लाभग्राही सूचीमा परेकामध्ये अझै ९१ हजारले पाएनन् पहिलो किस्ता 

1158 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । ०७२ को भूकम्पपछि घरबार गुमाएर पुनर्निर्माणका लागि लाभग्राही सूचीमा परेकामध्ये अझै ९१ हजार ८ सय ८ नागरिकले पहिलो किस्ता पाउनसकेका छैनन् । प्राधिकरणका अनुसार लाभग्राही सूचीमा परेका ८ लाख ७ हजार ४ सय ८६ मध्ये ७ लाख १५ हजार ६ सय ७८ घर धनीले पहिलो किस्ता पाएका छन् ।

भूकम्पपछि गरिएको सर्वेक्षणमा कम र बढी प्रभावित ३२ जिल्लामा कुल ९ लाख ९६ हजार ५ सय ८२ घरधूरी सर्वेक्षण गरिए पनि ८ लाख ७ हजार ४ सय ८६ मात्रै लाभग्राहीको सूचीमा अटाएका थिए । प्राधिकरणले दिएको बिहीबारसम्मको तथ्यांकअनुसार हालसम्म ४ लाख ९२ हजार ७ सय ३१ घरधनीले दोस्रो किस्ता र २ लाख ४९ हजार १ सय ९६ घरधनीले तेस्रो किस्ता लिएका छन् ।

यसैबीच, बिहीबार बसेको प्राधिकरण निर्देशक समिति बैठकले आगामी पुसभित्रै पहिलो किस्ता लिएकालाई दोस्रो र ०७६ वैशाखभित्र तेस्रो किस्ता लिने समयसीमा तोकेको छ ।

प्राधिकरणका अनुसार प्रबलीकरण सूचीमा परेका लाभग्राहीको संख्या ५२ हजार ५४ रहेको छ भने हालसम्म प्राधिकरणले ७ लाख २३ हजार २ सय ५२ घरधनीसँग अनुदान सम्झौता गरिसकेको छ । तर सम्झौता गरेकामध्ये पनि अझै ७ हजार ५ सय ७४ घरधनीले पहिलो किस्ता हात पार्न सकेका छैनन् ।

निजी आवास पुनर्निर्माणतर्फ 
यता निजी आवास निर्माणतर्फ हालसम्म २ लाख ८३ हजार ८ सय ७ घर निर्माण गरिएको छ भने ५ लाख ४८ हजार ४ सय ९९ घर निर्माणकै क्रममा रहेको प्राधिकरणले जानकारी दिएको छ ।

यो बीचमा ५ लाख १६ हजार ४२ घरधनीले दोस्रो किस्ताका लागि निवेदन दिएकोमा ५ लाख ३ हजार ८ सय ८५ को दोस्रो किस्ता प्रमाणीकरण गरिएको छ भने तेस्रो किस्ताका लागि २ लाख ९८ हजार ७ सय ५४ ले निवेदन दिएकामा २ लाख ८७ हजार ७ सय ४६ घरधनीको तेस्रो किस्ताबापतको रकम प्रमाणीकरण भएको छ ।

सार्वजनिक पुनर्निर्माणमा प्रगति न्यून 
भूकम्पको तीन वर्ष बितिसक्दा सरकारले सार्वजनिक भवन पुनर्निर्माणमा लक्ष्यअनुसार प्रगति गर्न सकेको छैन । प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार सार्वजनिक भवन पुनर्निर्माणमा ४ सय १५ भवनको लक्ष्य राखिएकोमा पुनर्निर्माण र प्रबलीकरणमा ३ सय ९३ वटा मात्रै परेका छन्, जसमा १६ वटाको पुननिर्माण र २ सय ३२ वटाको प्रबलीकरण गरिएको छ भने पुनर्निर्माण भइरहेकामध्ये १ सय २६ भवनको पुनर्निर्माण र २६ वटाको प्रबलीकरण जारी रहेको छ ।

शैक्षिक संस्थातर्फ 
त्यसैगरी ७ हजार ५ सय ५३ शैक्षिक संस्थाको पुनर्निर्माण लक्ष्य राखिएकामा ३ हजार ८ सय १६ को सकिएको तथा २ हजार ३ सय ६९ को पुनर्निर्माण जारी रहेको प्राधिकरणको भनाइ छ ।

सांस्कृतिक सम्पदातर्फ 
यता सांस्कृतिक सम्पदा पुनर्निर्माणतर्फ ७ सय ५३ को लक्ष्य राखिएकामा १ सय ८५ वटाको मात्रै पुनर्निर्माण सकिएको छ भने ३ सय ९ वटाको पुनर्निर्माण जारी रहेको छ ।

स्वास्थ्य संस्थातर्फ 
त्यसैगरी स्वास्थ्य संस्थातर्फ ११ सय ९७ वटाको पुनर्निर्माण लक्ष्य राखिएकोमा ६ सय ४३ को पुनर्निर्माण सकिएको छ भने १ सय ४५ को पुनर्निर्माण जारी छ । यसमा पुनर्निर्माण र प्रबलीकरण परेको प्राधिकरणले जनाएको छ ।

सुरक्षा निकायतर्फ 
यता सुरक्षा निकायको क्षतिग्रस्त भवनको पुनर्निर्माणमा प्राधिकरणले ३ सय ८३ को लक्ष्य राखे पनि अहिलेसम्म ९३ वटाको मात्रै पुनर्निर्माण सकेको छ भने १ सय १२ वटाको पुनर्निर्माण भइरहेको छ ।

खानेपानी पूर्वाधारतर्फ 
भूकम्पले क्षति पुर्याएको खानेपानी पूर्वाधारतर्फको पुनर्निर्माणमा प्राधिकरणले ३ हजार २ सय १२ वटा पुनर्निर्माणको लक्ष्य राखे पनि काम भने ७ सय ९१ मात्रै सकेको छ । ६ सय ७० वटाको पुनर्निर्माण जारी रहेको प्राधिकरणको भनाइ छ ।

७१ हजार गुनासो पुनरवलोकन भएन 
यसैबीच, प्राधिकरणमा परेका २ लाख ७७ हजार १ सय ८४ मध्ये २ लाख ५ हजार ५ सय ८४ गुनासो पुनरवलोकन तथा फछ्र्योट भएको छ । यसमध्ये ७१ हजार ६०० गुनासो पुनरवलोकन नभएको प्राधिकरणले जनाएको छ ।

सरकारले ०७२ को भूकम्पमा प्रभावित नागरिकलाई पहिलो, दोस्रो र तेस्रो किस्ता गरी कुल ३ लाख अनुदान रकम दिने निर्णय गरेको थियो । जसअनुसार रकम लिनेले घर बनाउनै पर्ने र त्यसरी पहिलो किस्ता लिएर घर नबनाउनेहरुको अनुगमन गरी सरकारले उनीहरुबाट रकम असुल्ने समेत बिहीबार बसेको प्राधिकरणको निर्देशक समिति बैठकले निर्णय गरेको छ ।