धादिङको त्रिशूली नदी र रानी झरना नेपाल सरकारकाे १०० नयाँ पर्यटन गन्तव्यमा

1543 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ -सरकारले  पर्यटन क्षेत्र विकासको लागि धादिङ जिल्लामा पर्ने त्रिशूली नदी र थांक्रे गाउँपालिकाको रानीझरना सहित देशभरबाट एक सय नयाँ पर्यटकीय गन्तब्यहरुको छनोट गरेको छ । संस्कृती, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट उक्त स्थानहरुको छनोट गरिएको हो।

मन्त्रालयले सोही संख्याको हाराहारीमा प्रचार प्रसार र प्रवर्द्धन गरिनुपर्ने पर्यटकीय क्षेत्रहरुको सूची पनि र्सावजनिक गरेको छ ।

पर्यटनलाई राष्ट्रिय अर्थतन्त्रको प्रमुख आधारको रुपमा विकास गर्ने बजेट वक्तब्यको मर्मलाई टेकेर संस्कृती, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले उक्त क्षेत्रहरुको छनोट गरेको हो । पर्यटन मन्त्रालयका अनुसार पर्यटन क्षेत्र विकासको लागि सरकारले छुटयाएको कूल ५ अर्ब २० करोड ३४ लाख अन्तर्गतको ५० करोड बजेट यी कार्यक्रममा खर्च गरिने छ ।

मन्त्रालयका प्रवक्ता एवं सह-सचिव घनश्याम उपाध्यायका अनुसार प्रत्येक नयाँ गन्तब्यले यो आर्थिक वर्षमा ५० लाख बजेट पाउनेछन् ।

पर्यटकीय केन्द्रको रुपमा छनोट भएका नयाँ क्षेत्रको पूर्वाधार विकास गरि प्राप्त लाभ सोही स्थानका जनतामा वितरण गर्नेगरी गन्तब्यहरुको विकास तथा प्रचार प्रसार गरिने मन्त्रालयले जनाएको छ ।

देशैभरका प्रदेश तथा स्थानीयतहहरुले सिफारिस गरेका करिब ६ सय विभिन्न स्थानहरु मध्ये मन्त्रालयले तोकेको मापदण्डमा परेका ती गन्तब्यहरु पूर्वाधार विकासको सूचीमा छनोट भएको सह-सचिव उपाध्यायले बताए ।

नदी,ठूला तालतलैया, दृश्यावलोकनका लागि उच्च पहाड तथा उपत्यका, साहसिक खेल सम्भाव्य क्षेत्र एवं पुरातात्विक सम्पदा छनोटको प्राथमिकतामा परेका छन् । प्रशस्त पर्यटकीय सम्भावना बोकेर पनि प्रचार प्रसार अभावमा ओझेल परेका क्षेत्रहरु पनि नयाँ गन्तब्यको रुपमा अटाएका छन् ।

त्रिशूली नदी

नेपालमा जलयात्राको प्रारम्भ सन १९६० मा त्रिशूली नदीको महेश दोभानबाट भएको इतिहास छ । त्यतिबेला गोराहरूले नेपाल आएर पोखरा, लुम्विनि घुम्न जानेक्रममा क्रममा पहिलो व्यवसायिक जलयात्रा त्रिशूली नदीमा गरेको जलपर्यटन व्यवसायी मेघ आले वताउँछन । शुरुमा विदेशीहरुले मात्रै जलयात्रा गर्ने गरेकोमा सन् १९७० मा नेपालीहरूले व्यावसायिक जलयात्रा प्रारम्भ गरेको पनि आलेले वताए । हिमालयन रिभर एक्स्पो र लामा एक्स्पोले नेपालमा व्यवसायिक जलयात्रा सुरु गरेको नेपाल ¥याफ्टिङ एसोसिएसनका सल्लाहकार सुदीप गौतमले जानकारी दिए ।
जलयात्राको इतिहास बोकेको त्रिशूली नदीको अवस्था १२ वर्षयता प्रदुषणको चपेटामा पर्दै जाँदा सबैभन्दा बढी चिन्तित जलयात्रा व्यवसायी बनेका छन् । स्थानीय पर्यावरणमा असर पर्ने उद्योग बालुवा प्रशोधन गरेको पानी सिधै नदीमा मिसाईदिंदा त्रिशूली नदीको अस्तित्व संकटमा पर्दै गएको छ ।
१० वर्षअघिसम्म जलयात्रामा रिभर गाइडमात्र नेपाली हुने गरेकोमा पछिल्लो समय नेपाली युवाहरूको आकर्षण जलयात्रामा बढेको छ । नेपालमा त्रिशूली नदीलाई जलयात्रामा सुरक्षित मानिन्छ । काठमाडौँ बाट नजिक र त्रिशूलीमा जलयात्रा गरेर पोखरा, बन्दीपुर, सौराहा, लुम्बिनी एकै दिनमा पुग्न सक्ने भएका कारण पनि त्रिशूली नदी जलयात्राको रोजाइमा परेको हो ।
काठमाडौंबाट ५० किलोमिटरमा पर्ने त्रिशूली नदीमा सरकारी गैरसरकारी र कूटनीतिक नियोगमा काम गर्नेहरूका लागि होस वा व्यवसायमा संलग्न हुन वा विद्यार्थी, त्रिशूली नदीमा जलयात्रासँगै पिकनिकमा जम्न चाहन्छन । त्यसका लागि व्यवसायीहरूले एक दिने प्याकेजसमेत बनाउने गरेका छन । यातायातको सुविधासहित बिहान काठमाडौंबाटै त्रिशूली नदीमा ल्याएर खाजा, खाना र जलयात्रा गराएर काठमाडौँ पुर्याउने प्याकेज बनाएका कारण पनि सबैलाई जलयात्राले तानेको छ । जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी क्षेत्रमा काम गर्ने कर्मचारीसहित व्यवसायी, विद्यार्थी पनि मौसमअनुसार जलयात्रामा सहभागी हुने गरेका छन् ।
जलयात्रा र रिभर गाइडमा निपूर्णहरूका लागि १६ वर्षदेखि हिमालयन ह्वाईट वाटर च्यालेन्ज अफ रिभर फेष्टिवल समेत हुँदै आएको छ । प्रतियोगिताको आयोजना नेपाल ¥याफ्टिङ एसोसिएसनले गर्दै आएको छ । प्रतियोगितामा साहसिक जलयात्रीहरूले प्रतिस्पर्धा गर्ने जलपर्यटन व्यवसायी बिष्णुहरि सिलवाल वताउँछन ।

रानी झरना

 काठमाडौंदेखि ४० किलोमिटर दूरीमा रहेको धादिङको थाक्रे–६ को रानी झरनामा गत जेठमा साहसिक पर्यटकीय खेल  क्यानोनिङ महोत्सवको आयोजना गरिएको थियो । नेपाल क्यानोनिङ संघले आयोजना गरेको दुई दिवसीय महोत्सवमा स्वदेशी तथा विदेश गरी २ सय ५० भन्दा बढी सहभागी भएका थिए । पछिल्लो समय सहासिक पर्यटनमा क्यानोनिङ युवा पुस्तामा लोकप्रिय बन्दै गएको छ ।