‘जुँगे झाँक्रीको भूत’ लिएर आए केशव दु्वाडीले

1111 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ – धादिङ जिल्लामा डेढ दशक अघि देखि साहित्य र पत्रकारिता पनि सक्रिय रहँदै आउनु भएका पत्रकार तथा साहित्यकार केशव दुवाडीको बालकथा संग्रह ‘जुँगे झाँक्रीको भूत’ सार्वजनिक भएको छ ।

 जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाल र प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले धादिङ वेसीमा आयोजित एक कार्यक्रममा कथा संग्रहको संयुक्त विमोचन गरेका थिए ।९ वटा कथा समावेश ‘जुँगे झाँक्रीको भूत’का विषयमा धादिङका अग्रज साहित्यकार बद्री प्रसाद दाहालले टिप्पणी गरेका थिए । कथा संग्रहमा समावेश भएका कथाबाट सामाजिक सन्देशका साथसाथै भरपुर मनोरञ्जन पनि पाउन सकिने दाहालले बताए ।

पुस्तक बारेमा बोल्दै कथाकार केशव दुवाडीले बालअधिकार र संरक्षणको क्षेत्रमा काम गर्ने क्रममा बालसाहित्य प्रति पनि रुची बढ्दै गएको र सोही क्रममा लेखिएका कथाहरु त्यति वेला विभिन्न पत्रपत्रिकामा पनि प्रकाशित भएका र सोही फुटकर कथाहरुको एकिकृत रुपबाट पुस्तक तयार भएको बताए ।प्रकाशित वालकथाले वालवालिकाहरुलाई नेपाली समाजलाई चिन्न सजिलो हुने कथाकार दुवाडीको भनाई छ ।

४० पृष्ठको कथा संग्रहमा ९ वटा कथा समावेश गरिएको छ । आवाज अभियान नेपाल नीलकण्ठ नगरपालिका धादिङले प्रकाशन गरेको कथा संग्रहको भूमिका नेपालबाल साहित्य समाजका उपाध्यक्ष डा.शैलेन्दु प्रकाश नेपालले लेखेका हुन् ।

नेत्रावती छापाखाना गल्छी धादिङले प्रकाशन गरेको पुस्तकको मुल्य १०० रुपैँया छ । यसैबीच कथामा देवेन्द्र थुम्केलीले चित्राङ्कन गरी कथालाई अझै जिवन्त पारिदिएका छन् । साहित्य र पत्रकारिताको साथै सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय रहेका दु्वाडी आवाज अभियान नेपाल गैर सरकारी संस्था मार्फत महिला तथा वालबालिकाको क्षेत्रमा कार्यरत छन । दुवाडीका साहित्यिक लेख रचनाहरु विभिन्न पत्रपत्रिकामा प्रकाशित हुंदै आईरहेका छन ।