ढुंगाखानीका कारण चाम्वासको बस्तीमा धाँजा फाट्दा, ११ घर परिवार जोखिममा

1413 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, ४ असोज – धादिङको गजुरी गाँउपालिका वडा नं. २ चामवासको बाह्रबिसे गाउँमा जताततै जमिनमा धाँजा फाट्दा यहाँका ११ घर परिवार जोखिममा परेका छन् ।
गाउँका अधिकांश घर आंगनको जमिन चिरिनेक्रम बढ्दै गएपछि गाउँवासीले बस्तीनै असुरक्षित भएको भन्दै स्थानान्तरणका लागि स्थानीय तह सरकार संग आग्रह समेत गरेका छन् । बस्तीभन्दा केही तल रहेको पृथ्वीराजमार्गको खाली जग्गा र नीजि जग्गामा ४० वर्ष अघि देखि नारायण पाण्डे, रामप्रसाद पाण्डे र यदु पाण्डेले स्लेट ढुंगा खानी सञ्चालन गर्दै आएका छन् । स्लेट ढुंगा खानी भएको क्षेत्रमा डोजर लगाएर ढुंगा उत्खनन गरिएका कारण बस्तीमा समस्या आएको स्थानीयले वताए ।
स्थानीयको दवाव र जिल्ला प्रशासन कार्यालय धादिङको निर्देशनमा छ महिनादेखि ढुंगा निकाल्ने काम रोकिएको भएपनि एक साता यता देखि बस्तीमा जताततै धाँजा फाट्न थालेको गाउँवासी बताउँछन । चामवास बाह्रबिसे गाँउमा १२ घर परिवार बस्दै आएकाछन् । विपन्न तामाङ समुदायको वसोवास रहेको यस गाउँमा भुकम्प पश्चात अहिले सम्म २ वटा पक्की घर निमार्ण भएकाछन् भने अरुले भुकम्प प्रतिरोधी घर बनाउन आवास अनुदान लिएर घरको डिपिसी शुरु गरेकाछन् ।
गाँउवस्तीलाईनै जोखिममा पार्ने गरी ४ इन्च चौडा र २ फिट गहिराईसम्म जमिनमा धाँजा फाटेको स्थानीय मिना तामाङले वताईन । पानी पर्न थाले पछि आंफुहरु राती घरमा बस्न छाडेको गाउँलेहरु बताउँछन । पानी परेपछि बस्ति भन्दा १ किलोमिटर टाढा सुत्न जाने गरेको राजकुमार तामाङले वताए ।
बस्तीनै जोखिममा पर्ने अवस्था आएको भन्दै सहयोगका लागि गजुरी गाउँपालिका पुगेको स्थानीयवासीलाई गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले यस बिषयमा माथिल्लो तहका निकाय संग तत्काल समन्वय गरी निकास खोज्ने र ढुंगाखानीका कारण समस्या आएको बिषयमा पनि अनुसन्धान गरिने वताएका छन् । गाउँपालिका अध्यक्ष बस्नेतले बिहीबार गाउँको स्थलगत अवलोकन गर्दै गाउँबासीलाई सुरक्षित स्थानमा बसोवास गर्ने व्यवस्था मिलाउन तत्काल पहल गर्ने बताए ।
गाउँवासीले पनि आफुहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरि दिन माग गरेकाछन् । अहिले जमिन चिरिएको भागमा पहिरो गएमा बस्ती विस्थापित मात्र नभई राजधानी काठमाण्डौसंग जोड्ने मुख्य राजमार्ग पृथ्वीराज मार्ग समेत अवरुद्ध हुने अवस्था रहेको छ ।