जोगीमारा तिक्राङबाट त्रिशूलीमा ट्रक खस्दा २ जना बेपत्ता, १ घाइते

2541 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ जिल्लामा पर्ने  पृथ्वीराजमार्ग अन्तरगत बेनीघाट रोराङ गाउँपालिकाको जोगीमारा तिक्राङखानीबाट मालवाहक ट्रक त्रिशूली नदीमा  खस्दा  दुर्इ जना बेपत्ता भएका छन् भने एकजना घाइते भएका छन्।

सिमेन्ट बोकेर भैरहवाबाट काठमाण्डौतर्फ आउँदै गरेको ना ५ ख ३४१५ नम्बरको ट्रक गए राती १ वजे तिर जोगीमारा तिक्राङखानीबाट त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा बेपत्ता हुनेमा सिन्धुपाल्चोकका २७ वर्षीय ट्रकका चालक राजन श्रेष्ठ र सहचालक सोही ठाँउका श्याम  रहेका छन् । ट्रकका अर्का सहचालक तुलसी दुलाल भने सामान्य घाइते भएका छन ।

ट्रक सडकबाट करीब १५ मिटर तल खसी त्रिशूली नदीमा डुबेको जोगीमारा  प्रहरीले जानकारी दिएको छ । ट्रकको टायरमात्रै पानी बाहिर देखिएको छ ।  दुर्घटनामा बेपत्ता भएकाहरुको खोजीको लागि बिहानैदेखि प्रहरी परिचालन भएको छ ।

शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासीहरुको टोलीले दुर्घटना स्थलवरपर खोजी कार्य जारी राखेका छन् । त्रिशूली नदीमा भेल आएका कारण खोजी कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।