त्रिशूली नदीमा डुवेर बालुवा झिक्ने मजदुरको मृत्यु

2541 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, १८ भदौ : नदीमा अवैध ढंगबाट वालुवा निकाल्न मेशिन प्रयोग गरेका कारण बनेको खाल्डोमा डुवेर सोमबार धादिङको गजुरी गाउँपालिका वडा नम्बर ६ स्थित त्रिशूली नदीबाट वगाएर एक बालुवा झिक्ने मजदुरको ज्यान गएको छ ।
रातीको समयमा मेशिन लगाएर वालुवा झिक्दा भएको खाल्डोमा फसेपछि नदीले वगाउँदा जिल्लाको सिद्धलेक गाउँपालिका वडा नम्बर –७, निवासी २८ बर्षका प्रकाश थापा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक डम्बरबहादुर विकले जानकारी दिनुभयो ।
सोमबार दिउँसो गजुरी गाउँपालिका वडा नम्बर –६, बेल्खुस्थित त्रिशूली नदीबाट बालुवा झिक्ने क्रममा डुवेका थापालाई नदीले वगाएको सङ्गै नदीमा डुवेका उत्तम थापाले बताउनु भयो । नदीमा पस्दै गर्दा एक्कासी गहिरो खाल्डोमा आंफुहरु फसेकाले यो ठाउँमा रातको समयमा स्काभेटर लगाएर वालुवा निकालेको हुन सक्ने उत्तमको भनाई छ ।
घटनापछि प्रहरी, स्थानीयवासी र मजदुरले थापाको खोजी गरेका थिए । थापालाई नदीले वगाएर मृत्यु भएको अवस्थामा भेटिएको थियो । यस बर्षको बर्षा याम लागेपछि गल्छी र गजुरी गाउँपालिका स्थित त्रिशूली नदीमा ३ जना मजदुरको अकालमा ज्यान गईसकेको छ । यहाँ वालुवा निकाल्ने अधिकांश मजदुर स्थानीय वालुवा व्यवसायीको कामदारका रुपमा कार्यरत रहेपनि दुर्घटना भएपछि व्यवसायीहरुले आफ्नो कामदार नभएको भन्दै पन्छिने गरेको मजदुरहरुको भनाई छ । वालुवा झिक्न अनुमति लिनु पर्छ, आंफुले गरेको परिश्रमको आँफैले मुल्य राख्न पाईदैन, ठेकेदारले तोकेको शुल्कमा वालुवा बिक्री गर्न आँफुहरु वाध्य हुनुपर्ने अवस्था रहेको गल्छी ६ छोटेवगरमा वालुवा झिक्दै आईरहेका राई थरका एक मजदुरले गुनासो पोखे ।
स्थानीय तहले नदी जन्य सामाग्रीको बिक्री बितरणलाई पालिकाको मुख्य आम्दानीको श्रोतका रुपमा राखेपनि जोखिममा काम गर्ने मजदुरको हक हितका निक्ति भने कुनै योजना समेत वनाएका छैनन ।