४० हजार अमेरिकी डलरसहित धादिङमा एक पक्राउ

683 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, १४ असार । धादिङको थाक्रे गाउँपालिका–२ स्थित सिम्लेको अस्थायी प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले झोलामा ४० हजार अमेरिकी डलर (४४ लाख नेपाली रुपैंया बराबर) बोकेर शंकाष्पदरुपमा हिंडिरहेका आनन्द प्रकाश कलवारलाई पक्राउ गरेको छ । बुधबार दिउँसो १ बजे उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

प्रहरीले भनेको छ,  ‘पृथ्वी राजमार्गमा सवारी साधन तथा पैदल यात्रुहरुको चेकजाच गर्नेक्रममा काठमाडौंबाट गल्छीतर्फ जाने उदेश्यले झोला बोकी शंकास्पद अवस्थामा पैदल हिडी आईरहेका जिल्ला नवलपरासी, साविक मनरी गाविस वडा नं–२ हाल सरावल गाउँपालिका–३ वस्ने वर्ष २८ को आनन्द प्रकाश कलवारको शरीर तथा निजले बोकी ल्याएको झोला समेतको खानतलासी लिंदा निजले बोकी ल्याएको झोलावाट चालिस हजार अमेरिकी डलर (करिब ४४ लाख रुपैंया बराबरको) र निजको पाईन्टको खल्तीवाट २ वटा सिमकार्ड सहितको मोबाईल १ थानसमेत फेला परेकोले बरामदगरी आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय धादिङमा पठाईएको छ ।’

घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।