जग्गा छ पूर्जा छैन,-भूकम्प पीडित चेपाङ समुदाय पर्‍यो विभेदमा

1349 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

सीताराम अधिकारी

धादिङ ( बेनीघाट‌ )- ‘भत्केकै भए पनि घर छन्। हाम्रो जग्गा छ तर जग्गाधनी पूर्जा छैन’ पूर्णबहादुर चेपाङले दुखेसो पोखे, ‘पूर्जा नभएकै कारण हामी भूकम्प पीडितलाई दिनुपर्ने राहत दिइएन। हामीमाथि अन्याय भयो।’

 गाउँबासी सबैको आवास पुनःनिर्माण लाभग्राही सूचीमा नाम भएर पनि घर बनाउन नपाएपछि बेनिघाट रोराङ गाउँपालिका–२ पार्लाक, भैँसे र बाङकूर्तिका चेपाङ समुदायका सबै सदस्य पूर्णबहादुर जस्तै आक्रोशित छन्।

भूकम्पले ध्वस्त भएको बस्तीमा पुनःनिर्माण प्राधिकरणबाट आएका प्राविधिक टोलीले घरको सर्वेक्षण गरे। अनुदान सम्झौता पनि भयो। तर, जग्गाको लालपूर्जा नहुँदा उनीहरूले घर बनाउन नपाएपछि बेचैनी पैदा भएको छ।

‘सूचीमा नाम छ, पटक पटक वडा कार्यालय गइयो, अरु ठाउँमा पनि धाइयो तर हामी गरीबलाई कसैले पनि टेरेन’ जीतबहादुर चेपाङको अनुहारमा हैरानीको छाया देखियो, ‘हाम्रो गाउँ नै अन्यायमा छ। हाम्रो आवाज कसैले सुनेन।’

हामीले भूकम्प पीडित गाउँहरु जो लाभग्राहीको सूचीमा थिए, उनीहरुको नाउँ खोज्यौं। सूचीमा हस्तबहादुर चेपाङ, सुकरा चेपाङ, सुकरामबहादुर चेपाङ, सोमसिं चेपाङ, चन्द्रबहादुर चेपाङ, दीपलाल चेपाङ र सोमबहादुर चेपाङको नाम थियो। सूचीमा नाम हुने कसैले पनि आफूले लाभ प्राप्त गरेको बताएनन्।

 पार्लाकका शुकराम चेपाङ, लालबहादुर चेपाङ, दीलबहादुर चेपाङ, वीरबहादुर चेपाङ, शेरबहादुर चेपाङ, विक्रम चेपाङ, आइतसिं चेपाङ, जगतबहादुर चेपाङ, रुपबहादुर चेपाङ, र धनबहादुर चेपाङको नाम पनि पुनःनिर्माणको सूचीमा रहेछ।

‘अनुदान रकम दिन्छ भन्ने सुनेको हो तर पाइएको छैन’ रुपबहादुर चेपाङले भने, ‘हामी सुकुम्बासी जस्तो भनेर हेपेका होलान्।’

हुन पनि यो चेपाङ वस्तीमा भएका कसैको पनि लालपूर्जा रहेनछ। यसको खास कारण के रहेछ? हामीले बुझ्न खोज्यौं।

भएको के रहेछ भने, ०३२ सालमा पार्लाक र बाङकुर्ती गाउँमा नापी पुगेको रहेछ। बागमती अञ्चल, धादिङ जिल्ला लोथर कान्द्राङ पञ्चायत वडा नं ४ को ठेगानामा नापी पनि भएको रहेछ। पछि नापीको यो ठेगाना चितवन जिल्लाभित्र पारिएछ। सोझा चेपाङहरुले जग्गाको पूर्जा नपाउँदै सीमानाको हेराफेरीका कारण यी गाउँहरुको दस्तावेजीकरण अलपत्र परेछ।

 ‘जग्गाको नापी छैन। जग्गाको पूर्जा पनि छैन। हामीलाई धादिङ चाहिन्छ। चितवन जाँदैनौँ, रुपबहादुर चेपाङले भने, ‘यसमा जसले गडबड गर्न खोजेको छ त्यो हामीलाई मान्य छैन।’
धादिङ जिल्लाको तर्फबाट नापी भएको जग्गा पछि चितवनतर्फ सो गाउँ राखिएपछि चितवनमा नापीको श्रेस्ता गएकाले धादिङबाट केही गर्न नसकिएको वडाध्यक्ष टंकबहादुर थापाले बताए। भने, ‘गाउँपछि धादिङतर्फ परेपछि चितवनमा भएको श्रेस्ता धादिङ आएको छैन।’


 चेपाङ समुदायका आफ्नै दुःख र व्याथा छन्। दिनभर काम नगरी छाक टर्दैन। आर्थिक अवस्था दयनीय छ। खानकै लागि सङ्घर्ष गरिरहनु परेकाले पनि यहाँका चेपाङहरुले जग्गाधनी पूर्जा बनाउन सामूहिक पहल र केन्द्रसम्म ‘लविङ’ गर्न सकेनन्। अहिलेसम्म बनेका कुनै सरकारले उनीहरूको गुनासो सुन्ने फुर्सद नै निकालेनन्।

‘भूमिकर नतिरेकाले उनीहरूले अहिले आफ्नो नाममा जग्गा ल्याएर घर बनाउन नसकेका हुन्’ वडाध्यक्ष थापाले भने, ‘यसबारे सबैतिर कुरा उठ्न थालेको छ, अब केही होला कि?’

-रासस