यस वर्षको मनसुन सुरु,सतर्क रहन अपिल

2229 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं- यस वर्षको मनसुन शुक्रबारबाट सुरु भएको छ । गत वर्ष भन्दा चार दिनअघि नै पूर्वबाट मनसुन नेपाल प्रवेश गरेको हो ।

यसपटक मनसुन १ सय १५ दिनसम्म सक्रिय हुने मौसमविद् सुवास रिमालले  जानकारी दिए । मनसुन ओक्टोबरको पहिलो सातासम्म कायम रहनेछ । नेपालमा सामान्यतया १० जुनमा मनसुन प्रवेश गरी २३ सेप्टेम्बरमा सकिन्छ ।

बंगालको खाडीबाट जलवाष्पयुक्त हावा पूर्वबाट पश्चिमतिर बहन थालेको मौसमविद् रिमालले बताए । देशैभर मनसुन सक्रिय हुन एक सातासम्म लाग्ने उनको भनाइ छ।

नेपालमा मनसुन पूर्वी नेपालबाट प्रवेश गरी पश्चिम नेपालसम्म पुग्छ । मनसुनको अन्त्य पश्चिम नेपाल हुँदै पुनः पूर्वी नेपाल पुगी अन्त्य हुन्छ। नेपालमा मनसुनका वेला ८० प्रतिशतसम्म वर्षा हुन्छ । बाँकी अन्य समयमा पर्ने गर्छ ।

यसपटक मनसुनसंगै उच्च जोखिम रहेकाले सबैलाई सचेत रहन मौसम विभागले अपिल गरेकाे छ । बाढीपहिरोबाट ठूलो क्षति हुन सक्ने भएकाले त्यसको न्यूनीकरण गर्न सरकारी संयन्त्रको सार्थक पहल जरुरी रहेको मौसम विभागका महानिर्देशक ऋषिराम शर्माले बताए ।

सरकार र विभिन्न गैरसरकारी संस्थाले विपद् जोखिम न्यूनीकरण तथा पूर्वतयारीको काम प्रभावकारी रूपमा अघि बढाउन नसक्दा मनसुनको समयमा विपद्ले भयावह रूप लिने गरेको छ । विपद्बाट वर्षेनी औसतमा ६ सय जनाको मृत्यु हुने गरेको गृह मन्त्रालयको तथ्यांक छ ।

-नेपाल समय डट कमबाट