मुल्यसुची राख्न निर्माण सामाग्री व्यवसायीहरु सहमत

1434 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ ३१ भाद्र । जिल्लामा निर्माण सामाग्रीको व्यवसाय गर्दै आएका व्यवसायीहरु पसलमा मुल्य सूचि राख्न सहमत भएका छन् । आइतवार (३१ गते) जिल्ला सदरमुकाम धादिङवेसीमा भएको व्यवसायीहरुसँगको छलफल कार्यक्रममा सहभागि जिल्लाका व्यवसायीहरु मुख्यसूचि राख्न सहमत भएका हुन ।
ट्रान्सपरेन्सी इन्टरनेशन नेपालले धादिङमा सञ्चालन गर्दै आएको भुकम्प पछिको पुनर्निर्माण र पुनःस्थापनामा सदाचार कार्यक्रम अन्तर्गत भएको व्यवसायीहरुसँगको अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले निर्माण सामाग्रीको मुल्य सुची नहुँदा सेवाग्राहीलाई समस्या परेको, निर्माण सामाग्रीको मुल्यमा एकरुपता नभएको, एउटै कम्पतिको सामाग्रीमा पनि फरक फरक मुल्य पाइएको, जतिमा भन्यो त्यति मुल्यमा नै सामाग्री खरिद गर्नुपरेको लगायतका विषयमा आवाज उठाएका थिए । सो क्रममा उपभोक्ता हित संरक्षण मञ्च धादिङका अध्यक्ष बेदबहादुर खाँडले बजारमा मुल्य सूची नहुँदा सेवाग्राहीहरुलाई मर्का परेको बताउनुभयो । उहाले फरक फरक पसलमा एउटै सामाग्रीको मुल्य फरक फरक परेकोमा व्यवसायीहरुको ध्यानाकर्षण समेत गराउनुभयो । सो क्रममा धादिङ निर्माण सामाग्री व्यवसायी संघका अध्यक्ष धु्रव बहादुर थापाले खुल्ला बजारमा मुल्यमा एकरुपता हुन नसक्ने भन्दै मुल्य सूचि भने राख्न सकिने बताउनुभयो । एउटै ब्राण्डको सिमेण्टको पनि एकै मुल्य नहुने भन्दै उहाले एकै दिनमा पनि विहान र बेलुकाको समयमा आएको सामाग्रीको मुल्य फरक पर्ने गरेको बताउनुभयो । यसैविच उहाले व्यवसायीहरुले मनोमानि रुपमा मुल्य बढाएको नभै कम्पनिको रेट अनुसार बजारको मुल्य निर्धारण हुने स्पष्ट पार्नुभयो । कार्यक्रममा सहभागि व्यवसायीहरुले बाहिरबाट हेर्दा व्यवसायीले मनोमानी मुल्य निर्धारण गरे जस्तो देखिएको भएपनि यसमा आफुहरुको कुनै हात नरहेको बताउनुभयो ।
यसैगरी कार्यक्रममा नीलकण्ठ नगरपालिका वडा नम्वर ३ का अध्यक्ष होमनाथ रिजालले व्यवसायमा देखिएको अनियमितता हटाउन नगरपालिका पनि सक्रिय रहेको यस्ता कार्यक्रमको प्रभावकारीता झैनै ठुलो हुने बताउनुभयो । उहाले सरोकारवालाहरुको आपसी सहकार्यमा बजार व्यवास्थापन कार्यमा वडा कार्यालय सक्रिय रहने बताउनुभयो । कार्यक्रममा धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष बोदनाथ दुवाडीले नियन्त्रित बजार नभएपछि मुल्यमा एकरुपता नहुन सक्ने भन्दै यस्ता कुराको व्यवस्थापनको लागि राज्य नै सक्रिय हुनुपर्ने बताउनुभयो । उहाले सेवाग्राहीलाई हानी नोक्सानी हुने गरी सेवा गरेमा आफुहरु व्यवसायी हुनै नसक्ने भन्दै उपभोक्ताको हितलाई पनि ध्यान दिन व्यवसायीलाई आग्रह गर्नुभयो । उहाले मुल्य सूची राख्ने क्रममा उद्योग वाणिज्य संंघ पनि सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष बोदनाथ दुवाडीको अध्यक्षतामा भएको कार्यक्रममा ट्रान्सपरेन्सी इन्टरनेशन नेपालका कार्यबहाक अध्यक्ष डा. रामदयाल राकेशको विशेष आतिथ्य रहेको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका सदस्य कृष्णप्रसाद अर्याल, प्रहरी नायव उपरिक्षक श्यामकुमार महतो, ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका बरिष्ठ कार्यक्रम अधिकृत विनोद भट्टराई जिल्लाका सरोकारवालाहरु तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।