विकटको बस्तीमा पुगेर प्रहरीद्धारा गाँजा नष्ट

1497 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,११ असार – लागूऔषध दुरुपयोग एवं ओसारपसारविरुद्ध जनचेतना जागरण गर्न प्रहरीले धादिङको विकटको बस्तीमा पुगेर सयौ रोपनी क्षेत्रफलमा गरिएको गाँजा खेती नष्ट गरेको छ ।
असार ९ गते धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे नेतृत्वमा, धादिङका प्रहरी उपरिक्षक डम्मरबहादुर बिकका साथै सशस्त्र प्रहरी बल,इलाका प्रहरी कार्यालय खानीखोला र गजुरी लगायतका सुरक्षा निकायबाट खटिएका प्रहरी कर्मचारीको टोलीले अभियानका रुपमा गाँजा खेती नष्ट गरेको हो ।
प्रहरी टोलीले थाक्रे गाउँपालिका वडा नम्बर ५ पोखरेचौरमा अन्दाजी पाँच सय रोपनी र जिल्लाकै गजुरी गाउँपालिका वडा नम्बर ७ मा अन्दाजी १०० रोपनी गरी ६ सय रोपनी मकै वाली भित्र लगाईएको गाजाँको हरियो बोटहरु फडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङको अगुवाईमा जिल्लामा रहेका सबै सुरक्षा निकायहरुको सक्रियतामा लागुऔषध गाँजा नष्ट गर्ने अभियान संचालन गरेको हो । जिल्लाबाट अत्यन्त धेरै लागु औषध ओसार पसार हुने र यसको मुख्य मार्गको रुपमा पृथ्वीराजमार्ग र धादिङका विभिन्न अन्य सडक नाकाहरुलाई प्रयोग गर्ने क्रम बढेपछि स्थानीय प्रशासनले गाँजा खेती नष्ट गर्न थालेको हो ।
खेती हुने स्थानबाटै गाँजाखेती निर्मुल पार्नुपर्ने भन्दै यो अभियान सुरु गरिएको स्थानीय प्रशासनले जनाएको छ । धादिङका लागु ओसारपसारको मुख्य केन्द्रकै रुपमा परिचय बनाउदै आएको छ । विषेश गरी दक्षिणी धादिङका धेरै स्थानहरुमा लागुऔषध गाँजालाई त्यहाँका स्थानीयले मुख्य खेती रुपमा प्रयोग गर्दै आईरहेका छन । अबका दिन समुदायस्तरबाटै जन–चेतनामुलक कार्यक्रम संचालन गरी यस्ता गलत कामलाई निस्तेज पार्ने धादिङका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेको भनाई छ ।
धादिङ जिल्लाको राजमार्ग क्षेत्रबाट पक्राउ हुने अवैध लागु औषध गाँजा र चरेश दक्षिणी धादिङकै किरान्चोक, पिंडा,महादेवस्थान,थांक्रे लगायतका महाभारत क्षेत्रबाट आउने गरेको अनुसन्धानबाट देखिएकाले ति ठाउँमै पुगेर गाँजा खेती नष्ट गर्दै अब यसलाई नियन्त्रण र रोकथामका लागि उपायहहरु समेत खोजि गरिने धादिङका प्रहरी प्रमुख डम्बर विकले वताउनु भयो ।