देशभरका साढे ३४ हजार स्थायी शिक्षक नियुक्ति हुँदै

1146 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं, १० भदौ –देशभरका सामुदायिक विद्यालयमा साढे ३४ हजार स्थायी शिक्षक भर्ना हुँदैछन् । शिक्षक सेवा आयोगले आन्तरिक र खुला गरी यति ठूलो संख्यामा स्थायी शिक्षक नियुक्त गर्न लागेको हो।

विद्यालयमा कार्यरत अस्थायी शिक्षकबीच आन्तरिक प्रतिस्पर्धा मार्फत स्थायी गराउने परीक्षा २०७५ असार २९ र ३० गते आयोगले लिइसकेको छ। प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहमा गरेर २२ हजार ७६ पदका लागि विज्ञापन गरिएकोमा २३ हजार ३०० जना अस्थायी शिक्षकले आवेदन फारम भरेका थिए । तर परीक्षामा भने २२ हजार २०० जना मात्र सहभागी भए । निमावि तहमा विज्ञापन गरिएको पदभन्दा ५३० र माध्यमिक तहमा १०१३ बढी दरखास्त परेको थियो।

यसैगरी खुलातर्फ १२ हजार ७५२ दरबन्दीमा २ लाख २६ हजार ९०० ले आबेदन दिएका छन्। खुला विज्ञापनको लिखित परीक्षा आगामी असोज ११–१३ गते हुँदैछ। खुला प्रतिस्पर्धाका लागि आन्तरिक प्रतिस्पर्धाबाट बचत भएका ३ हजार २६ दरबन्दी, २५ प्रतिशत खुलाबाट आएका २ हजार ६६७ तथा २०७२ पछि रिक्त ७ हजार ५९ गरी १२ हजार ७५२ दरबन्दी रहेका छन्। आयोगका अनुसार प्राविमा १ लाख ५९ हजारको आवेदन परेको छ भने निमाविमा ८१ हजार र माविमा ४० हजारको आवेदन परेको छ।

२०७० सालपछि यति ठूलो संख्यामा आयोगले खुला विज्ञापन गरेर परीक्षा लिन लागेको हो । खुला प्रतिस्पर्धाबाट शिक्षक छनोट हुँदा विद्यालय शिक्षामा योग्य र सक्षम युवा पुस्ता भित्रिने छन्। यसबााट समग्र शैक्षिक गुणस्तरमा सुधार हुनेछ। आन्तरिकको परीक्षा भइसकेको र खुलाको तयारी अन्तिम चरणमा पुगेका कारण परीक्षापछि लामो समयदेखि व्याप्त अस्थायी शिक्षक समस्या हल हुने भएको स्पेसखबरमा खबर छ ।

आयोगका अध्यक्ष ताना गौतमका अनुसार भदौ अन्तिमसम्म आन्तरिक परीक्षाको सबै तहका उत्तरपुस्तिका परीक्षण गरिसकिनेछ । ढिलोमा असोज अन्तिम सातासम्म लिखित परीक्षाको नतिजा प्रकाशित गर्ने अध्यक्ष गौतमले बताए। लिखित परीक्षाको नतिजा प्रकाशित भएकै दिन अन्तर्वार्ताको सूचना समेत प्रकाशित गरिनेछ । अन्तर्वार्ताको नतिजा कात्तिक मसान्तभित्र प्रकाशित गरेर आयोगले नियुक्तिका लाग सिफारिस गर्ने उनले बताए।

सबै शिक्षकले आफूले चाहेका विद्यालयमा पढाउन पाउने छैनन् । तर प्रावि तहका शिक्षले भने यो सुबिधा पाउनेछन् । निमावि र माविका शिक्षकलाई उत्कृष्टताका आधारमा विद्यालय छनोट गर्न दिइनेछ।

लिखित परीक्षामै फेल भएका वा लिखितमा पास भएर अन्तर्वार्तामा फेल भएका अस्थायी शिक्षकले अब फेरी अर्को परीक्षा दिन पाउने छैनन्। तर परीक्षामा फेल भएका शिक्षकले एकमुष्ट राहत भने पाउने छन्। शिक्षा ऐन नवौं संशोधनले परीक्षामा सहभागी भएर अनुत्तीर्ण हुने शिक्षकलाई समेत एकमुष्ट राहत रकम दिने व्यवस्था गरेको छ । एकमुष्ट सुविधामा एक जना शिक्षकले बढीमा ३० महीनाको तलब बराबरको पैसा पाउनेछन्। सबै शिक्षकलाई एकमुष्ट रकम दिनका लागि रु.७ देखि १० अर्ब लाग्ने शिक्षा मन्त्रालयको अनुमान छ ।