएकाले पनि बजारमा पैसा सहज हुने देखिन्छ । कारोबार रकमले अहिले जसरी नै निरन्तर साथ दिंदै गएमा बजारको वृद्धि टिकाउ हुने विश्वास गर्न सकिन्छ । बजारमा बैंक ब्याजदर र अधिक आपूर्तिको मार भने अझै बाँकी छ ।
तर बढेका बेला तरलता अभाव र अधिक आपूर्तिको पनि समस्या नहुने रहेछ भन्ने यसपटक बजारले सन्देश दिएको छ । बैंक ब्याजदर नघटे पनि सेयर कारोबार गर्नबाट लगानीकर्ता पछि हटेका देखिंदैन ।
-सिम्खडा प्रभु बैंक लि.केन्द्रिय कार्यालयमा कार्यरत हुनुहुन्छ ।