मुरलीभन्ज्याङ स्वास्थ्य चौकी अब नयाँ भवनमा

1395 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

मुरलीभन्ज्याङ- वैशाख १२ गतेको भूकम्पले जीर्ण बनाएको मुरलीभन्ज्याङ स्वास्थ्य चौकीको नयाँ सुविधा सम्पन्न भवनको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याईएको छ । स्वास्थ्य सेवा विभागको रु २ करोड ३० लाखको लागतमा २०७२ असोजबाट १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी भवन निर्माण सुरु गरिएको थियो । नीलकण्ठ नगरपालिका–९ ज्यामिरेमा रहेको सो स्वास्थ्य चौकी निर्माणका लागि स्थानीय हरिबहादुर दुवाडीले एक रोपनी र दयानाथ शर्मा दुवाडीले एक रोपनी दुई आना जग्गा निःशुल्क उपलब्ध गराएका थिए ।

स्वास्थ्य चौकीका पूर्व इन्चार्ज कृष्ण पौडेलका अनुसार ९ वटा कोठा, तालिम हल र कम्पाउण्ड सुरक्षा सहितको सो भवन कन्काई युएएस जेभिका पदम श्रेष्ठले निर्माण गरेका हुन । २०७२ सालको भुकम्पबाट क्षती भएका स्वास्थ्य चौकीहरु मध्ये सबैभन्दा पहिले निर्माण सम्पन्न हुनेमा मुरलीभन्ज्याङ स्वास्थ्य चौकी रहेको छ । जिल्लाको सालवास,फुलखर्क,दार्खामा पनि स्वास्थ्य सेवा विभागको सहयोगमा नयाँ भवन निर्माण कार्य जारी रहेको छ ।

मुरलीभन्ज्याङको स्वास्थ्य चौकी मार्फत उक्त भेगका बासिन्दाले उपचार सेवा पाउने छन् । २०७२ सालको विानशकारी भूकम्पले जिल्लाका अधिकांश स्वास्थ्य चौकी ध्वस्त भएपछि हजारौ सर्वसाधारणले त्रिपालले बनेका अस्थायी स्वास्थ्य संरचना मार्फत स्वास्थ्य सेवा लिनु परेको थियो । जिल्लाका केही स्वास्थ्य चौकी अझ पनि भाडाको घर तथा टेण्टमा राखेर सञ्चालन गर्नु पर्ने वाध्यतामा छन् ।नयाँ भवनको मंसीर ८ गते एक कार्यक्रमका बीच नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुंगानाबाट उद्घाटन गरिएको थियो ।