गजुरीमा रहेको प्रसूति प्रतिक्षा घर नमूना ‘प्रसूति’ घर बन्दै

1341 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

गजुरी : गजुरी गाउँपालिकाले संचालन गरेको ‘प्रसूति-प्रतिक्षा घर’ लोकप्रिय र नमूना बन्दै गएको छ । गर्भवती महिलाको स्वास्थ्य र सुरक्षाका लागि गाउँपालिकाले आफ्नै खर्चमा संचालन गरेको घरमा चिकित्सकले बच्चा जन्मने अनुमानित मिति तोकिदिएका महिलालाई राख्ने गरिन्छ।उनीहरुले स्वास्थ्य संस्थामै बच्चा जन्माउने गर्दछन्।

साविकको ४ वटा गाउँ विकास समिति मिलेर बनेको गजुरी गाउँपालिकाको राजमार्गभन्दा बाहिरी क्षेत्रमा सीमान्तकृत चेपाङ र विपन्न वर्गका स्थानीयको बसोबास रहेको छ। गाउँमा रहेका महिलाले बच्चा जन्माउने बेलामा भोग्ने गरेको दुःख कष्ट र समस्याको समाधान गराउने पहलस्वरुप गाउँपालिका आफैले प्रसूति प्रतीक्षा घर संचालन गरेको हो।

बच्चा जन्माउनुअघि आएर बस्ने महिलाको खानेबस्नेलगायतको सम्पूर्ण खर्च गाउँपालिकाले नै ब्यहोर्ने गरेको छ। प्रसूती प्रतीक्षा घर गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्र नजिकै संचालन गरिएको छ। गर्भवती महिलालाई व्याथा लाग्ने वित्तिकै स्वास्थ्य केन्द्रमा लैजाने गरिन्छ।

आमा र बच्चाको सुरक्षा र घरमा हुने सुत्केरी शून्य बनाउनका लागि प्रतिक्षा घर संचालन गरिएको गजुरी गाउँपालिकाकी उपाध्यक्ष सीता ढुङगानाले बताइन्। उनले भनिन्, ‘गर्भवती महिलाको लागि सबैभन्दा ठूलो चुनौती भनेको बच्चालाई स्वस्थ र सुरक्षित जन्म दिनु हो।घरमा हुने सुत्केरी शून्यमा झार्ने अभियानस्वरुप हामीले प्रसूति प्रतिक्षा घर संचालनमा ल्याएका हौँ।’

गाउँका महिलामा जनचेतना कम हुँदा गर्भवती र सुत्केरी अवस्थामा हुने लापरबाहीबाट आमा र बच्चा जोगाउनको लागि नयाँ उपाय अबलम्बन गरिएको ढुङगानाले बताइन्। प्रसूति प्रतिक्षा घरमै बच्चा जन्माउने दिनको प्रतिक्षामा रहेकी गजुरी गाउँपालिका- १ आदामाराकी संविता चेपाङले भनिन्, ‘मेरो यो तेस्रो बच्चा हो, दुईवटा बच्चा घरमै जन्माएँ, अहिले स्वयंसेवीका दिदीले स्वास्थ्य संस्थामा जानुपर्छ भन्नुभएकाले यहाँ आएर बसेकी हुँ।’

गाउँपालिकाले गर्भवती महिलाको लागि संचालन गरेको यो सेवाले स्थानीयबासीलाई पनि खुसी बनाएको छ। गाउँपालिकाले संचालन गरेको नयाँखाले सेवाले विशेषगरी सीमान्तकृत, विपन्न चेपाङ समुदाय र सहजै अस्पतालको पहुँचमा पुग्न नसक्ने र ग्रामीण क्षेत्रका महिलालाई पनि फाइदा हुने  ४ का वडा अध्यक्ष राजकुमार भुजेलले बताए। जनतालाई कर मात्रै लगाउने होइन जनताका लागि सेवा पनि दिनुपर्छ भन्ने भावनाले गाउँपालिकाको आफ्नै खर्चमा प्रसूति प्रतीक्षा घर संचालन गरिएको गाउँपालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले बताए।

गभर्वती महिलामा जुनसुकै बेला जटिल अवस्था आउन सक्ने भएकाले ज्यानै जानसक्ने अवस्थालाई मध्यनजर गरेर गर्भवती महिला लक्षित सेवा सुरु गरिएको गजुरी गाउँपालिकाका स्वास्थ्य संयोजक चिकित्सक रामहरी रेग्मीले बताए। उनले भने, ‘सबै वडामा गाउँपालिकाले गर्भवती महिलाको सुविधाको लागि संचालन गरेको प्रतिक्षा घरबारे स्वास्थ्य स्वयं सेविकालाई खटाएका छौँ।’

प्रसूति प्रतिक्षा घर ४ शैयाको छ । यसै आर्थिक वर्षदेखि शैया बढाएर थप सेवा सुविधा दिने गाउँपालिकाले जनाएको छ। त्यस्तै गाउँपालिकाले सुत्केरी र गर्भवती महिलाले प्रयोग गरेको एम्बुलेन्स सेवा शुल्क लिने गरेको छैन।

  • अन्नपूर्ण पोष्टबाट