गजुरी र बेनिघाटबाट ५५ सय लिटर अवैध मदिरा नष्ट

1611 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

इलाका प्रहरी कार्यालय गजुरी धादिङले अबैध मदिरा नष्ट अभियान सञ्चालन गरेको छ । जेठ १० गत विहीबार विहान ०५ बजेको समयमा जिल्लाको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ रातमाटे स्थित झोलुङ्गे पुलमा बिक्रीका लागि लैजान लागिएको अवस्थामा प्रहरीले अवैध घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरेको हो ।
प्रहरी चौकी मलेखुका प्रहरी सहायक निरीक्षक हिराबहादुर गिरीको कमाण्डमा खटिएको ५ सदस्यिय प्रहरी टोलीले अन्दाजी २ सय ३० लिटर अबैध घरेलु मदिरा (रक्सी) नियन्त्रणमा लिएर बेनिघाट रोरांग गाउँपालिकाका प्रमुख पित्तबहादुर डल्लाकोटी (हरि), उपप्रमुख देबीप्रसाद सिलवाल , ३ नम्बर वडाका अध्यक्ष भुवन त्रिपाठी लगायत स्थानीय भद्र भलादमीहरुको रोहबरमा उक्त रक्सी नष्ट गरिएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।
यसै गरी बिहीवार विहान ११ बजेको समयमा जिल्लाकै गजुरी गाउँपालिका वडा नम्बर २ चालिसे स्थित पृथ्वीलोकमार्गमा रहेको बस्तीबाट अवैध घरेलु मदिरा (रक्सी) नियन्त्रणमा लिएर नष्ट गरेको छ । अवैध मदिरा प्रशोधन तथा बेचबिखन गर्ने गरेको सूचनाका आधारमा खोजिका लागि खटिएको १५ जनाको प्रहरी टोलिले उक्त स्थानमा ५ हजार लिटर भन्दा धेरै मदिरा बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरी टोलीले गजुरी गाउँपालिका वडा नं २ चालिसेको १३ घरवाट ७० लिटर जाने प्लास्टिकको जारमा अबैध घरेलु मदिरा बनाउन तयार परिएको कच्चा पदार्थ जम्मा ७० वटामा ४९०० लिटर र तयारी अवस्थामा रहेको २ सय ५० लिटर अबैध घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट गरिएको साथै रक्सी बनाउन प्रयोग भएको बिभिन्न भाडाँ वर्तनहरु १५ थान समेत कार्यालयले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सन्जय तिमिल्सीनाले जानकारी दिनु भयो ।

तस्बीर सौजन्य : इलाका प्रहरी कार्यालय धादिङ