सिंचाईको पर्खाइमा जरुङ सिमटार

932 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

केशव अधिकारी
धादिङ,१६ कात्तिक –  एक बर्ष अघि सम्म जरुङ सिमटारका वालवालिका बिद्यालय खुलेको बेलामा कक्षा कोठामा होइन गाउँ नजिकैको खोलाबाट खानेपानी ओसारिरहेको अवस्थामा भेटिन्थे ।
गाउँमा खानेपानीको दुःख भएकाले अभिभावकले वालवालिकालाई पढ्न पठाउनु भन्दा पानीको जोहो गर्न खोलामा पठाउँथे, अहिले गाउँमा खानेपानीको धारा आएपछि वालवालिका दिउँसोको समयमा पढ्न जान थालेका छन । धादिङको वेनिघाट रोराङ गाउँपालिका दक्षिणी धादिङमै सबैभन्दा विकटको मानिन्छ, त्यहि विकटमा जरुङ र सिमटार गाउँ झनै महादुर्गम गाउँका रूपमा परिचित छ । विकटताका कारण यी दुई गाउँका बासिन्दा अझै पनि विकासको पहुँचबाट टाढा रहेका छन ।

गाउँमा खानेपानीको व्यवस्था भएपनि तथा सिँचाइको भने अभाव छ । खेतीयोग्य टार सिंचाईको अभावले बाँझै रहेको छ । तामाङ समुदायको मात्र बसोबास रहेको यस गाउँमा भर्खरै कच्चि सडकको सन्जाल जोडिएको छ, गाउँ नजिकैबाट बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र मार्फत निर्माण गरिएको लघु जलबिद्युत्त आयाजनाबाट बिजुली निकालिएको छ, सांझ विहान भनेपनि गाउँवासीले विजुली वाल्न पाएका छन । भर्खरै सडक सन्जाल जोडिएपनि मोटर चल्न शु्रु भईसकेको छैन, पृथ्वीराजमार्गको गजुरीबाट दिनभर उकालो बाटो हिँडेपछि सिमटार गाउँमा पुग्न पुगिन्छ । विकटमा रहेका कारण राजमार्गको नजिकै रहेको यो बस्ती अझै पनि दुर्गम हुन पुगेको स्थानीयवासी बताउँछन ।
विगतमा विकास र अवसरमा गाउँवासीको पहुँच पुग्न नसकेकै कारण गत स्थानीय चुनावमा गाउँवासीले गाउँवाटै वडाअध्यक्ष चुनेर पठाएपछि विस्तारै विकासले पाईला हालेको स्थानीय सिंहबहादुर तामाङले वताए ।

‘अरुले सिमटार भन्छन, यहाँ सिँचाइका लागि पानी नहुँदा जग्गा सुख्खा छ,’ गाउँ नजिकै खोला भएपनि त्यहाँबाट पानी ल्याउन निकै खर्च लाग्ने भएकाले विगतमा सहयोगका लागि गाविसदेखि जिविससम्म धाउँदा पनि कसैले नसुनिदिएको वेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष नन्दप्रसाद तामाङको गुनासो छ । विगतमा जरुङ सिमटारले जुन हविगत भोग्नु परेको थियो त्यस्लाई निराकरण गर्न अहिले पहिल भईरहेको र सिंचाइको लागि सम्भाव्यता अध्ययन गरिरहेको पनि वडाअध्यक्ष तामाङले वताए ।
मिलेको टारबारी भएकाले सिमटारमा सिँचाइ हुने हो भने धानखेती, व्यवसायिक तरकारी, फुलखेती लगायतबाट राम्रो फाइदा लिन सकिने भएकाले गाउँपालिकाले यहाँ सिँचाइका लागि निति कार्यक्रम वनाएर वजेट विनियोजन गरेरै काम अघि बढाउने वेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तवहादुर डल्लाकोटीले प्रतिवद्धता जनाएका छन ।
सिँचाइ नहुँदा खेतीयोग्य जमिन त्यतिकै खेर गइरहेको छ भने गाउँमा वेरोजगारी र आर्थिक अभाव पनि बढिरहेको जरुङ सिमटार प्राविका शिक्षक अजय तामाङ बताउँछन् । जरुङमा ७० र सिमटारमा एक सय ४० परिवारको बसोबास छ । आर्थिक रूपले विपन्न भएकाले यहाँका युवा विदेश जानसमेत सकेका छैनन् अहिलेसम्म यहाँबाट जम्मा दुईजना युवामात्र मलेसिया पुगेका छन् सिँचाइको व्यवस्था हुने हो भने गाउँमा हिरा फल्ने वडाअध्यक्ष तामाङको भनाई छ ।
दुर्गमको बस्ती भएपनि २०२१ सालमै गाउँमा विद्यालय भने स्थापना भएको र सो विद्यालय अहिले पनि प्राविवाट माथि जान नसकेको शिक्षक अजयले वताए । स्वास्थ्य सेवाका लागि सामुदायिक प्रयासमा जरुङ सामुदायिक क्लिनिक स्थापना भए पछि गाउँवासीले प्राथमिक उपचार सेवा भने पाईरहेका छन् । दुर्गम बस्ती भएकाले स्वास्थ्यकर्मी गाउँमा जानै नमान्ने समस्या रहेको छ ।