धादिङको चाम्बासमा फस्टाउँदै केरा व्यापार

1056 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

गजुरी गाउँपालिकामा पर्ने पृथ्वीराजमार्गको चाम्बास, छहरा र चालिसेमा केराको व्यापार बर्षौ देखि केरा व्यापार हुंदै आईरहेको छ । २०२६ सालमा पृथ्वीराजमार्ग सञ्चालनमा आएपछि यहाँ शुरुमा सडक छेउमा दही बिक्री गर्न थालिएकोमा पछि केरा र मौसमी अन्य फलफुलको व्यापार फस्टाउँदै गएको हो । पछिल्ला दिनमा यहाँ व्यवसायिक केरा व्यापार गर्नेहरुको संख्या बढ्दै गएको छ ।पृथ्वी राजमार्ग भएर यात्रा गर्ने निजी तथा साना सवारी साधनहरु यो ठाउँमा आएपछि रोकिने गर्दछन्। पृथ्वी राजमार्गको सडकको किनारमा  झुण्ड्याइएको केराका घरीले ओहोरदोहोर गर्ने यात्रुलाइ आकर्षित गर्ने गर्दछ । सडक छेउमा राखिएका पहेंला केराको घरीले यात्रुको मन समेत लोभ्याउने गरेको छ । विक्रिका लागि राखिएका  केराका घरी खरिद गर्न यात्रु तँछाडमछाड गर्दै पुग्छन् ।

केरा खेतीबाट मनग्य आम्दानी हुने भएपछि गजुरी, सिद्धलेक र वेनिघाटरोराङ गाउँपालिकाका बस्ती यतिबेला केरा खेतीले भरिएका छन् । गजुरीको रातमाटे, कटुवाखोला, भूमेडाँडा, डाँडागाउँ लगायतका दुई सय किसान परिवार केरा खेतीमै आश्रित छन् । यहाँ २ सय रोपनी बढि क्षेत्रफलमा व्यवसायिक केरा खेती गरिएको छ ।

आफ्नै जन्मथलोमा परिवारसँग बसेर काम गर्न पाउनु नै जीवनको सबैभन्दा ठूलो खुसी मान्छन् यहाँका किसान । दैनिक ३ देखि ५ हजारसम्म आम्दानी गरेका किसान बर्षभरिमा ६० लाखसम्म कमाउने गर्छन् । अहिले प्रतिदर्जन केराको ६० देखि एक सय २० रुपैयाँका दरले बिक्री हुने गरेको ।

धादिङ गजुरीका किसान केरा खेतीबाट मनग्ये आम्दानी समेत गर्छन् । दुई सय किसान केरा खेतीबाट जिविकोपार्जन गर्दै आएका छन् । परम्परागत अन्नबालीभन्दा केराखेतीमा फाइदा देखेका गजुरी आसपासका किसानलेजग्गालाई राम्रैसँग उपयोग गरेका छन् ।

यहाँ एक घरी काँचो केरा चार देखि पाँच सय रुपैयाँका दरले पाइन्छ । यसरी किन्दा दर्जनको २० देखि ३० रुपैयाँ पर्न जान्छ । राजमार्गको छेउमा अहिले २५ जनाभन्दा बढीले केराको व्यापार गर्छन् । अन्य बालीको तुलनामा निकै फाइदा हुने भएकाले लामो समयदेखि केरा व्यवसायमा लागेको किसानको भनाई छ ।

पछिल्लो समय भारतीय केरा आयातसँगै किसानलाई निराश पारेको छ । स्वदेशी उत्पादनलाई बजार प्रवद्र्धन गर्नुपर्ने भएपनि सरकारले त्यसप्रति चासो नदिएको किसानको गुनासो छ ।