सडक दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा २५४१ वटा मैनबत्ती बालियो

1042 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ न्यूज समाचारदाता

कोल्पुटार ,नुवाकोट- सडक दुर्घटनामा ज्यान गुमाएका व्यक्तिहरुको सम्झनामा सुरक्षित र दिगो यात्रा नेपालद्वारा नुवाकोटको कोल्पुटारमा ” विश्व सम्झना दिवस ” कार्यक्रम सम्पन्न गरिएको छ । यो कार्यक्रम विश्वभर हरेक बर्षको नोभेम्बर महिनाको तेस्रो आइतबार मनाइने गरिन्छ ।

 महादेव मावि कोल्पुटारको प्राङ्गणबाट सडक सुरक्षासम्बन्धी प्लेकार्ड सहित विद्यार्थी एवं शिक्षकहरुको सहभागीतामा निस्किएको र्याली कोल्पुटार चोकसम्म पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो । स्थानीय जनप्रतिनिधि , बिद्यालयका अध्यक्ष , प्रधानाध्यापक लगायत शिक्षकहरु , प्रहरी प्रतिनिधि , स्वास्थ्य चौकी इन्चार्ज लगायत स्थानीय समाजसेवी एवं बुद्धिजीवी हरुको आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा विश्व सम्झना दिवसको उद्धेश्य,एवं औचित्यको साथै सडक दुर्घटनाका कारण र न्यूनीकरणका उपायहरुका बारेमा छलफल गरिएको थियो ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधी , विद्यालयका प्रधानाध्यापक एवं शिक्षक , स्वास्थ्य चौकी इन्चार्ज , स्थानीय समाजसेवीहरुले मन्तव्य मन्तव्य राखेका थिए । सडक दुर्घटना, त्यसका कारणहरु एवम् न्यूनिकरणमा विभिन्न निकाय तथा आम सर्वसाधरणको भूमिका एवम् कर्तव्यको बारेमा सबै पक्ष जानकार भई आगामी दिनमा सवारी दुर्घटना न्यूनिकरणमा सक्रिय भएर लाग्न कार्यक्रमका संयोजक प्रदिप नेपालले आग्रह गर्नु भएको थियो । सडक दुर्घटनाबाट वर्षेनी लाखौंको ज्यान गइरहेको र नेपालको सन्दर्भमा अझै डरलाग्दो स्थिति भएको र त्यसलाई न्यूनिकरण गर्न सम्पूर्ण तहबाट विविध खालका कार्यक्रमहरु गरिरहनुपर्नेमा संयोजक नेपालको जोड थियो।

औपचारिक कार्यक्रम समापनसङ्गै नेपालमा आ.ब. २०७४/७५ मा सडक दुर्घटनाबाट मृत्यु भएका जनाको आत्माको चिरशान्तिको कामना गर्दै मैनबत्ती प्रज्वलन गरिएको थियो ।अन्तरास्ट्रिय स्तरमा नोभेम्बर महिनाको तेस्रो आइतबार मनाइने यो कार्यक्रम सुरक्षित र दिगो यात्रा नेपालद्वारा देशैभर सात प्रदेशमा १० ठाँउमा आयोजना भएको संयोजक नेपालले धादिङ न्यूजलाई जानकारी दिनु भयो ।