यौन हिंसाको अपराध न्युनिकरणका लागि स्कुल स्कुलमा प्रहरी

2010 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

बेनिघाट रोराङ- देशमा बढ्दै गएको यौनजन्य हिंसाको घटनाहरुको न्युनिकरण गर्नकालागि स्कुल स्कुलमा प्रहरी भन्ने नाराका साथ जिल्ला प्रहरी कार्यालयले यौन हिंसाको अपराध न्युनिकरण अभियान संचालन गरेको छ । अभियानको  ८ औं दिन मंगलबार  बेनिघाट रोराङ गाउँपालिकाको चन्द्रोदय मा.विका २०० विद्यार्थीहरुलाई अभिभुखिकरण गरिएको छ । यौनजन्य हिंसा के हो – कसरी हुन्छ – को को बाट कस्ता स्थानहरुमा यौनजन्य हिंसा हुन सक्छ, यसबाट कसरी जोगिन सकिन्छ भन्ने विषयका साथै जिल्लामा यौनजन्य हिंसाका घटनाहरुको तथ्यांक र यौनजन्य हिंसाको अपराधका विरुद्ध कानुनी व्यवस्था का बारेमा विद्यार्थीहरुलाई जानकारी गराइएको थियो । जिल्ला प्रहरी कार्यालयको तथ्यांकको आधारमा जिल्लाको नीलकण्ठ नगरपालीका र बेनिघाट रोराङ गाउँपालिकामा यौनजन्य हिंसाका घटनाहरु बढि भएको पाइएको छ । कार्यक्रम चन्द्रोदय मा.वि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं ५ का वडा अध्यक्ष रोसन सिलवालको अध्यक्षता र बेनिघाट रोराङ गाउँपालिकाका उपप्रमुख देविप्रसाद सिलवालको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक श्याम कुमार महतो र अधिवक्ता राधिका सापकोटाले सहजीकरण गर्नुभएको थियो । कार्यक्रम इलाका प्रहरी कार्यालय गजुरी र सहयात्री समाज नेपालको आयोजनामा भएको थियो । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार मंगलबार सम्म ३९ वटा विद्यालयमा यो अभियान संचालन भैसकेको छ । असोज २५ गते सम्म जिल्लाका १५० विद्यालयमा अभियान अर्न्तगत विद्यार्थीहरुलाई सचेत बनाउने लक्ष्य रहेको समेत कार्यालयले जानाकारी दिएको छ ।