खुल्यो शिक्षक सेवा आयोग,धादिङमा खुल्लामा १ सय १५, आरक्षणमा ९१ जना भिड्न पाउने

2044 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौंः शिक्षक सेवा आयोगले लामो समय पछि प्राथमिक तहमा खुला प्रतिष्पर्धाका लागि विज्ञापन खुलाएको छ । आयोगका अनुसार कुल ९ हजार ९ सय ९६ पदका लागि विज्ञापन आह्वान गरिएको हो । प्राथमिक तह, तृतिय श्रेणी शिक्षक पदपूर्तिका लागि विज्ञापन आह्वान गरिएको हो ।

विज्ञापन अनुसार धादिङ जिल्लामा खुल्लामा १ सय १५ जनाको लागि प्रतिष्पर्धा हुनेछ ।  महिला २९, दलित महिला १, मुस्लिम महिला १,आदिवासी जनजाती २५,मधेशी २१, दलित ८,अपाङ्ग ५ र पिछडिएको क्षेत्र ४ जना  आरक्षण रहेको छ ।

“हाल खुला प्रतिष्पर्धा अन्तर्गत प्राथमिक तहका लागि विज्ञापन आह्वान गरिएको छ, अन्यको हकमा पछि निर्णय गरिनेछ ।” आयोगका अनुसार खुलातर्फ ५ हजार ४९८, महिलातर्फ १ हजार ४२१, दलित महिलातर्फ ४९, मुस्लिम महिलातर्फ १७,आदिवासी÷जनजातीतर्फ १ हजार २१५, मधेशीतर्फ ९८६, दलिततर्फ ४०५, अपांगतर्फ २२५ र पिछडिएको क्षेत्रतर्फ १८० आरक्षण छुट्टाइएको छ ।

विज्ञापनमा उल्लेख भए अनुसार मान्यताप्राप्त शिक्षण संस्थाबाट प्रविणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेको, शिक्षा विषयमा कम्तीमा १० महिने तालिम लिएको वा शिक्षा शास्त्रमा प्रविणता प्रमाणपत्र तह वा सो रहरको परीक्षामा २ सय पूर्णांकको शिक्षा विषय लिइ उत्तीर्ण गरेको तर अपांगता भएका व्यक्तिले यो विज्ञापनका लागि तालिम नभए पनि उम्मेदवार हुन पाउने छन् ।

त्यस्तै स्थायी अध्यापन अनुमति पत्र, नेपाल नागरिक भएको तथा दरखास्त फारम बुझाउने अन्तिम मिति २०७५ साल असार ३० गतेसम्म १८ वर्ष उमेर पूरा भइ ४० वर्ष ननाघेको हुनुपर्नेछ ।

कार्यरत राहत शिक्षकका हकमा भने उमरको हद लाग्ने छैन् । कार्यरत स्थायी शिक्षकले समान पदमा उम्मेदवार हुन पाउने छैनन् ।आयोगका अनुसार लिखित परीक्षा असोज १३ गते हुनेछ ।