बेनिघाटरोराङमा तीन वटा बिद्यालय र दुई वटा खानेपानी आयोजना हस्तान्तरण

1739 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

केशव अधिकारी

बेनिघाटरोराङ – धादिङको बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर १ मा निर्माण गरिएको तीन वटा विद्यालय भवन र खानेपानी आयोजना हस्तान्तरण गरिएको छ ।

प्रयत्नशिल सामुदायिक समाज नेपाल (प्रयास नेपाल)को साझेदारीमा युनाइटेड मिसन टु नेपाल(युएमएन) र उड इन डाडको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको जरुङ र सिमटारमा रहेको जरुङ सिमटार र सिमटार आधारभूत बिद्यालय र सिहदेवी आधारभूत बिद्यालय विहिवार एक भव्य कार्यक्रमका बिच हस्तान्तरण गरिएको हो ।

वेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १ का अध्यक्ष नन्दप्रसाद तामाङको अध्यक्षतामा भएको बिद्यालय हस्तान्तरण कार्यक्रम वेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तवहादुर डल्लाकोटीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष देविप्रसाद सिलवाल, युयमएन धादिङ विपद व्यवस्थापन कार्यक्रमका टिम लिडर शिव अधिकारी, प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल, वेनिघाट रोराङ वडा नम्बर २ का वडाअध्यक्ष टंकवहादुर थापा, वडा नम्बर १० का वडाअध्यक्ष अमर घले, छिमेकी बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रममा ४६ लाख लागतमा निर्माण सम्पन्न गरिएको सिमटार आधारभूत बिद्यालय, ४४ लाख लागतमा निर्माण सम्पन्न भएको जरुङ सिमटार आधारभूत बिद्यालय र २४ लाखको लागतमा निर्माण सम्पन्न भएको सिंहदेवी आधारभूत बिद्यालय हस्तान्तरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि डल्लाकोटी, उपाध्यक्ष सिलवालले संयुक्त रुपमा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई बिद्यालय हस्तान्तरण प्रमाण पत्र उपलव्ध गराएका थिए ।

बिद्यालय हस्तान्त्रण कार्यक्रमकै अवसर पारेर ३१ लाख लागतमा निर्माण सम्पन्न भएको तिरतिरे धारा जरुङ खानेपानी आयोजना, १७ लाख लागतमा निर्माण सम्पन्न भएको बाँसखर्क वालुवाभन्ज्याङ खानेपानी आयोजना पनि समुदायलाई हस्तान्तरण गरिएको थियो ।
बिद्यालयमा निर्माण गरिएको बाल मैत्रीपूर्ण कक्षाकोठा, बाल तथा अपांग मैत्री शौचालय र बाल मैत्री खानेपानी धारा निर्माणबाट बिद्यालयमा ठुलो सहयोग पुगेको बिद्यालयले जनाएको छ ।
भूकम्पपछि नयाँ पक्की भवन पाएकाले यहाँका विद्यार्थी, शिक्षक र अभिभावक र जनप्रतिनिधिहरुमा समेत खुशियाली छाएको छ ।