सल्लाघारीमा माटोको ढिस्कोले पुरिंदा ३ जना घाइते,एकको अवस्था गम्भिर

1452 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ-घरपोत्ने रातो माटो खन्नेक्रममा ढिस्कोले पुरिंदा धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ९ को सल्लेघारी ३ जना महिला घाइते भएका छन् । घाईते मध्ये एकको अवस्था गम्भिर रहेको छ । गम्भिर घाईतेलाई हेलिकप्टरबाट काठमाण्डौं लगिएको छ ।
आईतबार विहान करिब ९ बजे दशैंका लागि घरपोत्ने रातो माटो लिन गएका नीलकण्ठ नगरपालिका वडा नम्बर ९ काफलपानीका २५ बर्षिया बालकुमारी गुरुङ, २२ वर्षिया कुलमाया गुरुङ र २५ वर्षिया नीरमाया गुरुङ ढिस्कोमा पुरिएर घाईते भएका थिए । घाइतेहरुमध्ये बालकुमारी गुरुङको अवस्था गम्भीर रहेकोले उनलाई उपचारको लागि हेलिकप्टरबाट काठमाडौं लगिएको छ । वालकुमारीको अहिले त्रिभुवन विश्वविद्यालय तथा शिक्षण अस्पताल महाराजगंज काठमाडौंमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । अर्को घाईते निरमायालाई पनि एम्बुलेन्स मार्फत काठमाण्डौं पठाईएको । कुलमायाको भने जिल्ला अस्पताल धादिङबेसीमा उपचार भईरहेको छ ।
माटो खन्दै गर्दा ढिस्को भत्किएर मानिसलाई च्यापेपछि स्थानीयले तत्काल उद्धार गरी घाईतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल धादिङबेसी ल्याएका थिए । दशैं नजिकिदै गरेका कारण दशैमा रातोमाटोले घर पोत्न र घर रंगाउन माटो लिन गएका थिए । यस अघिका वर्षहरुमा पनि सोहि स्थानमा माटो खन्ने क्रममा मानिसहरु माटोको ढिस्कोले पुरेर घाइते हुने गरेको भएपनि माटो खन्नेहरुले सुरुङ वनाएर भित्र पस्ने गरेका कारण ढिस्को भत्किएको हो ।