ब्रुसबाङका चेपाङलाई सुकुमाया फाउण्डेशनद्वारा खाद्य सामाग्री तथा लत्ता कपडा सहयोग

5480 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

ब्रुसबाङ-गरिवीका कारण दशैं मान्न नसक्ने अवस्थामा रहेका अति विपन्न चेपाङहरुलाई खाद्यान्न तथा लत्ता कपडा सहयोग भएको छ ।
धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २ ब्रुसबाङका चेपाङ समुदायका लागी खाद्यान्न तथा १२ वर्ष मुनिका बालबालिकाहरुको लागी लत्ता कपडा बितरण गरिएको हो ।
बेनिघाट रोराङ गाउँपालिका र शान्ती नेपालको समन्वयमा सुकुमाया फाउन्डेशनले ब्रुसबाङका ३५ घरधुरी चेपाङ समुदायलाइ खाद्यान्न बितरण गरिएको हो । सुकुमाया फाउन्डेशनका अध्यक्ष सुकुमाया मोक्तानको अध्यक्षतामा भएको खाद्दयान्न बितरण तथा लत्ता कपडा सहयोग कार्यक्रममा बेनिघाट रोराङ गाउपालिका वडा नम्बर दुइ का अध्यक्ष टङ्क बहादुुर थापाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा सुकुमाया फाउन्डेशनका सचिव पुष्पा खडका,काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नम्बर ८ का वडासदस्य एबम गायक बिजय थोकरको आतिथ्य रहेको थियो । आर्थिक अभावका कारण दशै जस्तो महान चाड मनाउन नसक्ने अवस्थामा रहेका चेपाङ समुदायलाई थोरै भएपनि सहयोग पुगोस भनेर खाद्यान्न तथा लत्ताकपडा वितरण गरिएको सुकुमाया फाउन्डेशनका अध्यक्ष सुकुमायाले वताउनु भयो ।
दक्षिणी धादिङको अति विकटमा रहेको ब्रुसबाङ  गाउँको सिमानामा रहेको चितवनको राप्ती नगरपालिकाको भाँजा  सम्म मोटर बाटो पुगेको छ । सुकुमाया फाउण्डेशनको टोली विहीवार भाँजा पुगेर ब्रुसवाङका चेपाङलाई सहयोग गरेको हो ।


गाउँमा उत्पादित डोको,मान्द्रो,नाम्लो, कुचो लगायतका सामाग्री बेच्नका लागि भारी वोकेर वजार जानु पर्ने वाध्यता हटेपछि धादिङ र चितवन जिल्लाको विटकमा रहेका चेपाङहरुलाई राहत भएको हो ।जिल्लाकै अति बिकटको बस्ति भनेर चिनिएको ब्रुसबाङ भीरमा रहेकोले खोरियामा निकै संघर्ष गरी छरेको मकैले ६ महिना पनि राम्रोसँग खान पुग्दैन । समय परेको वर्ष उत्पादन पनि ठिकै हुन्छ, नत्र खडेरीले बोट सुकेपछि उत्पादनै हुँदैन । उत्पादित अन्नले खान नपुग्ने भएपछि स्थानीय चेपाङ समुदाय जंगली कन्दमूल र सिस्नो तथा टाँकीको सहारा लिन बाध्य छन् ।