बेनीघाट रोराङ गाउँपालिकामा मजदुर शहिद स्मृती पार्क निर्माण गरिने

1102 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

तीन नम्बर प्रदेश सरकारले २ वटा महत्वपूर्ण शान्ति पार्क निर्माण गर्ने योजनाअनुसार धादिङको बेनीघाट रोराङ गाउँपालिकामा मजदुर शहिद स्मृती पार्क र मकवानपुरको मकवानपुरगढि गाउँपालिकामा रुद्र स्मृति पार्कको निर्माण प्रक्रिया अगाडि बढाउने भएको छ ।

शुक्रबार आन्तरिक मामिला तथा योजना मन्त्रालयको आयोजनामा भएको छलफलमा सम्भाव्यता अध्ययन गरेर चालु आर्थिक वर्षबाट नै निर्माण अगाडि बढाईने जानकारी गराईएको थियो । अहिले पार्क निर्माण क्षेत्रमा गाउँपालिकाहरुको सिमित रकमबाट कार्य समेत भईरहेको छ । २ वटा पार्क निर्माणका लागि १÷१ करोड बजेट समेत विनियोजन भईसकेको  छ ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले पार्क निर्माण गर्दा रोजगारी, आर्थिक गतिविधि, क्षेत्रगत विकास पनि प्रभाव पार्नुपर्ने उहाँको भनाई थियो । यस्ता बृहत योजना सञ्चालन गर्दा क्रमागत योजना बनाउनुपर्ने बताउनुभयो । पार्कहरु बनाउँदा आन्तरिक तथा बाह्य पर्यटकहरु आकर्षण गर्ने वातावरण सिर्जना गनुपर्ने उहाँको धारणा रहेको छ । ‘पार्क निर्माण गर्न जति सजिलो छ त्यसलाई व्यवस्थापन तथा संरक्षण गर्न धेरै अप्ठ्यारो पनि रहेको छ ।’ त्यस्तै कार्यक्रमा बोल्दै आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले विगतको महत्पूर्ण व्यक्तिहरुसंग गाँसिएको पार्क निर्माण गर्न प्रदेश सरकार अग्रसर भएको बताउनुभयो । यी पार्कहरुको निर्माणमा प्रदेश सरकारले प्रमुख भुमिका निर्वाह गर्ने पनि जानकारी दिनुभयो ।

धादिङमा निर्माण गरिने पार्कको अनुमानित लागत करिब १० करोड लागतमा चेपाङ संग्रालय, तालिम हल, भ्युप्वाईन्ट, पिकनिक स्पोट, गेस्ट हाउस, वाकिङ स्ट्रिटलगायतका संरचना निर्माण गर्ने योजना रहेको छ । त्यसैगरी मकवानपुरमा निर्माण हुने पार्कको करिब साढे ६ करोड लागत रहेको छ । पार्कहरुमा पिकनिक स्पोट, बाल उद्यान, गोल घर, मन्दिर, व्यवसायिक सटर, स्विमिङ पुल, मैत्री बगैचा, भ्युप्वाईन्ट लगायतका संरचना निर्माण हुने गाउँपालिकाले जानकारी दिएको छ ।

कार्यक्रममा ३ नम्बर प्रदेशका प्रमुख सचिब आनन्दराज ढकाल, प्रदेश सांसद कुमारी मोक्तान, मकवानपुर गढि गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईं, बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष हरि डल्लाकोटी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिब रमेश शिवाकोटी, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिब राजकुमार श्रेष्ठ, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतहरु भीम परियार, हर्षबहादुर थापालगायत सहभागि थिए । कार्यक्रममा गाउँपालिकाका ईन्जिनियरहरुले पार्कको बारेमा प्रस्तुतीकरण समेत दिएका थिए ।

को हुन शहिद मजदुर ?

मजदुरीका लागि देशका विभिन्न जिल्लाबाट कालिकोट जिल्लाकोे कोटवाडा गाविसको सुन्थराली विमानस्थल निर्माणमा संलग्न रहेको बेला सेनाले घेराबन्दी गरेर चलाएको गोलीबाट ३५ जना मजदुर मारिएको १३ वर्ष लागेको छ । घटना भएको १३ वर्ष भईसक्दा पनि कोटवाडामा मारिएकाहरुको लाश अहिलेसम्म परिवारले पाएका छैनन् ।
विमानस्थल निर्माणका लागि धादिङ जिल्लाको जोगिमारा, धुषा गाविसबाट कोटवाडा पुगेका १७ जना र देशका अन्य जिल्लाका गरी ३५ जना मजदुरलाई माओवादी हुनसक्ने आशंकामा २०५८ फागुन १२ गते सुरक्षाफौजले गोली हानी सामुहिक हत्या गरेको थियो । हत्या भएकामध्ये धादिङका १७ जनामा १६ जना अति विपन्न चेपाङ र एक दलित परिवारका सदस्य रहेका छन् ।
कोटवाडा घटनामा निर्दोष मजदुरहरु मारिएको भन्दै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय क्षेत्रवाट व्यापक विरोध हुंदै आइरहेको छ । कोटवाडा घटनाको सर्वत्र विरोध भएपछि लोकतन्त्रबहालीपछिको सरकारले त्यहाँ मारिएका मजदुरका परिवारलाई प्रतिव्यक्ति ३ लाखका दरले राहत दिने निर्णय गरेको थियो ।
कालिकोटको कोटवाडामा बनिरहेको सुनथराली विमानस्थल निर्माणका लागि धादिङ, रामेछाप, सिन्धुली, गोरखा, सिन्धुपाल्चोक र काभ्रेलगायतका जिल्लाबाट त्यहाँ मजदुर लगिएको थियो । गरिबीको चपेटामा परेर जीवन निर्वाहका लागि काम खोज्दै कालिकोट पुगेका ती मजदुर माओवादी र सेनाको द्वन्द्वको चपेटामा परेर मारिएका थिए । कोटवाडा घटना हुनु केही दिनअघि मात्रै माओवादीले अछाम सदरमुकाम मंगलसेन आक्रमण गरेर भागेका थिए ।
सेनाले घेराबन्दी गरेर चलएको गोलीबाट ३५ जना मानिस एकै चिहान भएका थिए। त्यसमा धादिङ जोगिमाराका एकै गाउँका १७ जना, नेपालकै अन्य भागबाट त्यहाँ गएका कामदार, ठेकेदार, स्थानीय बासिन्दा र दुईजना बालकसमेत ३५ जना जनाको ज्यान गएको थियो । कमाउन गएका घर मूली तथा परिवारका सदस्यहरु मारिएपछि जोगिमाराका विपन्न चेपाङ र दलित परिवारको अहिले बिचल्ली भएको छ ।
२०५८ मङ्सिरमा कालीकोटको कोटवाडा विमानस्थल खन्न काम पाइने खबर फैलिएपछि धादिङको जोगीमाराका १७ जना कामको खोजी गर्दे ऋण काढेर कालीकोट गएका थिए । १२ बर्ष वित्यो उनीहरु अहिलेसम्म घर फर्किएका छैनन् । उनीहरूले आफन्तलाई कसैले मारेको देखेका छैनन । उनीहरूले लाश पनि पाएका छैनन् । ती १७ भाईका परिवार अहिलेसम्म दोमनमा पिल्सिएका छन् ।