कुरिनटारमा भाद्र २६ देखि प्रथम इच्छाकामना महोत्सव हुने

2263 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

चितवन,५ भदौ – धादिङको वेनिघाट रोराङ गाउँपालिका संग सिमाना जोडिएको चितवनको इच्छाकामना गाँउपालिकामा पहिलो पटक इच्छाकामना महोत्सव -२०७५ हुने भएको छ । इच्छाकामना गाँउपालिका वडा नं ४ कुरिनटार स्थित सर्वशान्ति माविको खेल मैदानमा २०७५ भदौ २६ गते मंगलबार सुरु भएर  असोज ६ गतेसम्म संचालन हुने महोत्सवबारे मंगलवार चितवनको चुम्लिङटारमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको हो ।

महोत्सवको आयोजना इच्छाकामना उद्योग वाणिज्य संघ मुग्लिन र इच्छाकामना एफएम कुरिनटारले संयुक्त रुपमा गर्दैछन् ।महोत्सवको संरक्षकमा इच्छाकामना गाउँपालिका र प्रवद्र्धकमा उद्योग वाणिज्य संघ चितवन रहेका छन् ।

धादिङ, गोरखा, तनहुँ र चितवनका पत्रकार सम्मिलित कार्यक्रममा दिइएको जानकारी अनुसार महोत्सवमा साँस्कृतिक कार्यक्रम, तीज गीत प्रतियोगिता, इच्छाकामना डान्स आइडल लगायतका रमाइला कार्यक्रम प्रमुख आकर्षणको रुपमा रहेका छन् । यीबाहेक पर्यटन अन्तर्गत सिराइचुलीसम्मको पदयात्रा, कृषि उत्पादनको प्रदर्शन, हस्तकला, नेपाली सँस्कृति र परम्पराको प्रदर्शन हुने महोत्सव सहसंयोजक प्रताप गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवमा करिब एक सय ५० वटा स्टल रहने छन् । पर्यटन, कृषि, उद्योग र व्यापारको प्रवद्र्धनका लागि महोत्सवको आयोजना गरिएको हो ।

इच्छाकामना महोत्सव आयोजना गर्दा ४४ लाख ३० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । महोत्सवमा रहने स्टलको भाडा, महोत्सव प्रवेश टिकट, बाल उद्यान, विभिन्न प्रायोजक लगायतका क्षेत्रबाट कूल ५७ लाख ५० हजार रुपैयाँ आम्दानी हुने अनुमान आयोजकको छ । खर्च कटाएर बचेको रकमको २० प्रतिशत रकमले इच्छाकामना छात्रवृत्ति कोष स्थापना गरिने अर्का सहसंयोजक कल्याण गुभाजुले बताउनु भयो ।

पत्रकार सम्मेलनमा इच्छाकामना गाउँपालिका प्रमुख गीताकुमारी गुरुङले महोत्सवको नाममा कुनै विकृति हुन नदिइने बताउनु भयो । उहाँले गाउँपालिकामा पर्ने नारायणगढ मुग्लिन सडक खण्ड र पृथ्वी राजमार्गको केही भागमा सडक किनारमै फोहोर फाल्ने काम नियन्त्रण गरिएको बताउनु भयो । महोत्सव संयोजक कृतिकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा आरबी लामा, चन्द्रमणि सापकोटा लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कृषि,पर्यटन,उद्योग र व्यापारको प्रवर्दन गर्ने उदेश्यले महोत्सव आयोजना गरिएको महोत्सव मुल समारोह समितिका संयोजक कृतिकुमार श्रेष्ठले बताउनु भयो  । महोत्सव मार्फत कृषिमा व्यवसायीकरण तथा आधुनिकिकरण,पर्यटन उद्योगको प्रवद्र्धन तथा उद्योग व्यापारको प्रवद्र्धन गरिने उहाँले कार्यक्रममा बताउनु भयो । इच्छाकामना मन्दिर,लामो झरना जलविरे,एतिहाँसिक उपरदाङगढी,चेपाङ होमस्टे,त्रिशुलीमा ¥याफ्टीङ,सिराइचुली,पाथीभरा सिंहदेवी माई मन्दिर लगाएतका मुख्य पर्यटकिय क्षेत्रको प्रचार–प्रसार र प्रवद्र्धनमा महोत्सव केन्द्रित रहने संयोजक श्रेष्ठको भनाई छ ।

महोत्सवमा १ सय ५० भन्दा बढि स्टलहरु रहने र करिव १ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा राखिएको महोत्सवका सह–संयोजक प्रताप गुरुङले जानकारी दिनु भयो ।  प्रथम इच्छाकामना डान्स आईडल २०७५,वृहत तीज गीत प्रतियोगिता र स्थानिय तथा राष्ट्रिय कलाकारको विशेष प्रस्तुती महोत्सवको आकर्षणका केन्द्रको रुपमा रहने गुरुङले बताउनु भयो । महोत्सवमा फोहोरवाट मोहोर बनाउने इकोसान प्रविधिवारे समेत जानकारी गराइने आयोजकले जनाएको छ ।