नीलकण्ठ नगरपालिकामा नगरप्रमु्खको कार्यशैलीप्रति उपप्रमुख सहित ८ वटा वडाका अध्यक्षहरुको असहमती

3104 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

नीलकण्ठ -नीलकण्ठ नगरपालिकाको निर्णय प्रकृया नगर प्रमुखबाट एकलौटी ढंगले हुने गरेको भन्दै ८ वटा वडाका अध्यक्ष सहित उपप्रमुख र कार्यपालिकाको १ जना सदस्यले लिखित रुपमा असहमति राखेका छन ।
नगर उपप्रमुख शैलेश भण्डारीको अध्यक्षतामा मंगलबार विहान धादिङबेसीमा भएको पत्रकार सम्मेलनमा नगरपालिकाका ८ जना वडा अध्यक्ष र एक जना कार्यपालिका सदस्यले नगरप्रमुखको कार्यशैली प्रति असहमति जनाएका हुन ।
नगरप्रमुख भिमप्रसाद ढुंगानाले सहमती र सहकार्यको साटो बहुमत सदस्यको साथ लिई कानूनको ठाडो उल्लंघन गरी एकलौटी ढंगबाट गैर कानूनी कार्यको सुरुवात गरेको पत्रकार सम्मेलनमा वताईएको थियो । नगरपालिकाको २४ जना सदस्यहरु मध्ये ८ वटा वडाका वडाअध्यक्ष सहित उपप्रमुख र १ जना कार्यपालिका सदस्यले नगर प्रमुख ढुंगानाको कार्यशैली प्रति असहमति जनाएका छन् । यसरी असहमती जनाउनेहरुमा उपप्रमुख मनराज भण्डारी, १ नम्बर वडाका अध्यक्ष गणेश गुरुङ, २ नम्बर वडा अध्यक्ष ध्वजवहादुर गुरुङ, ५ नम्बर वडाका अध्यक्ष रामकुमार श्रेष्ठ, ६ नम्बर वडाका अध्यक्ष उद्धव रिजाल, १० नम्बर वडाका अध्यक्ष विजयराज इटनी, ११ नम्बर वडाका अध्यक्ष तिलकवहादुर थापा मगर, १२ नम्बर वडाका अध्यक्ष बाबुराम लम्साल, १४ नम्बर वडाका अध्यक्ष फन्द्रा तामाङ र कार्यपालिका सदस्य कमला श्रेष्ठ रहेका छन ।
नगरपालिका भित्र बिद्यालय व्यवस्थापन समिति गठन प्रक्रियामा नगर कार्यपालिकाले १ महिला सहित २ जना मनोनित गरी सिफारिश गर्नका लागि नगर शिक्षा ऐनको परिच्छेद ५ को दफा २६ को बुंदा १ को ख मा गरिएको व्यवस्था लाई वेवास्ता गरी असार २० गते २५ वटा बिद्यालयमा नगरप्रमु्खले शिक्षा अधिकृत मार्फत एकलौटी रुपमा २ सदस्य मनोनित गरेको भन्दै असहमति जनाईएको छ ।
यसै गरी गएको असार १० र ११ गते भएको नगरसभाबाट पारित भएका ३३ वटा निर्णय रातो कितावमा समावेश गरिनुपर्नेमा असार ९ गते एकलौटी ढंगबाट गरिएका निर्णय मात्रै नगरप्रमुखले प्रमाणित गरी समावेश गरिएकोमा उक्त कार्यप्रति आंफुहरुको पूर्ण असहमति रहेको वताईएको छ ।
यसै गरी नगरप्रमुखको कार्यशैली प्रति असहमति राख्ने पक्षले पदपूर्ति समिति गठन गर्दा वैठकमा प्रस्ताव विनानै निर्णय गरी प्रमाणित गरिएको,पूर्वाधार विकास समिति गठन गर्दा वैठकमा जानकारी नै नदिई आंफुखुसी निर्णय गरेर प्रमाणित गरिएको भन्दै उनिहरुले असहमति जनाएका छन् ।
स्थानीय सरकार संचालन ऐन परिच्छेद ११ को दफा ८४ को उपदफा २ ज मा नगरकार्यपालिकाको निर्णय प्रमाणित गर्ने अधिकार प्रमुख प्रशासकीय अधिकृतलाई रहेकोमा हाल सम्मका सबै निर्णयहरु नगरप्रमुखबाट प्रमाणित गरिएको असहमती जनाउने पक्षको आरोप छ ।
नगरसभाले २० लाख भन्दा माथिका वजेट भएका भौतिक पूर्वाधारहरुको योजना कार्यान्वयन गर्ने निर्णयमा छलफल विनानै निर्णय गरी नगर प्रमुखबाट प्रमाणित गरिएको , बैठकमा कुनै छलफल र निर्णय समेत नगराई प्रमुखले तारजाली,पाईप, विजुलीको पोल लगायतका पूर्वाधार विकासका सामाग्रीहरु आँफुखुसी वितरण गर्ने गरेको पत्रकार सम्मेलनमा उपप्रमुख भण्डारीले जानकारी गराए ।
यसै गरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ३ को दफा १२ को खण्ड ङ वमोजिम वडा समितिबाट सम्पादन हुने सिफारिस तथा प्रमाणित गर्ने अधिकारमाथि हस्तक्षेप गरि ऐन विपरित नगरप्रमुखले नगरभित्रका आयोजनाहरुको सम्झौता र फरफारक गर्न सिफारिस गर्ने गरेको नगर प्रमुखको कार्यशैली प्रति असहमती जनाउने वडाअध्यक्षहरुको आरोप छ ।
नगरपालिका भित्र एकपक्षिय रुपमा निर्णय गरेर बहुमतको दम्भ देखाएको आरोप लागेका भिमप्रसाद ढुंगानाले धादिङ न्यूज संग प्रतिकृया दिंदै आंफुँमाथि लागेका आरोपहरु राजनैतिक पूर्वाग्रहबाट अभिप्रेरित भएको वताएका छन । मैले कुनै पनि निर्णय गैर कानूनी ढंगबाट एकलौटी रुपमा गराएको छैन,जनताको माग र नगरपालिकाको बजेट तथा नितिको परिधिभित्र भए गरेका निर्णयलाई गैर कानूनी भन्नु गलत भएको नगर प्रमुख ढुंगानाले वताए ।
नगरकार्यपालिकाका हरेक सदस्यले बैठकमा उपस्थित भएर लिखित, मौखिक असहमती जनाउन पाउने कानूनी अधिकार छ, बैठक भित्र विधि विधानमा रहेर यस्ता बिषयमा छलफल गर्न सकिने, असहमतीका बिषयमा बैठक भित्रै विधि सम्मत छलफल गर्न सकिनेमा पत्रकार सम्मेलन गर्नु हाँस्यास्पद कार्य भएको नगर प्रमुख ढुंगानाको प्रतिकृया छ । आंफुले कुनै गल्ती नगरेको र राजनैतिक आस्थाका आधारमा नगरपालिकाको कुनै पनि निर्णय गैर कानूनी प्रमाणित गर्न सके सोही अनुसारको दण्ड सजायँ भोग्न आंफु तयार रहेको ढुंगानाले धादिङ न्यूजलाई वताएका छन ।