बैंकले भुकम्प पिडितलाई समयमा रकम नदिनु भ्रष्टाचार

1457 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ ३१ भाद्र । भुकम्प पिडितहरुलाई आलटाल गरी समयमा रकम नदिनु पनि भ्रष्टाचार भएको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका कार्यबहाक अध्यक्ष डाक्टर रामदयाल राकेशले बताउनुभएको छ ।
ट्रान्सपरेन्सी इन्टरनेशन नेपालले धादिङमा सञ्चालन गर्दै आएको भुकम्प पछिको पुनर्निर्माण र पुनःस्थापनामा सदाचार कार्यक्रम अन्तर्गत बैंक तथा वित्तिय संस्थाका प्रतिनिधिहरुसँगको अन्तरक्रिया कार्यक्रममा उहाले यस्तो बताउनुभएको हो । भुकम्प पिडितहरुले बैंकमा सहज रुपमा रकम पाउन नसकेको, टाढाबाट आएर पनि रित्तो हात फर्कनु परेको, भुकम्प पिडितलाई दोस्रो दर्जाको नागरिकको रुपमा व्यवहार गरिएको लगायतका धेरै गुनासा आएको भन्दै उहाले आम भुकम्प पिडितलाई सहज रुपमा रकम पाउने व्यवस्था मिलाउन बैंक तथा वित्तिय संस्थाका प्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा कोष तथा लेखा नियन्त्रक कार्यालय धादिङका प्रमुख यज्ञप्रसाद ढकालले जिल्लाका सबै बैंकमा त्यस्तो समस्या नरहेको भन्दै सबैलाई एउटै डालामा राखेर हेर्न नमिल्ने बताउनुभयो । उहाले कमजोरी बैंकमा मात्र होइन, सेवाग्राहीमा पनि रहेको बताउनुभयो । पहिला पहिला केही समस्या देखिएको भएपनि अहिले धेरै सिस्टममा आइसकेको भन्दै ढकालले यदी बैंकले अनावश्यक दुःख दिएको छ यदी कतै भने सप्रमाण पेश गरेमा आफु त्यस्ता बैंकलाई कारबाही गर्न तयार रहेको बताउनुभयो । यसैगरी कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङका सभापति सिताराम कोइरालाले केही बैंकले प्रभावितले पैसा निकाल्न लाग्दा ‘आजै किन लानुप¥यो, केही दिन राख्नुस न’ पनि भन्ने गरेको भन्दै सेवाग्राहीले आफ्नो पैसा जहिले आवश्यक प¥यो सोही दिन निकाल्न पाउनुपर्ने धारणा राख्नुभयो । यसैगरी उपभोक्ता हित संरक्षण मञ्च धादिङका अध्यक्ष बेदबहादुर खाँणले भुकम्प प्रभावितका पैसा बैंकमा पुगेपछि अड्किने समस्या रहेको बताउनुभयो ।
यसैविच कार्यक्रममा सहभागि राष्ट्रिय बाणिज्य बैंकका सहायक प्रबन्धक दिपक न्यौपानेले आफुहरुले भुकम्प पिडितका पैसा नरोकेको बताउँदै १÷२ दिनभित्रै रकम दिइसकेको बताउनुभयो । उहाले राष्ट्रिय बाणिज्य बैंकमा यसरी पैसा पेन्डिङमा नबसेको पनि स्पष्ट पार्नुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका सदस्य कृष्णप्रसाद अर्यालले पछिल्लो समयमा बैंकमा त्यति समस्या नरहेको बताउनुभयो । उहाले समन्वय समितिले बैंक तथा वित्तिय संस्थाका प्रतिनिधिहरुलाई राखेर छलफल गरी छिटो छरितो सेवाको लागि पटक पटक आग्रह गरेपछि पछिल्लो समय केही सुधार आएको भन्दै अझै केही गुनासाहरु भने आउने गरेको बताउनुभयो । साथै उहाले यस्ता अन्यौलता हटाउन सबै मिलेर समाधानका लागि लाग्नुपर्ने पनि बताउनुभयो । कार्यक्रममा राष्ट्रिय बाणिज्य बैंक, कृषि विकास बैंक, सानिमा बंैक, मुक्तिनाथ विकास बैंक, प्रभु बैंक, महालक्ष्मी विकास बैंक, सिभिल बैंक, एभरेष्ट बैंकका प्रमुख एवं प्रतिनिधिहरु, पत्रकारहरु तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।