सामाजिक सुरक्षा कार्यक्रम घोषणा हुँदै

969 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । सरकारले श्रमिकको हित हुने गरी महत्वाकांक्षी सामाजिक सुरक्षा कार्यक्रम आज घोषणा गर्दैछ । सरकारी सेवामा रहेका लागि मात्र नभए निजी क्षेत्रमा काम गर्ने श्रमिकलाई पनि पेन्सन वा उपदान पाउने गरी कार्यक्रम घोषणा गर्न लागिएको हो ।

राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रमको घोेषणा गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सामाजिक सुरक्षा कोषले जानकारी दिएको छ । साउन १ गतेदेखि लागू हुने गरी सामाजिक सुरक्षा कोषमा योगदान गरेको आधारमा श्रमिकले उपदान लिने कि पेन्सन लिने भनेर आफैँले छान्न सक्नेछन् ।

सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधिमा वृद्ध अवस्थामा (जागिरबाट अवकास पाएपछि) सुरक्षा योजनाका लागि रोजगारदाताले श्रमिकको न्यूनतम पारिश्रमिकबाट निश्चित प्रतिशत जम्मा गरिदिने र व्यक्ति स्वयंले पनि योगदान गरेको रकमबाट पेन्सन या उपदान लिन सक्ने व्यवस्था गरिएको छ ।

योगदानमा आधारित सामाजिक सुरक्षाअन्तर्गत रोजगारदाताले श्रमिकको न्यूनतम तलबबाट ११ प्रतिशत रकम कट्टा गर्नेछन् र श्रमिकको न्यूनतम तलबको २० प्रतिशत रोजगारदाताले थप गरी जम्मा ३१ प्रतिशत रकम कोषमा जम्मा हुनेछ ।

जम्मा भएको रकमबाट औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाका लागि १ प्रतिशत, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाका लागि १ दशमलव ४० प्रतिशत, आश्रित परिवार सुरक्षा योजनाका लागि शून्य दशमलव २७ प्रतिशत र बाँकी २८ दशमलव ३३ प्रतिशत वृद्ध अवस्था सुरक्षाका लागि विभाजन गर्ने सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले बताए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना, मातृत्व सुरक्षा योजना, दुर्घटना र अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना सञ्चालन गरिएको जनाएको छ । यो योजना लागू भएपछि योगदानमा आधारित पेन्सनसमेत सुरु हुनेछ ।

सौर्य अनलाइनबाट